राजनीति

गठबन्धन सफल, संघीय चुनावसम्म लैजान्छौं : कांग्रेस

बिज्ञापन

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धन सफल भएको बताएको छ । स्थानीय तह निर्वाचनको परिणाम अन्तिम चरणमा आइपुग्दै गर्दा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हु्न् ।

‘निर्वाचन परिणाम सन्तोषजनक छ । कांग्रेस आफैंले पनि धेरै ठूलो सफलता हासिल गरेको छ’, उनले भने, ‘तालमेलसहित निर्वाचन परिणामलाई हेर्ने हो भने सहयोगी दलहरुले पनि उल्लेख्य सफलता पाएका छन् । कांग्रेसले स्वतन्त्र र निष्पक्ष निर्वाचनमा सहयोग गर्दै आएको छ ।’ कांग्रेसले ३२० पालिका जितिसकेको बताउँदै उनले सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने पनि बताएका छन् ।

जुन परिणाममा ३२० ठाउँमा कांग्रेसले जितिसकेको छ । अझै हामी ६ स्थानमा अग्रता लिएका छौँ, हामी जित्दैछौं’, उनले थपे, ‘जनमत हाम्रो पक्षमा आइसकेको छ । गठबन्धन दलहरु सहयोगीका रुपमा निर्वाचनमा गएका थियौं । समग्रमा लय मिलेको छ । अपवाद बाहेक गठबन्धन सफल भएको छ ।’

उनले यो निर्वाचन परिणामबाट गठबन्धनको नेतृत्व खुशी भएको दावी गरे । ‘गठबन्धनको नेतृत्व पनि यसबाट खुशी नै छ । नेपाली कांग्रेस पनि यस परिणामबाट सन्तोष छ’, उनले भने, ‘प्रदेश र संघको निर्वाचनमा गठबन्धन लैजाने मजबुत आधार पनि निर्वाचनले बनाएको छ ।’
‘हाम्रो पार्टीमा अन्तरघात अझै पनि छ । अन्तरघात नभएको भए कांग्रेसले ४ सय पालिका जित्थ्यो’, उनले भने, ‘हार–जितबारे पार्टीले केन्द्रीय समितिबाट समीक्षा गर्ने छ। समग्रमा अहिलेको परिणाम सन्तोषजनक र सकारात्मक छ ।’

बिज्ञापन

महतले एक्लै लडेका ठाउँमा पनि कांग्रेस सफल भएको बताएका छन् । ‘एक्लै लडेका ठाउँमा पनि कांग्रेस सफल भएको छ । समग्रमा गठबन्धन दल समेतको निकै ठूलो अग्रता कायम गर्न सफल भएका छौँ’, उनले भने, ‘हामी बहुमत नजिक छौं । तर स्थानीय तहको बहुमतको अर्थ हुँदैन । तर अब हामी संघीय सरकारमा बहुमत हासिल गर्छौ ।’

बिज्ञापन
बिज्ञापन