अर्थ

सरकारले पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन गर्छ– मन्त्री बडू

बिज्ञापन

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले आमउपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन् ।
मन्त्री निवास पुल्चोकमा पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न संघसंगठनका प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री बडूले सो कुरा बताएका हुन् ।

बिज्ञापन

विश्वभर पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएको संकटको असर नेपालमा समेत परेको भन्दै मन्त्री बडूले वैज्ञानिक व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताए ।

पेट्रोलियम तथा ढुवानी व्यवसायीको मागका सम्बन्धमा सरकार सकारात्मक भएको भन्दै उनले पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान हुनेमा उपभोक्तालाई आश्वस्त पार्नुपर्ने बताए ।

नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम ढुवानी महासंघ र पेट्रोलियम पदार्थ डिलर्स एशोसिएसनका प्रतिनिधिहरूले पछिल्लो समय देखिएका समस्या र समस्या समाधानका लागि मन्त्रीलाई संयुक्त रूपमा ध्यानाकर्षण गराएका थिए ।

पछिल्लो समय इन्डियल आयल कर्पोरेसन (आईएसपी) बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको छ ।

निगमले उपभोक्ता मूल्य बढाएर व्यवसायीलाई दिइने कमिसन नबढाएको भन्दै व्यवसायीहरू आन्दोलित भएका थिए ।

बिज्ञापन