घटना समाचार

आगो बालेर सुत्दा एकै घरका पाँचजनाको मृत्यु

बिज्ञापन

काठमाडौं । आगो बालेर सुत्दा एकै घरका पाँचजनाको मृत्यु भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । ललितपुर कोञ्ज्योसोमस्थित एकै परिवारका पाँचजनाको मृत्यु भएपछि प्रहरीले गरेको अनुसन्धानबाट घरभित्र आगो बाल्दा धुवाँ बाहिर निस्किन नसक्दा उनीहरुको मृत्यु भएको खुलेको छ ।

‘‘पाटन अस्पतालका फरेन्सिक विज्ञसहित ललितपुर प्रहरी टोली घटनास्थलमा परिचालित थियो । सोही टोलीले कार्बन पोइजनिङले गर्दा मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको हो । अब पोष्ट मार्टमको रिपोर्टमा थप कारण खुल्नेछ,” उनले भने ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले पनि ‘कार्बन पोइजनिङ’ कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए ।
गएराति ललितपुर कोञ्ज्योसोम गाउँपालिका–४, नल्लुमा नवजात शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको थियो ।

प्रहरीले घटनास्थलमा मृतकका परिवारले आगो बालेर सुतेको कोइला फेला पारेको थियो । गएराति आगो बालेर स्याङ्ताङ परिवार झ्याल ढोका बन्द गरेर सुतेको प्रवक्ता शाहले बताए ।

बिज्ञापन

मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङताङ, उनकी बुहारी २२ वर्षीया शुष्मा स्याङताङ, नाती ९ वर्षीय आशिष स्याङताङ र नातिनी ५ वर्षीय आस्मा स्याङताङ छन् । दुईदिनको नवजात शिशुको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो । २३ वर्षीय छोरा सुभाष स्याङताङ अस्पतालमा उपचाररत छन् ।

बिज्ञापन
बिज्ञापन