राजनीति

देउवाकै गृह जिल्लामा गठबन्धन नगर्ने कांग्रेसको निर्णय

बिज्ञापन

कैलाली । सत्ता गठबन्धन कसिलो बनाउन लागिरहेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकै गृह जिल्ला डडेल्धुरामा गठबन्धन नगर्ने निर्णय गरेको छ ।

शुक्रबार डडेल्धुराको जिल्ला कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभातर्फ उम्मेदवारको सिफारिस गर्दै जिल्लामा गठबन्धन नगर्ने निर्णय गरेको हो । डडेल्धुराबाट प्रतिनिधिसभातर्फ प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रदेशसभा तर्फ ख मा प्रदेशका सामाजिक विकास मन्त्री गोविन्द बोहरा र क मा कांग्रेस डडेल्धुरा सभापति भीम बहादुर साउदको सर्वसम्मत नाम सिफारिस गरिएको सचिव हेमराज चटौतले जानकारी दिए ।

‘केन्द्रले गठबन्धन गर्न गरेको निर्णय स्वागत गर्दै हामीले जिल्लामा गठबन्धन नगर्ने भन्दै प्रदेश र केन्द्रलाई जानकारी गराउने निर्णय गरेका छौँ’ उनले भने ‘यहाँ हामी एक्लै पनि जित्ने अवस्था छ ।’

स्थानीय तहको निर्वाचनमा पनि डडेल्धुरामा गठबन्धन भएको थिएन । सचिव चटौतले स्थानीय तहको जस्तै मित्रवत् प्रतिस्पर्धाको लागि माथिल्लो समितिमा जानकारी गराइएको बताए ।

बिज्ञापन

प्रतिनिधि सभा तर्फ सिफारिस भएका प्रधानमन्त्री देउवा २०४८ यता अपराजित छन् । प्रदेश सभा क मा सिफारिस भएका साउद निवर्तमान गाउँपालिका अध्यक्ष हुन् भने ख मा सिफारिस भएका बोहरा समानुपातिकमार्फत सांसद भएर मन्त्री बनेका हुन् ।

जिल्लाकाे प्रदेश सभाकाे ख काे लागि नेकपा एकीकृत समाजवादीले डा. तारा जोशीलाई सिफारिस गरिसकेको छ । अघिल्लो पटकको प्रदेशसभामा नेकपा एमालेबाट उठेका उनी कांग्रेसका कर्ण मल्लसँग ३५६ मतले पराजित बनेका थिए । त्यस्तै, जनता समाजवादीले जिल्लामा एक क्षेत्र नदिए विद्रोहको चेतावनी पनि दिइसकेको छ ।

प्रधानमन्त्रीकै गृह जिल्लामा गठबन्धन नगर्ने भन्दै निर्णय भएसँगै सत्ता गठबन्धनमा रहेका दलहरूबीच सिट बाँडफाँटको निर्णय अझै पेचिलो बन्ने देखिएको छ । यहाँ माओवादीबाट प्रदेश इन्चार्ज खगराज भट्ट पनि आकांक्षी छन् । उनी लगातार तीन पटकसम्म देउवासँग पराजित भइसकेका छन् । देउवासँगै पराजित भएका भट्ट देउवाकै सहयोगमा प्रदेशमा निर्वाचन लडेर मुख्यमन्त्री बन्ने चर्चा पनि व्यापक छ ।

बिज्ञापन
बिज्ञापन