आस्था /आध्यात्म

नेपालगन्जमा बृहत सत्संग कार्यक्रम सम्पन्न

बिज्ञापन

ज्ञान, भक्ति, प्रार्थनाबाट नै मनलाई काबूमा ल्याउन सकिन्छ : नर बहादुर रावल (प्रधान- सन्त निरंकारी मण्डल नेपाल)

बिज्ञापन

नेपालगन्ज, ५ कार्तिक । नेपालगन्जमा बृहत सत्संग कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक शनिबार आयोजित हुँदै आएको साप्ताहिक सत्संग यस पटक भने विशेष रुपमा सन्त–भक्त तथा नेतागणहरुको उपस्थितिमा वृहत सत्संगको आयोजना गरिएको थियो ।

उक्त अवसरमा सन्त निरंकारी मण्डल नेपालका प्रधान नर बहादुर रावलले सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभएर एक अध्यात्मिक विचारधारा भएकोले यस मिशनमा सबै प्रकारका धर्म, जात–जाति, भेशभूषा, रहन–सहन, देश–विदेशका सबै अनुयायीहरु रहेका र सबैले यस एक निराकार–ईश्वरलाई मान्ने बताउनुभयो ।

उहाँले संसारमा भइरहेको वस्तु–स्थितिको विष्लेशण गर्दै भन्नुभयो कि आज चारैतिर अशान्ति छ, मारकाट छ, रिस–डाह छ । मानव आफ्नो स्वार्थको लागि जेपनि गर्न तयार छ । एउटा उदाहरण दिदै उहाँले भन्नुभयो कि केहि समय पहिले एक ठाउँमा एउटै आमाको कोखबाट जन्मेका दुुई दाजुभाई वृद्धा भत्ता लिएर आइरहेका थिए बाटोमा दाजु बिरामी हुनुभयो जो ७४ वर्षका थिए, अर्को भाइ जो ७२ वर्षका थिए उनले बिरामी भएको मौका छोपेर दाजुलाई भिरबाट धकेलेर मारे र उनीसंग रहेको पैसा सबै लुटेर लिए । आज यस्तो किन भइरहेका छभने आज मानव स्वार्थको पछाडि दौडि रहेको छ । ऊँ स्वार्थमा अन्धो भइसकेको छ ।

उहाँले भन्नुभयो, ‘एकातिर हामी भन्छौ मानव योनि उत्तम छ । यो बारबार पाइदैन, भाग्यले मात्र पाईन्छ । यस योनिमा आएर पनि मानवले गर्ने कर्तव्यलाई निभाउन सक्दैनौ भने मानव योनि पाएको व्यार्थ हुन जान्छ । धर्मशास्त्रमा पनि भनिएको छ– ‘मानव बन’ । मानिसलाई मानिस बन भन्ने शिक्षा दिईन्छ । तर त्यस्तो बनभन्दा उसले अर्कौ सोच्छ कि तिमी र ममा के फरक छ भन्ने भावना उसको मनमा जागृत हुन जान्छ । आज मानवले मानवतालाई गुमाएर दानव प्रवृत्तिमा हावी भएको अवस्था छ ।’

त्यस्तै भक्ति गर्नको लागि जातिय अभिमान, धन–सम्पत्तिको अभिमान, सुन्दरताको अभिमान, काम, वासना, तिष्र्णाको अभिमान छभने हाम्रो कहिल्यै पनि भक्ति सम्भव हुँदैन । भक्ति त्यसैले गर्न सक्छ जसले आफूलाई न्यौछावर गरेको हुन्छ वा समर्पित गरेको हुन्छ । म ईश्वरको एउटा अंश हुँ सम्झेर भक्ति गर्दछ भने त्यसको भक्ति सार्थक हुन जान्छ । त्यसैले सन्त–महात्माहरुले भन्ने गर्छन्– ‘साधु बन्ना सहज है, बन्ना कठिन दास । अगर दास बन गया तो हड्डी रहा न मास ।’ यसरी राजा शिवीले आफ्नो शरीरको मासु दिएर पंक्षीको रक्षा गर्नुभयो । त्यस्तै ददीचि ऋषिले आफ्नो हड्डी दिएर देवताको रक्षा गर्नुभयो । यस्तो गर्न सक्नु आजको समयमा सम्भव छैन तर सत्गुरुले हामीलाई भन्नुभएको छ कि यो जुन शरीर जसको छ त्यसैको सम्झेर त्यसलाई अर्पण गर । तर यो तन, मन, धन सबै ईश्वर निरंकारको हो, मेरो केहिपनि रहेनछ भनेर संकल्प गर्न सकिरहेका छैनौ । हामीले आमाको गर्भबाट जन्म लिएर आयौं तर साथमा केहि लिएर आएनौं, खाली हात नै आयौं र जाने समय पनि खाली हात नै जाने छौ । त्यसैले यो सृष्टि ईश्वरको भरोसामा चलेको छ, यसको संरक्षण र रेखदेखमा उनले नै गरेका छन् । तर हामी परमात्मालाई आफ्नो अधिनमा लिन चाहन्छौ, आफ्नो वशमा पार्न चाहन्छौ, यो हाम्रो सबैभन्दा ठुलो भूल हो । हामी गुरमतलाई एकातिर राखेर मनमतलाई अपनाई रहेका छौ । यस्तो गरेको खण्डमा हाम्रो मानव योनि कसरी मुक्ति सम्भव छ । त्यसैले आउनुहोस गुरु भक्तिबाट नै हाम्रो जीवनको कल्याण छ र यसबानट मानव मुक्ति सम्भव छ, उहाँले बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो, ‘गुरुबाट आएका आदेश–उपदेशलाई यदि हामी आफ्नो जीवनमा ढाल्ने कोशिस गर्छौभने हाम्रो जीवनको कल्याण हुन सक्ने छ । हामीलाई कुनै किसिमको दुःख–कष्टले सताउने छैन् । दुःखको कारण मन हो । मनको मोह–मायाले मनलाई चंचलतातिर लिएर जान्छ, यसैबाट हाम्रो मन डोलायमान हुन्छ, जुन दुःखको कारण हो । यसबाट निजात पाउन सकिने एउटै कारण छ त्यो हो ब्रम्हज्ञान । जब हामी सत्गुरुको माध्यमबाट ब्रम्हज्ञानलाई प्राप्त गर्छौभने तब हामी हाम्रो मनलाई नियन्त्रण गरेर भक्ति गर्दै सुखमय जीवन बिताउनुमा सफल हुन्छौं । ब्रम्हज्ञान प्राप्त भइसकेपछि हामीभित्र रहेका सम्पूर्ण भ्रम समाप्त भएर हामी सुखी हुन जान्छौ । ज्ञान, भक्ति, प्रार्थनाबाट नै मनलाई काबूमा ल्याउन सकिन्छ, यसलाई बन्धनमा राख्न सकिन्छ ।’

गुरुको द्वारमा आउनु अघि हामीले स्वाँसको महत्वलाई बुझेका थिएनौ जब गुरुको चरणमा आयौं तब गुरुले हामीलाई ब्रम्हज्ञान दिएर यस एक–एक स्वाँसको महत्वलाई सम्झाउनुभयो । आज संसारमा अनेकौं बहुमुल्य पदार्थहरुलाई किन्न सकिन्छ तर यो स्वाँस, यो निराकार–परमात्मालाई किन्न सकिदैन । यसको जानकारी केवल निरंकारी मिशनमा आएर मात्र सम्भव छ, अरु ठाउँमा छैन् । किताबमा लेखेका कुरा तपाई–हामी, साधुले वा हरेकले पढ्न सक्छ, भन्न सक्छ तर सत्गुरुले हामी साक्षात्कार गराएर बतायो कि यो निराकार छ, यसको कुनै आकार, रुप–रंग छैन, यो सर्वव्यापि छ, एक ठाउँमा छैन्, यो अटल छ, अविनाशी छ । संसारमा रहेका वस्तुहरुको अनेकौं रुप–आकार–रंग छन्, यत्र–तत्र छन् र ती चलायमान छन् तर परमात्माका चारवटा गुण अटल छन्– यो एक निराकार छ, यो एक छ, सर्वव्यापि छ, अटल र अविनाशी छ । यसको वाचन धर्म–ग्रन्थमा गरिन्छ तर यसलाई देखाउन कसैले सकेनन् । आज हामीलाई सत्गुरुले देखायो यो निराकार हो । यसलाई केवल ब्रम्हज्ञानीले मात्र देख्न सक्छ । यही ज्ञान श्रीकृष्णले अर्जुनलाई दिनुभयो, त्यही ज्ञान आज हामीलाई सत्गरुले दिनुभएको छ । आज हामी बडा भग्यशाली छौ । त्यसैले सेवा, सत्संग, सुमिरण गर्दै जीवनलाई सफल बनाउनु पर्नेमा उहाँले जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले मंसीर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई मध्यनजर गर्दै भन्नुभयो कि हामीले कुनै प्रकारको लोभ–लालचमा नपरेर जसले देश, समाज, जनाताको लागि राम्रो गर्न सक्छ, देश विकासमा टेवा पुरयाउन सक्छ, जसले मिशनको लागि सेवा दिन सक्छ त्यस्ता व्यक्तिहरुलाई हाम्रो अमूल्य मत दिएर विजय गराउनु पर्छ नकि हाम्रो भएर पनि त्यसको आचरण, गुण, व्यवहार ठीक छैन् भने त्यस्तालाई आफ्नो अमूल्य मत खेर नफाल्न सुझाव दिनुभयो ।

उक्त अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा आफ्नो मनोनयन दर्ता गराउनु भएका धवल शम्शेर राणा (पूर्व मेयर, नेपालगन्ज उप महानगरपालिका) ले पनि सत्गुरुप्रति आफ्नो भाव व्यक्त गरेका थिए ।

कार्यक्रममा सन्त निरंकारी आदर्श विद्या मन्दिरका पूर्व अध्यक्ष बल बहादुर रावल, नेपालगन्ज भवनका मुखी शिव प्रसाद गोदिया, गायक ईन्द्र सिंह, तेज बहादुर बोहरा, नीलम, सरिता, बबिता, कविता, मनोज, धन बहादुर, सन्दीप, दीपमाला, सुशील, शालु, सपना, राघव, राजेश, दिल बहादुर, श्याम भारती, भरत किशोर, मुस्कान, पंकज, संजयले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन राहुल कश्यपले गर्नु भएको थियो ।

बिज्ञापन