राजनीति

प्रकाश सपूतको गीतले माओवादीमा हलचल

बिज्ञापन

काठमाडौं । तत्कालीन नेकपा माओवादीको नेतृत्वमा १० वर्ष लामो सशस्त्र युद्ध भयो । जसको बलमा मुलुकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीलगायतका ऐतिहासिक परिवर्तन भए । तर व्यवस्था बदलिएपनि परिवर्तनका लागि लड्ने योद्धाहरु र आमनागरिकको अवस्थामा भने सुधार आउन नसकेको आशयसहित ‘पिर’ नाम गीतको म्युजिक भिडियो गायक प्रकाश सपूतले शुक्रबार सार्वजनिक गरे । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै नेकपा माओवादी केन्द्रमा हलचल पैदा भएको छ । माओवादीका नेता कार्यकर्ता गीतमा समावेश भएको दृश्यलाई लिएर सपूतमाथि खनिएका छन् ।

बिज्ञापन

माओवादी र माओवादीप्रतिमा आस्था राख्नेहरुले गीतको भिडियोमा तत्कालीन महिला जनमुक्ति सेना यौनकर्ममा लाग्न बाध्य भएको चित्रण गरिएको भन्दै आपत्ति जनाएका हुन् । उनीहरुले सो भिडियो युट्युबबाट हटाउन सपूतलाई चेतावनी नै दिएका छन् ।

यो गीतका विषयमा अहिले सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस चर्किएको छ । गीतको म्युजिक भिडियोको सुरुमै जनयुद्धका एक घाइते पुरुष योद्धा आफ्नो पारिवारिक जीविका चलाउन काठमाडौंमा मासु पसल चलाउँदै आएको देखाइएको छ । तर, उनको आर्थिक अवस्था राम्रो हुन सकेको छैन । उनको मासु पसल खासै चल्दैन । आम्दानी नहुने हुँदा कोठामा उनको श्रीमतीसँग ठाकठुक पर्छ । उनलाई राम्रो आम्दानी हुने भन्दै विदेश जान सल्लाह जनयुद्धकै घाइते जीवनसंगिनीले दिन्छिन् । तर उनी ‘मर्न परे आफ्नै देशमा मर्ने’ भन्दै विदेश जान तयार नभएपछि श्रीमती नै विदेश जाने निर्णयमा पुग्छिन् । सोही निर्णयअनुसार पासपोर्ट बनाएर उनी विदेशिन्छिन् ।

श्रीमती विदेशिएपछि उनी छोरीसँगै काठमाडौंमा बस्छन् भने तीन महिनासम्म श्रीमतीसँग सम्पर्क हुँदैन । साथीको लहलहैमा लागेर उनी यौनकर्मीकहाँ यौन प्यास मेट्न पुग्छन् । तर घटनाले फरक मोड लिन्छ । अर्थात ती यौनकर्मी महिला अरु कोही नभएर जनयुद्धमा सँगै लडेकी महिला जनमुक्ति सेना थिइन् । उनी बाध्यताले यो पेशामा थिइन् । उतिबेलाकी जनमुक्ति सेना अहिले यस्तो अवस्थामा देखेपछि उनी छाँगाबाट खसेजस्तै हुन्छन् ।

जनयुद्धकै क्रममा श्रीमती विदेश पठाएका युवकको बिहे भएको थियो भने त्यतिबेला भिडियोमा चित्रण गरिएकी यौनकर्मी महिला जनयुद्धका सशक्त योद्धा थिइन् । जतिबेला उनलाई पनि भिडन्तमा गोली लागेका थियो । तर ती जनमुक्ति सेना जस्ता जनयुद्धका होमिएका कयौँ महिलाको शान्तिप्रक्रियामा आएपछि अवस्था दयनीय रहेको भन्ने सन्देश सपूतको गीतमा दिन खोजिएको छ । सपूतको गीतमा प्रयोग भएको सोही दृश्य यतिबेला आलोचनाको विषय बनेको हो ।
यसो त समस्यामा पर्दा उच्च ओहोदामा रहेका तत्कालीन जनयुद्धकै नेताहरुले योद्धाहरुको पीडा नसुनेको सन्देश पनि गीतमा दिइएको छ ।

एउटै घटना कोहीलाई फाइदा कोहीलाई भयो हानी
कतै पर्यो आत्मसम्मान कतै स्वाभिमानी
तिम्रो मयाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाती चिर्दियो….’

जनयुद्धका सीमित टाठाबाठाचाहिँ सहकर्मीचाहिँ उच्च तहमा पुगेको भिडियोमा चित्रण गरिएको छ । उनले भिडियोमार्फत जनयुद्धमार्फत केहीको जीवनस्तरमा परिवर्तन भएपनि योद्धा र जनताको जीवनस्तरमा परिवर्तन नभएको सन्देश दिन खोजेका हुनुपर्छ । भलै महिला योद्धाको चरित्रको विषयलाई लिएर विवाद भइसकेकाले यसको जवाफ भने सपूतले दिनुपर्ने भएको छ ।
पुर्वजनमुक्ति सेनाकी पूर्वकमाण्डर कमला रोकाले जनमुक्ति सेनामा ऐतिहासिक बलिदान, त्याग र सौर्य प्रदर्शन गरेका हजारौं महिलाको अपमान प्रकाश सपूतको गीतले गरेको बताइन् । नेपाली समाजमा व्याप्त शोषण, दमन, अत्याचार र उत्पीडनविरुद्ध सुरु भएको जनयुद्धमा ४० प्रतिशत बढी महिलाहरुको संघर्षपूर्ण योगदान रहेको बताउँदै उनले सपूतको गीतले भने जनयुद्धका उपलब्धिलाई पुरै उपेक्षा गरेर अंशलाई नै सत्य बनाएर भ्रम छर्न खोजेको आरोप लगाइन् ।

यसैगरी अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहलगायतका धेरै माओवादी नेता कार्यकर्ताले भिडियोमा समावेश भएको जनयुद्धका योद्धाको चरित्रमाथिको दृश्य हटाउन माग गरेका छन् ।
अर्को समूहले भने परिवर्तनको आन्दोलन हाँकेको माओवादी पछिल्लो समय स्खलित भएको बताउँदै त्यही आन्दोलनमा होमिएकाहरुको विल्लिबाठ भएको अवस्थामा सपूतले भिडियो कलात्मक ढंगले निर्माण गरेको टिप्पणी गरेका छन् । सपूतको गीतमाथि विवाद चर्किँदै गर्दा उनको ‘पिर’ बोलको गीत नम्बर १ ट्रेन्डिङमा रहेको छ ।

सामाजिक विषयवस्तुमा गीत बनाउने सपूतका पछिल्ला गीतहरु हिट हुँदै आएका छन् । यद्यपि उनी विवादमा आएको पहिलो पटक भने होइन । यसअघि उनीमाथि ‘गलबन्दी’ बोलको गीत चोरीको आरोपै लागेको थियो भने त्यसलाई स्वीकार्न बाध्य पनि भएका थिए ।

कलाकारहरु गीतकै विषयमा लिएर विवादमा आएको उनी एक्लो पनि होइनन् । गायक पशुपति शर्मा पनि यस्तै गीतका कारण विवादमा तानिएका थिए । ‘लुट्न सके लुट’ बोलको गीतमा शर्माले नेताहरुमाथि आक्षेप लगाएपछि उनले गीत नै युट्युबबाट हटाएका थिए । गीतको भाका, अश्लिल शब्दलगायतका कारणले आलोचना र विवादका उदाहरण त झन् धेरै छन् ।

बिज्ञापन