National Election

सुदूरपश्चिम प्रदेश: १२ क्षेत्रमा मतगणना जारी, तीन क्षेत्रको नतिजा सार्वजनिक हुँदा, अन्य क्षेत्रमा कसको अग्रता ?

बिज्ञापन

कैलाली । सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्र मध्ये अहिले १२ निर्वाचन क्षेत्रमा मत गणना जारी छ । बाजुरामा मत गणना भएको छैन भने तीन क्षेत्रमा विजयी घोषणा भइसकेको छ ।

बिज्ञापन

यसरी विजयी घोषणा हुनेमा कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गङ्गा चौधरी, डडेल्धुरामा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र अछाम १ मा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुवँर छन् । ती बाहेक कैलालीकाका ४ वटा निर्वाचन क्षेत्र, कञ्चनपुरका ३ निर्वाचन क्षेत्र, अछामको १ क्षेत्र, दार्चुला , डोटी ,बझाङ र बैतडीमा अहिले मत गणना जारी छ ।

मत गणना जारी रहेको १२ क्षेत्र मध्ये अहिले सम्म कांग्रेसले सबै भन्दा धेरै क्षेत्रमा अग्रता बनाइरहेको छ । कांग्रेसले ५स्थानमा अग्रता बनाउँदा, एमालेले ४ स्थानमा अग्रता बनाइरहेको छ । नागरिक उन्मुक्तिले २ र नेकपा एकीकृत समाजवादी एक स्थानमा अग्रता बनाइरहेको छ ।

अहिले सम्म माओवादी केन्द्रले कुनै क्षेत्रमा पनि अग्रता बनाउन सकेको छैन । सत्ता गठबन्धनमा यहाँ कांग्रेसले ९, माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीले ३ ठाउँमा भाग पाएको थियो ।

कांग्रेसले पाएको ९ क्षेत्र मध्ये अहिले सम्म कञ्चनपुर २ मा एनपी साउद र ३ मा रमेश लेखक अगाडि छन् । साउदलाई एमालेका नरबहादुर धामी र लेखकलाई एमालेकै निरु पालले पच्छाइ रहेकी छन् । अघिल्लो निर्वाचनमा साउद धामीसँग पराजित भएका थिए ।

दार्चुलामा पनि कांग्रेसका दिलेन्द्र बडूले अहिले अग्रता बनाएका छन् । त्यहाँ एमालेका गणेश ठगुन्नाले बडूलाई पच्छाइरहेका छन् । ठगुन्ना अघिल्लो पटक निर्वाचित भएका थिए । कैलाली ४ मा कांग्रेसका वीर बहादुर बलायरले अग्रता बनाइरहेका छन् । यहाँ एमालेका लेखराज भट्ट पछि परेका छन् । अघिल्लो पटक यस क्षेत्रबाट भट्ट निर्वाचित भएका थिए ।

अछाम २ मा पनि कांग्रेस अगाडी छ । यहाँ कांग्रेसका पुष्प शाहलाई एमालेका यज्ञ बोगटीले पच्छाइरहेका छन् । अघिल्लो पटक शाह बोगटीसँग पराजित भएका थिए ।

एमालेले अहिले सम्म कैलाली ४ मा अग्रता बनाएको छ । कैलाली ५ मा एमालेका नारदमुनि राना सुरुबाटै अग्रतामा छन् । उनलाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका कांग्रेसका डिल्लीराज पन्तले पच्छाइरहेका छन् । स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझा तेस्रो स्थानमा छन् ।

कञ्चनपुर १ मा एमालेका तारा लामा तामाङले माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पछि पारेका छन् । अघिल्लो पटक यहाँबाट मगर निर्वाचित भएकी थिइन् ।

उता बैतडीमा पनि एमालेका दामोदर भण्डारी अगाडी छन् । उनलाई सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार भएका माओवादी केन्द्रका नरेन्द्र कुवरले पच्छाइरहेका छन् । अघिल्लो पटक पनि यहाँबाट भण्डारी निर्वाचित भएका थिए ।

बझाङमा पनि एमाले अगाडि छ । एमालेका ऐन महरले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीलाई सुरुबाटै पछि पारेका छन् । अघिल्लो पटक यहाँ एमालेका भैरव सिंह निर्वाचित भएका थिए ।

नागरिक उन्मुक्ति पार्टीले कैलालीको १ र २ मा अग्रता बनाइरहेको छ । १ मा नागरिक उन्मुक्तिका केन्द्रीय अध्यक्ष तथा रेशम चौधरीकी श्रीमती रन्जिता श्रेष्ठले कांग्रेसका राम जनम चौधरीलाई पछि पारेकी छन् । यहाँ एमालेका तपेन्द्र रावल तेस्रो स्थानमा छन् । अघिल्लो पटक यहाँबाट रेशम चौधरी निर्वाचित भएका थिए ।

कैलाली २ मा पनि नागरिक उन्मुक्तिमा अरुण चौधरी अगाडि छन् । उनलाई सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार भगत बडूवालले पच्छाइ रहका छन् । एमालेका झपट रावल तेस्रो स्थानमा छन् । नेकपा एकीकृत समाजवादीले अहिले डोटीमा मात्रै अग्रता बनाइरहेको छ डोटीमा प्रेम आलेसँग एमालेकी गौरी ओली पछि परेकी छन् ।

बिज्ञापन