राजनीति

कैलालीमा पाँच दलीय गठबन्धन हुने

बिज्ञापन

धनगढी । आगामी स्थानीय तहको निर्वाचनका लागि कैलालीमा पाँच दलीय गठबन्धन हुने भएको छ ।

आइतबार बसेको बैठकले निर्वाचन क्षेत्र, ०७४ सालको मतपरिणाम, संगठन संरचनाको प्रभाव, नयाँ घोषणापत्रलगायतलाई आधार मानेर गठबन्धन गर्ने सहमति भएको हो । नेपाली कांग्रेस कैलाली सचिव केशव मिश्रले वडा तहदेखि नै १३ वटै स्थानीय तहमा गठबन्धन गर्ने सहमति भएको जानकारी दिए ।

बैठकमा नेकपा (एकीकृत समाजवादी) ले कैलालीका पाँचवटा स्थानीय तहमा दाबी गरेको छ । उसले कैलालीको गोदावरी, गौरिगंगा, घोडाघोडी, लम्की चुहा नगरपालिका र चुरे गाउँपालिकामा दाबी गरेको छ ।
नेकपा (माओवादी केन्द्र) ले नेपाली कांग्रेसको माग दाबीका आधारमा आफूहरूले स्थानीय तहमा दाबी गर्ने प्रतिक्रिया दिएको छ । यद्यपि माओवादी केन्द्रले ०७४ सालमा विजयी भएका दुईवटा स्थानीय तह नछोड्ने दाबी गरेको छ । ०७४ सालको निर्वाचनमा भजनी नगरपालिका र कैलारी गाउँपालिकामा माओवादी केन्द्रको उमेदवार विजयी भएका थिए ।

“दुईवटा स्थानीय तह छोड्दैनौँ । कांग्रेसको माग दाबी आधारमा अन्य स्थानीय तहमा पनि हाम्रो दाबी रहने छ,“ माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि ज्ञवालीले भने ।
बैठकमा कांग्रेसले अहिलेसम्म १३ वटै स्थानीय तहमा आफनो दाबी रहने बताएको छ । सचिव मिश्रले भने, “हाम्रो १३ वटै स्थानीय तहमा दाबी रहेको छ । यद्यपी अब हामीले सबै तहमा प्रक्ष्येपण गरेरमात्र अघि बढ्छौँ ।“

बिज्ञापन

कांग्रेसले ३० गतेको बैठकमा केही स्थानीय तह अन्य दललाई दिने वा नदिने भनी निर्णय गर्ने उनले बताए ।

जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले भने स्थानीय तहमा कुनै दाबी गरेका छैनन । राष्ट्रिय जनमोर्चाले स्थानीय तहको नगर प्रमुख तथा उपप्रमुखमा दाबी नगरेपनि गठबन्धनमा आफ्नो सहभागिता जनाउन केही स्थानीय तहको वडामा आफ्ना उमेदवार बनाउन माग गरेको थियो ।

बैठकमा एकीकृत समाजवादी पार्टीका प्रदेश अध्यक्ष दीर्घ सोडारी, कैलाली जिल्ला अध्यक्ष भैरव रावल, माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि ज्ञवाली, कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी, नेपाली कांग्रेसका तर्फबाट उपसभापति भीम बडुवाल, सचिव मिश्र, जनमोर्चाबाट जगतराज जोशी र जसपाबाट होरीलाल चौधरी सहभागी थिए ।

बिज्ञापन
बिज्ञापन