घटना समाचार

कञ्चनपुरमा ‘भूत भगाउने’ भन्दै महिलाको हत्या

बिज्ञापन

कञ्चनपुर । सुदूरपश्चिममा अन्धविश्वासको जालो अझै जेलिएकै छ , विरामी परे धामीझाक्रीको भर पर्ने मान्यता कायमै रहेको छ। यही मान्यताले कञ्चनपुरमा एक महिलाको ज्यानै लिएको छ । शनिबार दिउँसोको कुरा हो । कञ्चनपुरको वेदकोट नगरपालिका–६ की कमला साउदको घर आँगनभरि चामल र अक्षता, किनारमा आगोको धुनी, छेउमै आगोमा तताईएका फलामका डन्डी र बीचमा महिलाको शव थियो । शव वरिपरि तीन जना धामीझाँक्री कामिरहेका थिए । उनीहरु काम्दै भन्दै थिए, ‘यो हामीले गरेको, हामी नै ठीक पार्छौं ।’ महिलाको शव गन्हाइसकेको थियो । तर, पनि उनीहरुको रटान थियो, ‘हामी होसमा ल्याउछौ ।’ त्यो शव थियो वेदकोट नगरपालिका–६ मुसेपानीकी ४२ वर्षीया रञ्चुला साउदको ।

साउदको धामीझाँक्रीको कुटपिटबाट बिहीबार नै मृत्यु भइसकेको थियो । केहीबेरमै उनको मृत्युको खबर फैलियो । त्यहाँका स्थानीय र जनप्रतिनिधिहरुले पनि त्यो खबर सुने । खबर सुने लगत्तै सोही वडाका वडा सदस्य धनसिंह पुजारा त्यहाँ पुगे । उनले त्यहाँ पुग्दा पनि शव गन्हाएको अवस्थामा आँगनमै थियो । शरीरभरि घाउ र फलामको डन्डीले पोलेका डामैडाम थिए । ‘‘शव गन्हाउन थालेको थियो । शरीरभरि घावैघाउ थिए । म त्यहाँ जाँदा त धामीहरू झन मैमाथि खनिए,’ उनले भने, ‘त्यसपछि प्रशासनमा फोन गरेर प्रहरी बोलाए ।’

दुई छोरी पालिरहेकी रञ्चुला एकल महिला थिइन् । उनी ज्याला–मजदुरी गरेर आफ्नो गुजारा चलाइरहेकी थिइन । उनका पतिको ७ वर्षअघि भारतमा मृत्यु भएको बताइएको छ । मंगलबार मात्रै टाउको दुखेपछि उनी छिमेकी कमला साउदको घरमा गएकी थिइन्, जहाँ एक महिनादेखि भीमदत्त नगरपालिकाको हल्दुखाल र बाराकुण्डाका दुई जना धामीझाँक्री आएर बसिरहेका थिए । रञ्चुलाले पनि धामीझाँक्रीलाई देखाइन् । उनलाई ‘भूत’ लागेको भन्दै थारू समुदायका भर्रा (झारफुक गर्ने) कहाँ जान भनियो । त्यो दिनसम्म उनमा सामान्य टाउको दुख्नेबाहेक अरू समस्या थिएन । राति थप असजिलो भएपछि उनी फेरि धामीझाँक्री पाहुना बसेको घरमा पुगिन्, जहाँ फेरि झारफुक धामीहरू धर्मानन्द भट्ट र नारायणदत्त भट्टले मन्त्र सुनाउने भन्दै पटक–पटक कोठामा लैजान्थे, फेरि बाहिर ल्याउँथे । उनीहरूले झारफुक गर्दागर्दै अर्को दिन साँझपख उनको जिब्रो लरबरिन थाल्यो । झारफुकका नाममा उनीमाथि धामीहरूले अत्याचार गरे । रञ्चुलाकी छोरी सरिताका अनुसार आगोमा तताएका फलामका डन्डीले मुख र शरीरमा डामेका कारण रञ्चुलाको मृत्यु भयो तर झाँक्रीहरूले भने आफूहरूले नै ‘बेहोस’ बनाएकाले फर्काउने दाबी गरिरहेका थिए । ‘यसले हाम्रो बारेमा गाउँलेसँग अनेक कुरा गरेकी छ, हामीले नै यसलाई बेहोस बनाएका हौं, यो कुरा बाहिर भन्यौ भने तिमीहरूलाई पनि यस्तै बनाइदिन्छु,’ धामीले धम्क्याएको सरिताले सुनाइन् ।

सरिताका अनुसार रञ्चुलाको बिहीबार दिउँसो मृत्यु भएको हो । त्यही दिन साँझ रञ्चुलाका देवर पदमलाई पनि कमलाले नै फोन गरेर बोलाएकी थिइन् । उनी बैतडीको शिवनाथ गाउँपालिकास्थित घरमा थिए । ‘तिम्रो भाउजूको शरीरमा तिम्री आमाको आत्मा आएको छ, यसको झारफुक गर्नुपर्छ भन्दै मलाई बोलाए,’ पदमले भने, ‘म आउँदा त लास मात्रै देखें ।’रञ्चुलाका दाइ करनसिंह घटाल बुधबार नै आएका थिए। ‘धामीझाँक्रीले नै मेरी बहिनी मारेका हुन्,’ उनको दाबी छ । उनका अनुसार कमला पनि धामीझाँक्री नै हुन् । उनका दुई छोरी मात्रै छन् । छोरा नपाएपछि उनले भट्ट धामीझाँक्रीहरूलाई बेला–बेलामा घरमा ल्याउने गर्थिन् । वडा सदस्य पुजाराका अनुसार कमलाले छोरा पाउने आसमा धामीझाँक्रीमा विश्वास गर्थिन् । पुजाराले खबर गरेपछि प्रशासनले घटनास्थलमा हस्तक्षेप गरेको थियो ।

बिज्ञापन

प्रहरीले धामीझाँक्री दुवै भट्टसहित कमलालगायत सात जनालाई पक्राउ गरेको छ । घटनास्थलबाट फलामका डन्डीहरूसमेत बरामद भएका छन् । ‘घटना शंकास्पद छ तर अहिले नै केही भन्न सकिँदैन,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले भने । शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको उनले बताए । यस्तै घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन