राजनीति

गठबन्धनलाई समेत भारी पार्ने नवगठित नागरिक उन्मुक्ति पार्टीको तयारी

बिज्ञापन

टीकापुर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा केही पालिकामा नवगठित नागरिक उन्मुक्ति पार्टी ठूला दलका लागि भारी हुने देखिएको छ ।
यो दल २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा दोषी ठहर भई जेल जीवन बिताईरहेका निलम्बित साँसद रेशमलाल चौधरीकी श्रीमती रञ्जीता श्रेष्ठ चौधरीको अध्यक्षतामा गठन भएको हो । तीन महिना अघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको पार्टीले स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्न गतिविधि तिब्र पारेको छ ।

सो पार्टीले कैलाली, बर्दिया र दाङका केही पालिकामा समेत आफ्नो उम्मेदवारीको तयारी थालेको केन्द्रिय सदस्य रामलाल डगौरा थारुले जानकारी दिए । उनका अनुसार पार्टीले कैलालीका टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका र बर्दगोरीया गाउँपालिकामा ध्यान केन्द्रित गरेको छ ।

उनले यी सबै पालिकामा प्रमुख र उपप्रमुख सहित वडामा समेत आफ्नो पार्टी चुनावी मैदानमा उत्रिने बताए । उनका अनुसार बर्दियाको पश्चिमी क्षेत्र राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा समेत पार्टीले प्यानल सहित तयारी थालेको छ ।

‘यी बाहेकका अरु पालिकामा वडाध्यक्ष भएपनि अघि सार्छौ’ उनले भने–‘धेरै ठाउँमा हाम्रो जित निश्चित छ ।’

बिज्ञापन

टीकापुर नगरपलिकाको प्रमुखमा उनी आफै अघि सरेका छन । उनी हाल वडा नं. ७ का वडाध्यक्ष हुन । उनी अघिल्लो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट विजयी भएका थिए । उनले प्रतिद्वन्द्वी भन्दा झण्डै २ सय बढी मत प्राप्त गरेका थिए ।

उनले माओवादी केन्द्रले पहिचानको मुद्दा छोडेकोले आफूले पार्टी छोडेको बताए । उनले माओवादी केन्द्रले जहिल्यै थारु समुदायलाई भोटका रुपमा मात्रै प्रयोग गरेको आरोप लगाए । ‘सुरुमा हामीलाई पहिचानको मुद्दा बारे थाहै थिएन । माओवादीले नै पहिचानको कुरा सिकायो । जब हामी जान्ने बुझ्ने भयौं । पार्टीले पहिचानको मुद्दा नै बिर्सियो’ उनले भने–‘वाध्य भएर पार्टी छोड्नु पर्यो ।’

पार्टीले भजनी नगरपालिकाको प्रमुखमा केवल चौधरी र जानकी गाउँपालिकाको अध्यक्षमा पत्रकार गणेश चौधरीलाई अघि सारेको छ । केन्द्रिय सदस्य थारुका अनुसार अन्य पालिकामा आकांक्षी धेरै भएकाले टुङ्ग्याउन समस्या भैरहेको छ ।

सो पार्टीले टीकापुर नगरपालिकाको उपप्रमुखमा शिक्षिका उल्कादेवी विश्वकर्मालाई अघि सारेको छ । उनी शिक्षण पेशा छोडेर उपप्रमुखको तयारीमा छिन ।

टीकापुर नगरपालिकाका कार्यपालिका सदस्य रमेश विक समेत नेपाली काँग्रेस परित्याग गरी सो पार्टीमा प्रवेश गरेका छन । उनीसँगै केही अन्य पार्टीका दलित नेता कार्यकर्ता समेत सो पार्टी प्रवेश गरेका छन । उनीहरुको पार्टी प्रवेशले नागरिक उन्मुक्ति पार्टीलाई दलित समुदायको समेत साथ रहेको सन्देश दिन खोजेको छ ।

केन्द्रिय सदस्य थारुले आफ्नो पार्टीलाई गठबन्धनले समेत केही फरक नपार्ने दावी गरे । उनले दलहरुबीच गठबन्धन भए कार्यकर्तामा झन असन्तुष्टी बढ्ने र आफ्नो पार्टीलाई फाइदा पुग्ने जिकिर गरे । ‘गठबन्धन हुँदा हामीलाई झन फाइदा पुग्छ’ उनले भने–‘नेताहरुबीच पो गठबन्धन होला तर कार्यकर्ता त मान्ने पक्षमा छैनन् ।’

उनले आफ्नो पार्टीको कसैसँग गठबन्धन नहुने बताए । उनले नेकपा एमालेका तर्फबाट गठबन्धनको प्रस्ताव आएको भएपनि आफूहरुले अस्विकार गरेको बताए ।

पार्टीले थारु समुदायको मतलाई लक्षित गरेको छ । उसले थारु बाहुल्य पालिकामा आफ्नो ध्यान केन्द्रित गरेको छ । पार्टी अध्यक्ष श्रेष्ठ चौधरी यतिबेला भोट माग्दै घरदैलो गरिरहेकी छन । उनले आफ्ना श्रीमानको न्यायका लागि भन्दै भोट माग्ने गरेकी छन । रेशमलाल चौधरीको मुद्दालाई अघि सारेर पार्टीले थारु समुदायको सबै भोट आफ्नो पक्षमा पार्ने रणनीति बनाएको छ । यदि यस्तो भयो भने गठबन्धनलाई समेत चुनौती हुने विश्लेषकहरुको बुझाई छ ।

चौधरीले २०७४ को आम निर्वाचनमा भूमिगत अवस्थामै राष्ट्रिय जनता पार्टी नेपालबाट भारी मतका साथ जितेका थिए । उनले ३४ हजार ३४१ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मदनकुमारी शाहले १३ हजार ४०६ मत मात्र प्राप्त गरेकी थिईन ।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका उपसभापति जनकराज चौधरीले सो पार्टीले रेशमलाल चौधरीको मुद्दालाई अघि सारेर थारु समुदायको भावना माथि खेलवाड गरिरहेको बताए । उनले पार्टीको कुनै राजनीतिक एजेण्डा नभएकाले मतदातामा भ्रम र अफवाह फैलाउने कार्य भैरहेको दावी गरे ।
उनले थारु समुदायले राजनीतिक एजेण्डा हेरेर मतदान गर्नेमा आफू विश्वस्त रहेको बताउँदै नागरिक उन्मुक्ति पार्टीले सोचे जस्तो मत परिणाम नआउने बताए ।
साभार– हाम्रा पत्र डट कम

बिज्ञापन
बिज्ञापन