राजनीति

मलाई हटाउन खोजेका प्रचण्ड–माधवलाई उनीहरुकै औकातमा फर्काइ दिएँ : ओली

बिज्ञापन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउनका लागि प्रचण्ड–माधवलाई बहुमत दिएर पार्टी एकता गर्दा उल्टै आफैलाई हटाउन खोजेपछि उनीहरूलाई औकातमा फर्काइ दिएको बताएका छन् ।

एमाले निकट स्वास्थ्यकर्मी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ४ सिट पनि ल्याउन नसक्ने प्रचण्डलाई ५४ सिटको पार्टी बनाई दिंदा उल्टै माधव नेपाल जस्ता कुण्ठाग्रस्त मान्छेहरूलाई बोकेर आफूमाथि झम्टिएको आरोप लगाए ।

ओलीले भने, ‘देश बनाउनका लागि भनेर प्रचण्ड माधवलाई बहुमत दिएँ तर उल्टै मलाई हटाउन त्यो बहुमतको दुरुपयोग गरे । मैले वरदान दिएँ तर मेरै टाउकोमा हात राख्ने भष्मासुर प्रवृत्ति देखाए । माधव नेपाल २३ सिट ल्याउने हुती भएको मान्छे हुन् ? पार्टीभित्रको कुरा हो भनेर खुरुखुरु दिइयो तर एमालेलाई दिएको भोट बेचेर हिंडे । माधव नेपालले अब तीन सिट ल्याएर देखाउन् ।’

मन्त्री खानका लागि एमालेको भोट बेचेर केही मोटा मोटा थलथले ज्यान भएकाहरू खुरुरु दौडेर भित्तातिर हिंडेको भन्दै ओलीले प्रेम आले र किसान श्रेष्ठहरूप्रति समेत व्यङ्ग्य गरेका छन् । ओलीले बारको चुनावको परिणाम पूर्व निर्धारित नै रहेको भन्दै जनताको जनमत वैशाख ३० पछि मात्र प्रकट हुने बताए ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन