राजनीति

स्थानीय तहमा एमालेको जित सुनिश्चित छ : ओली

बिज्ञापन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबी गरेका छन् ।

बिज्ञापन

एमाले जिल्ला कमिटी मोरङले आयोजना गरेको तराई मधेश बृहत् जनसभालाई सम्बोधन गर्दै उनले समृद्धिको यात्रामा कतै पनि नअल्मलिकन देशव्यापीरूपमा लाग्ने विश्वास दिलाए ।

अध्यक्ष ओलीले जन्मसिद्ध आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने भन्दै नागरिकताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

एमालेभित्रको घुसपैठले पार्टी सरकार विस्थापित भएको बताउँदै अध्यक्ष ओलीले पार्टीमा गलत काम गर्नेहरू चिनिएकाले उनीहरूलाई जनताले ठेगान लगाउने ठोकुवा गरे ।

उनले आफ्नो पार्टी जनताका माझमा निकै बलियो भएको तर्क गर्दै विगतमा एमाले सही नीतिका कारण नेपालको भूमि फिर्ता ल्याएको दाबी गरे ।

आफू नेतृत्वमा बनेका सरकारले रक्सौल काठमाडौं रेलसेवा, सुरुङमार्ग, काठमाडौंमा सुक्खा बन्दरगाह जस्ता राष्ट्रिय गौरवको योजना ल्याएको बताउँदै अध्यक्ष ओलीले कोभिड–१९ को महामारीबाट नागरिकको जीवन सुरक्षा गर्न हरसम्भव प्रयास गरेको बताए ।

सरकारले एकै दिन ३९६ अस्पताल र २६५ वटा सडक शिलान्यास गरेको स्मरण गर्दै उनले जनताका हितका निम्ति आएका यस्ता योजनालाई सरकारले काट्न नहुने धारणा राखे । सदरमुकाम जोड्ने बुटवल, ढल्केवर, गोरुसिङे, नेपालगञ्ज र धनगढीमा चारदेखि छ लेनको बाटो बनाएको भन्दै जनतालाई अनुभूति गराउने किसिमको विकास गरेको दाबी गरे ।

एमालेका सरकारले ज्येष्ठ नागरिक, अपाङ्गता भएका र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिएर सामाजिक न्याय गरेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले जनताको चाहना एवं भावनाअनुसार काम गरेको उल्लेख गरे ।

सो अवसरमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित रङ्गेली नगरपालिका प्रमुख दिलीप अग्रवाल (बगडिया), उपप्रमुख केशवकुमारी खराल, वडा नं ७ का वडाध्यक्ष रामचन्द्र मण्डल, वडा नं ५ का वडाध्यक्ष महानन्द मण्डल र वडा नं १ का वडाध्यक्ष महेश खनालसहितका कार्यकर्ता एमालेमा प्रवेश गरेको पार्टीका जिल्ला अध्यक्ष ऋषि पोखरेलले जानकारी दिए ।

बिज्ञापन