राजनीति

माओवादीको प्रतिबद्धता : ग्यास प्रतिस्थापन गर्न प्रत्येक घरधुरीलाई निःशुल्क विद्युतीय चुल्हो

बिज्ञापन

काठमाडौं । नेकपा (माओवादी केन्द्रले आगामी निर्वाचनलाई भौतिक उत्प्रेरणाको प्रभावमा नपरी सही नीति र नेतृत्वको छनोट गर्दै समाजवादउन्मुख समृद्धिको बाटोमा अगाडि बढ्न आम मतदातामा अपिल गरेको छ ।

बिज्ञापन

स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा आज विशेष अपिल सार्वजनिक गर्दै माओवादीले नीति र नेतृत्वबीचको अन्तरविरोधका कारण समस्या पैदा भएकाले सही नीति बोक्ने नेतृत्वलाई विजयी गराउन आग्रह गरेको हो ।

एकाधिकारबाट पीडित, निराश र निमुखा बन्दै गएका जनसमुदायको विशाल हिस्सालाई आर्थिक सामाजिक विकासको साझेदार बनाउने र उनीहरूलाई प्रतिफलको हिस्सेदारसमेत बनाउने आफूहरूको विकास मोडेलबाट नै समाजवादउन्मुख समृद्धि सम्भव हुने माओवादीले अपिलमा भनेको छ ।
स्वाधीन र सार्वभौम राष्ट्रले मात्र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न सक्ने भन्दै माओवादीले आधारभूत स्वास्थ्य सेवा र विद्यालय शिक्षा निःशुल्क प्रदान, खाद्य सुरक्षा, आवास, रोजगारी, स्वच्छ वातावरण, जातीय, क्षेत्रीय एवं लैंगिक समानतालगायतका मौलिक हक समाजवादोन्मुख समृद्धिको अभियानसँगै पूर्णरूपले कार्यान्वयन हुँदै जाने विश्वास दिलाएको छ । जनक्रान्तिको रक्षा, राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र सामाजिक न्यायसहितको आर्थिक विकासका लागि आफूहरूको नेतृत्व वर्तमानको अपरिहार्यता हुन गइरहेको माओवादीले दाबी गरेको छ ।

माओवादीले ‘समाजवाद उन्मुख समृद्धि : आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि’, ‘एक पालिका, एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचान’ नारा अघि सार्दै आफ्नो प्रतिबद्धतासमेत सार्वजनिक गरेको छ । सार्वजनिक, सामुदायिक (सहकारी) र निजी क्षेत्रको पहलकदमी र सहकार्यमा आधारित आर्थिक विकासको मोडेलबाट समाजवादोन्मुख समृद्धिको परिकल्पना गरिएको माओवादीले जनाएको छ । “नागरिकका आधारभूत आवश्यकताको परिपूर्ति र गरिबी निवारण, वस्तु तथा सेवाको सहज आपूर्ति, उत्पादनमुखी अर्थव्यवस्थाको निर्माण, रोजगारीका अवसरको सिर्जना, विचौलियाको भूमिकालाई न्यूनीकरण, वातावरणमैत्री विकास पूर्वाधार, आर्थिक सामाजिक तथा वातावरणीय विकासको सन्तुलन आदि हाम्रो विकास नीति र प्राथमिकता हुन्,” अपिलमा भनिएको छ ।

बिज्ञापन