आस्था /आध्यात्म

मन्त्रीद्वारा स.नि.म. महेन्द्रनगरको दुई कोठा तथा मिनि हलको उद्घाटन

बिज्ञापन

महेन्द्रनगर, २८ साउन । सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलद्वारा सन्त निरंकारी मण्डल नेपालको महेन्द्रनगर स्थित सत्संग भवनको दुई कोठा र एक मिनि हलको स.नि.म. नेपालका अध्यक्ष नर बहादुर रावल तथा स्थानीय सन्तहरुको उपस्थितिमा उद्घाटन गरियो ।

उक्त अवसरमा मन्त्री रावलले सन्त निरंकारी मिशनले समाजमा सदभाव फैलाउने काम गर्नुको साथै समाजमा रहेका बिसंगतिहरुलाई हटाउने र समाप्त पार्ने कार्यतिर अग्रसर रहेको र कुलतमा फसेका युवालाई आध्यात्मिक जागृति प्रदान गरेर उनीहरुको जीवनलाई सतमार्गमा डोरयाउने काम गरेको बताउनुभयो । प्रत्येक शनिबार यस सत्संग भवनमा एकत्रित भएर ईश्वरको भजन–किर्तन गरेर मानवहरुलाई आध्यात्मिक जागृति प्रदान गर्दै आएकोमा आफू धेरै खुशी भएको कुरा व्यक्त गर्नुभयो ।

उहाँले आज निरंकारी मिशनले नेपालका अधिकांश जिल्लाहरुमा आफ्नो विस्तार गर्नुमा सफल भएको र त्यसको नेतृत्व सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले यस मिशनको सिद्धान्तलाई घर–घर पुरयाउनुमा महत्वपूर्ण भूमिका निर्भाह गर्दै आउनुभएकोमा प्रशंसा व्यक्त गर्नुभयो ।

आफ्नो नेतृत्वको सरकार बनिसकेपछि समय–समयमा संस्थालाई निर्माण कार्यमा सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा सहयोग गर्दै आएको बताउँदै आज उद्घाटन गरिएको दुई कोठा र मिनि हलको निर्माण पनि यसैको नतिजा भएको र आउँदा दिनहरुमा मण्डललाई निरन्तर सहयोग गर्दै जाने वचन प्रतिबद्धता जाहेर गर्नुभयो ।

बिज्ञापन

त्यस्तै प्रकारले भिमदत्त नगरपालिकाका पूर्व नगर प्रमुख तथा नेकपा एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले आज सन्त निरंकारी मिशनले संसारमा धार्मिक सहिष्णुत, सद्भाव, विश्व शान्तिको कार्यमा अग्र पंक्तिमा रहेर काम गर्दै आएको र विश्व भातृत्वको सन्देशलाई उजागर गरिरहेको छ । आफू जहाँ गएपनि एक पटक निरंकारी सत्संग भवनको अवलोकन गर्दै आएको उहाँले बताउनुभयो ।

केवल पूर्वाधार विकास भएर मात्र पुग्दैन, हामी दिगो विकासमा विश्वास राख्छौ, हामीले मानव भएर सम्मान पूर्वक बाँच्न पाउनु पर्छ, समाजमा कुनै प्रकारको भेदभाव हुनुहुँदैन । आज मिशनले मानवलाई मानव भएर बाँच्न सिकाई रहेको छ । सत्यको सन्देशलाई फैलाई रहेको छ, उहाँले बताउनुभयो ।

भिमदत्त नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा भिनपाका प्रवक्ता महेन्द्र खड्काले आध्यात्मिक जागृतिको क्षेत्रमा निरंकारी मिशनको निकै लामो इतिहास रहेको बताउँदै विश्वमा शान्तिको सन्देशलाई फैलाएर मानव जगतलाई भाइचाराको सन्देशलाई बाँडेर मानव जातिलाई एक सूत्रमा बाँध्ने काम गरेको छ । सत्संगमा आएर ईश्वरको चिन्तन–मनन गरेर सत्मार्गमा हिडाउने कार्य भइरहेको र समाजलाई आध्यात्मको बाटोमा डोरयाई रहेको बताउनुभयो ।

आज समाजमा युवाहरु विभिन्न लागु–औषध तथा कुलतमा फसेर आफ्नो जीवनलाई बर्बाद गरिरहेका छन् भने त्यही समाजका युवाहरुलाई आध्यात्मिक जागृति प्रदान गरेर एक असल देशको नागरिक बनाउनुमा सन्त निरंकारी मिशनले अहम भूमिका खेलिरहेको छ । यसरी आध्यात्मिक चिन्तनबाट नै समाजलाई सही दिशा प्रदान गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले भवन निर्माणमा प्रदेश सरकारबाट आर्थिक सहयोग उपलब्ध गराई दिएकोमा उपस्थित आर्थिक मामिला मन्त्री प्रकाश रावललाई धन्यवाद दिदै अगामि दिनहरुमा पनि प्रदेश सरकारबाट यस्तै प्रकारको सहयोगको अपेक्षा राखेको कुरा व्यक्त गर्नुभयो ।

बि.सं. २०२० मा अछामको एउटा सानो घरबाट आरम्भ भएको सत्संग आज नेपालमा करिब १४० वटा भवनमाहरुमा सन्तहरु भौतिक रुपमा उपस्थित भएर सत्संग गर्दै आएको जानकारी गराउँदै निरंकारी मिशनले संसारमा आध्यात्मिक जागृती मात्र नगराएर समय–समयमा विभिन्न रक्तदान शिविर, वृक्षारोपण, नगर सरसफाई कार्यक्रम, दैवी–प्रकोपबाट पिडित भएकाहरुलाई राहत उपलब्ध गराउने आदि जस्ता सामाजिक कार्य गर्दै आएको स्मरण गराउनुभयो ।

उहाँले सन्त निरंकारी मिशन कुनै धर्म या सम्प्रदाय नभई एक आध्यात्मिक विचार धारा हो । यसमा सबै प्रकारका धर्मावलम्बि, जातजाति, संस्कृति, भेषभूषा भएका मानव जाति आवद्ध रहेका छन् । निरंकारी मिशन सबै धर्मको साझा मञ्च हो । हामी सबै एउटै ईश्वरका सन्तान हौ । हाम्रो आत्माको सम्बन्ध परमात्मासंग रहेको हुन्छ त्यसैले मनुष्य योनि पाईसकेपछि परमात्मालाई चिन्नु आवश्यक छ, त्यसको जानकारी आज संसारमा निरंकारी मिशनले गराई रहेको बताउनुभयो ।

कार्यक्रमको अन्तमा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सहसचिव तथा महेन्द्रनगर सत्संग भवनका मुखी नर बहादुर विश्वकर्माले कार्यक्रमको समापन गर्दै प्रदेश सरकार र वडाबाट आर्थिक सहयोग उपलब्ध गराई भवन निर्माणमा थप योगदान पुरयाई दिएकोमा र आफ्नो अमूल्य समय दिएर निमान्त्रणालाई स्वीकार गरेर उद्घाटन कार्यक्रममा सरिक भइदिनुभएकोमा अभार प्रकट गर्नुभयो । कार्यक्रममा स.नि.म. प्रचारक करन सिंह सुनार, मन्त्रीका स्वकीय सचिव ईन्द्र सिंह ठगुन्ना, मालिका समाचार तथा सन्त निरंकारी मासिक पत्रिका सम्पादक पूर्ण कुमाल, समाजसेवी महिला नेतृ लक्ष्मी विश्वकर्मा, पूर्व शिक्षक मान सिंह, गायक तेज बहादुर बोहरा, इन्द्र सिंह लगायत संयौं स्थानीय सन्तहरुको उपस्थिति रहेको थियोभने कार्यक्रमको संचालन मिरा नेपालीले गर्नुभएको थियो ।

बिज्ञापन
बिज्ञापन