स्वास्थ तथा सरसफाइ

कोरियामा कोरोनाबाट ७५ जनाको मृत्यु

बिज्ञापन

सोल । दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार पनि अप्रत्यासितरूपमा बढेको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार मङ्गलबार दक्षिण कोरियामा ७५, मलेसियामा चार र न्युजिल्याण्डमा १७ जनाको मृत्यु भएको छ ।

न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार घटेको छ । मङ्गलबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै सरकारी अधिकारीले देशका विभिन्न भागमा दुई हजार दुई सय ४४ नयाँ बिरामी थपिएका बताएका छन् ।

एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेका थिए । बिरामीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हाल न्युजिल्याण्डमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १७ लाख २४ हजार सात सय २४ रहेको छ भने यो रोगको सङ्क्रमणबाट एक हजार आठ सय ९३ जनाले ज्यान गुमाएका छन् ।

बिज्ञापन

यसैबीच, मलेसियामा मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार चार जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन् । हालसम्म मलेसियामा ३६ हजार दुई सय १० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । देशमा कुल ४७ लाख ८० हजार दुई सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन । मङ्गलबार एकै दिन ७५ जनाको मृत्यु भएको छ । सोमबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा एक लाख तीन हजार नौ सय ६१ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३२ लाख ४६ हजार तीन सय ८९ पुगेको छ ।

बिज्ञापन
बिज्ञापन