आस्था /आध्यात्म

ओशो तपोवन पुगेर सीके राउतले लिए ‘सन्न्यास’

बिज्ञापन

जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउत काठमाडौंको ओशो तपोवन आश्रम पुगेर ‘सन्न्यास’ लिएका छन् । तपोवनका संस्थापक स्वामी आनन्द अरुणले मन्त्र प्रदान गर्दै उनलाई ‘सन्न्यासी’ बनाएका हुन् ।

डा. राउत एक साताअघि ओशो तपोवन पुगेका थिए । सात दिनसम्म ध्यानमा बसेपछि उनी सन्न्यासका लागि योग्य बनेका हुन् । यस सम्प्रदायभित्र संन्न्यासलाई समाजबाट स्वतन्त्र हुनु भन्ने बुझिन्छ । ‘स’ ले समाजलाई र ‘न्यास’ ले स्वतन्त्रतालाई जनाउँछ । यद्यपि, सन्न्यास लिएकाहरुले घरपरिवार छोडेर बस्नुपर्दैन ।

ओशो तपोवनमा ध्यान बस्नेहरुमध्ये थोरैले मात्रै संन्न्यास प्राप्त गर्ने गरेका छन् । ध्यानका माध्यमबाट आफ्नो विचारलाई नियन्त्रण गर्न सक्ने, सही आचरणमा बस्न सक्ने तथा सांसारिक सुखबाट मुक्त रहन सक्नेहरु सन्न्यासका लागि योग्य ठहरिन्छन् । यही योग्यता प्रस्तुत गरेर डा. राउत सन्न्यासी बनेका हुन् ।

सन्न्यास लिनेहरुलाई स्वामी आनन्द अरुणले विशेष प्रकारको ओशोको तस्वीर अंकित लकेटसहितको माला र नयाँ नामसमेत प्रदान गर्छन् । क्रममा आनन्द अरुणले अनुयायीहरुलाई सन्न्यासी बनाउने क्रममा निधार र छातीमा हात राख्ने गर्छन् । त्यस क्रममा खासगरी महिला अनुयायीहरु ग्वाँ ग्वाँ रोएको देख्ने गरिन्छ ।

बिज्ञापन

सन्न्यासपछि पाएको माला आजीवन गलाबाट निकाल्न नमिल्ने बताइन्छ । महिलाको हकमा भने महिनाबारी भएका बखत माला फुकालेर राख्नुपर्छ ।

सन्न्यास प्राप्त गर्नेहरुलाई ओशोका अनुयायीहरुले अत्यधिक सम्मान गर्छन् । उनीहरुले आफ्नो नामअघि स्वामी लेख्न सक्छन् भने प्रायः सेतो र गेरुवा वस्त्र लगाउने गर्छन् । डा. राउतले पनि आफ्नो नयाँ नामअघि स्वामी लेख्न सक्नेछन् ।

ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणबाट अध्यक्ष राउतले सन्न्यास लिएका हुन् । एक साता अगाडिदेखि तपोवनमा रहेका उनी सन्न्यास लिएपछि माला र नयाँ नाम प्राप्त गरेको बताइएको छ ।

डा. राउतले लामो प्रतीक्षापश्चात गुरुजीको सानिध्यता प्राप्त गर्ने अवसर पाएको उल्लेख गरेका छन् । आश्रममा बस्दा धेरै कुरा जान्ने अवसर पाएको भन्दै उनले खुशी व्यक्त गरेका छन् ।

‘गुरुको सानिध्य नै सबभन्दा ठूलो कुरा हो’, उनले भनेका छन्, ‘मलाई धेरै बोल्न मन लाग्दैन । यहाँ धेरै बसौं र सुनौं जस्तो लाग्छ । व्यक्तिगत रुपमा केही भन्नुपर्ने शब्द पनि छैन ।’

बिज्ञापन
बिज्ञापन