राजनीति

राप्रपा बैठकमा रिसाए लिङ्देन, मनपरी बोल्दा अनुशासनको कारबाही गर्ने चेतावनी

बिज्ञापन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकमा भनाभन भएपछि केहीबेर बैठकको माहोल बिथोलिएको छ । बैठकमा आफ्नो धारणा राख्ने क्रममा एक केन्द्रीय सदस्यले अध्यक्ष राजेन्द्र लिङ्देन आफैँले यसअघि भनेको ‘चोर नेता’कै पछि लागेको आरोप लगाएपछि बैठकको माहोल बिथोलिएको हो । 

धुम्बाराहीमा सोमबार जारी केन्द्रीय समिति बैठकमा मंगलबार आफ्नो धारणा राख्नेक्रममा केन्द्रीय सदस्य किशोर कार्कीले अध्यक्षको कार्यशैलीमाथि प्रश्न उठाउँदै आलोचनात्मक धारणा राखेका थिए । 

पार्टीमा विधि कायम हुनुपर्ने भएपनि त्यसो हुन नसकेको उनको भनाइ थियो । तर, धारणा राख्ने क्रममा अध्यक्ष लिङ्देनल मनपरी बोल्दा अनुशासनको कारबाही गर्ने चेतावनी कार्कीलाई दिएपछि बैठकको माहोल बिग्रिएको केन्द्रीय सदस्यले जानकारी दिए । 

आम निर्वाचनअघि कार्कीको नेतृत्वमा ६३ जना नेताले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीलाई लिएर एक ध्यानाकर्षण पत्र बुझाएका थिए । ३ बुँदे उक्त ध्यानाकर्षण पत्रमा पार्टीका तीन जना नेताको लागि मात्रै किन गठबन्धन गरिएको भनेर प्रश्न गरिएको थियो । यस्तै पार्टीमा योजना दिएका व्यक्तिहरुलाई वरिष्ठताका आधारमा समानुपातिकमा राख्न आग्रह गरिएको थियो । 

बिज्ञापन

तर, यो विषयमा लिङ्देनले कुनै सम्बोधन नगरेपछि आफूले आजको केन्द्रीय समिति बैठकमा यही विषयसहित पार्टीलाई विधिमा सञ्चालन गर्नुपर्छ भनेर उठाएको कार्कीले रातोपाटीसँगको कुराकानीमा बताए ।
   
‘हिजो पार्टी मै नभएका र भर्खर आएका मान्छेहरुलाई कमिटीहरुमा माथिमाथि राखिएको छ । तर, हाम्रो अध्यक्षले कांग्रेसको कार्यक्रममा गएर नेताहरु गाउँघरमा जाँदा को आयो को आयो भन्दा चोर आयो भन्छन् भन्नु भएको थियो । तर, चुनावमा गठबन्धन गर्न तपाईँ त्यही चोर नेताहरुको पछि लाग्नु भएको भनेर मैले प्रश्न गरेको हो’, उनले भने । 
 
चुनावमा एमालेलाई भोट नहाले कारबाही गर्छु भनेर सार्वजनिक अभिव्यक्ति दिँदा पार्टीको भोट घटेको समेत उनले बताएका थिए ।  गठबन्धन नगरिकन चुनावमा गएको भए पार्टीको हैसियत अझै माथि हुने भएपनि नेतृत्वले सही निर्णय लिन नसकेको उनको धारणा थियो । 

कार्कीले नेतृत्वको आलोचना गरेपछि पार्टीमा भ्रम सिर्जना गर्न काम भएको भन्दै लिङ्देन जंगिन पुगेका थिए ।  

बिज्ञापन
बिज्ञापन