अर्थ

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ? 

बिज्ञापन

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ।

बिज्ञापन

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो। 

चिनियाँ अर्थतन्त्र क्रमिक रूपमा घट्दै गइरहेकोले यसको असर ऊर्जाको मागमा पर्ने अपेक्षाले पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आइरहेको छ। 

अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल (१५९ लिटर) कच्चा तेलको मूल्य (ब्रेन्ट क्रुड आयल) ९५ डलरमा कारोबार भइरहेको छ। 

गत वर्ष फागुन २४ मा कच्चा तेलको मूल्य हालसम्मकै उच्च, प्रतिब्यारेल १२३ डलरभन्दा धेरै थियो। त्यो बेलाको भाउभन्दा अहिले करिब २८ डलर कम भइसकेको छ।

यसैअनुसार आइओसीले मंगलबार नेपाललाई नयाँ मूल्य पठाएको छ। नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ ९० पैसा र डिजेलमा ४ रूपैयाँ ७५ पैसा घटाएर पठाएको छ।

विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपाल आयल निगमलाई तीन पटकसम्म मूल्य घटाएर पठाइसकेको छ। 

पहिलो पटक असार ३२ गते आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको थियो। 

त्यस्तै, दोस्रो पटक साउन १६ गते  प्राप्त मूल्य सूचीअनुसार डिजेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ।
 
यी दुवै पटक निगमले उपभोक्ताको लागि मूल्य घटाएको छैन। यो पटक पनि  नेपाली बजारमा घटाउने बारे कुनै छलफल नभएको निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन्। 

निगमको घाटा बाँकी नै रहेकाले भाउ कम गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ।

‘हाम्रो पहिलेको घाटा यथावत छ,’ प्रवक्ता उपाध्यायले भने, ‘घटेको मूल्यअनुसार अहिले मूल्य समायोजन गर्न सक्ने अवस्था छैन।’

उनका अनुसार हाल निगमले आइओसीलाई साढे १४ अर्ब भारू तिर्न बाँकी छ। भारतीय दूतावासले सरकारलाई पेट्रोलियम पदार्थको पैसा तिर्न ताकेता गरिरहेको निगमले बताएको छ। 

अहिले मूल्य घटेर आउँदा पनि मासिक ६५ करोड रूपैयाँ घाटा भएको निगमले जनाएको छ। एकातिर तिर्नुपर्ने ऋण, अर्कोतिर घाटा पनि निरन्तर रहेकाले तत्काल मूल्य कम गर्न नसकिने निगमको भनाइ छ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल किन्दैन। आइओसीबाटै आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ किन्दै आएको छ। 

यसरी पेट्रोलियम किनेबापत आइओसीले हरेक महिना पन्ध्र/पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउने गर्छ। सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य तोक्छ।

आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।

बिज्ञापन