लेख

पुष्पलाल र भारतस्थित सांस्कृतिक पक्ष

बिज्ञापन

–रामप्रसाद पराजुली ‘पाल्पाली’

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा आइपुग्दा एकातिर उहाँप्रति अगाध सम्मान सहितको शब्द–श्रद्धा जागृत हुन्छ भने अर्कोतिर प्रवासी नेपाली आन्दोलनको गर्विलो विरासत र भविष्यबारे विभिन्न कोण र जोडबाट भाष्य विकास हुन्छ ।
पुष्पलाल श्रेष्ठको प्रमुख नेतृत्वमा भारतको कलकत्तामा नेकपाको स्थापना भएको थियो । गरिखान भारतस्थित छरिएर रहेका नेपाली समुदायमाझ राजनीतिक कारणले निर्वासित नेतृत्वको बाक्लो–पातलो भेटघाट, विषयगत भलाकुसारी, नेपाली परम्परा र संस्कारसंस्कृतिअनुरूपका जमघट, समूहबद्ध अध्ययन, चिन्तनमन्थन, बिचारविमर्श क्रमशः भारतभरि फैलिँदै गयो । प्रवासी नेपाली आन्दोलनको संगठित स्वरूप विकासको प्रारम्भिक आधारशीला नै यो हो ।
७५ वर्षअघिको नेकपा निर्माणकालको त्यो बेलादेखि अहिलेसम्मको अवस्था र यसको ऐतिहासिक पृष्ठभूमिको विषयमाथि धेरै लेखरचनाहरू प्रकाशित भएको छन् । उपल्लो तहको नेतृत्वबाट कैयौं विषयोपर प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छन् । मेरो यो लेखनमा विषय प्रसङ्ग र सन्दर्भ अलिकति फरक पर्न सक्छ ।
अविराम राजनीतिक लडाइँ लडेका कारण प्रवासी नेपाली आन्दोलनको अन्तरसम्बन्ध राजनीतिक आँखाले मात्र हेर्नु र निष्कर्ष निकाल्नु स्वभाविक हो । तर वस्तुस्थिति यत्तिमात्र होइन । अर्थात् यतिमात्र सीमित गरेर बुझ्नुहुन्न । न्याय नपाए गोर्खा जानु, विद्या नपाए काशी भनेजस्ता लोकोक्तिले पनि नेपालीको भारत आवागमनलाई धेरै पहिल्यैदेखि जोडेको देखिन्छ । स्वयं गौतम बुद्धले ज्ञानआर्जनको थलो कुशीनगर, गयालाई बनाउनुले पनि अर्को महत्व उघ्रन्छ । यसर्थ, एउटा मात्र राजनीतिक अभियानको पक्षबाट प्रवासी नेपाली आन्दोलनलाई बुझियो भने आन्दोलन अध्ययनको पक्ष पूरा हुन सक्दैन । भारत प्रवासस्थित प्रवासी नेपाली संघमा संगठित नेता कार्यकर्ताहरू, सिद्धहस्त साहित्यकारहरू, नाट्यकारहरू, सिर्जनशील स्रष्टाहरू, कलाकारहरूको समेत ध्यानाकर्षण भएको अवस्थामा यो पूर्ण रूपमा अभिलेखिकरण गर्न सकिन्छ भन्ने लाग्दछ ।

सांस्कृतिक गतिविधि
भारतस्थित नेपाली समुदायमा भाषिक सम्बन्ध अविराम छ । भाषिक सम्बन्ध भनेको मूलतः समुदायमाझको सांस्कृतिक सम्बन्ध पनि हो । प्रवासी नेपालीहरूको सांस्कृतिक गतिविधिले भाषिकमाझ जोड्ने काम गरेको छ । यसले एउटा परिस्कृत सांस्कृतिक सम्बन्ध विकास गरेको छ ।  
राजनीतिक लडाइँको सहयोगी बनेको प्रवासी नेपाली आन्दोलनका बारेमा अध्ययन भइरहँदा यसले नेपाली समुदायमा पारेको प्रभावको बारेमा, नेपालको राजनीतिक परिवर्तनमा लोककला र जनवादी गीत–साहित्यमा आधारित सांस्कृतिक गतिविधिले छाडेको प्रभाब तथा समकालीन कलाकार र साहित्यकारहरूको योगदानका बारेमा यथेष्ट खोजिनीति हुन जरूरी छ ।
मानिस समय र परिस्थितिअनुसार आफूलाई चलाउन विवश छ । आफू जन्मेको, हुर्केको, खेलेको ठाउँबाट सुःख समृद्धिको तथा रोजगारीको सिलसिलामा देशबाहिर बिदेशमा प्रवासिएका छन् । यो प्रवासिएका नेपालीहरूको संख्या हाम्रो छिमेकी मुलुक भारतमा असाध्यै धेरै रहेको छ । नेपालको नागरिकहरू हरेक घरधुरीबाट कमसेकम एकजना अनिवार्य प्रवासिएको अनुभूति हुन्छ ।
नेपालीहरू भारतमा कहिलेदेखि आउन सुरू गरेको थिए ? यकिन भन्न सकिँदैन । कहिलेदेखि र कसरी बसोबास गर्दै आइरहेका थिए ? ठ्याक्कै भन्न सकिने अवस्था छैन । यसको पृष्ठभूमि बोधगम्य छ । यो ऐतिहासिक पृष्ठभूमिमा आधारित छ । यद्यपि, यो पृष्ठभूमि आधारित भएर लेखिएको दस्तावेजहरू धेरै भेटिन्छन् । उनीहरूको जीवनस्तर समग्र परिस्थितिमा तथा समसामयिक समस्यालाई सम्बोधन गर्दै छलफल गरिएका बिचारहरू पनि कतिपय दस्तावेजहरूमा लेखिएको पाइन्छ । परन्तु, भारत प्रवासमा रहेका प्रवासी नेपालीहरूको सांस्कृतिक गतिविधिहरूको बारेमा र समग्रमा जनस्तरमा सम्बन्धसेतुको काम गर्ने सांस्कृतिक आन्दोलनको बिषयहरूमा नेपालको लोकतान्त्रिक रूपान्तरण, सामाजिक र राजनीतिक रूपान्तरणमा भारत प्रवासको उभिएको कलाकारहरू, मोर्चाबद्ध भूमिकामा रहेको सांस्कृतिक समुहहरूको भूमिकामा धेरै केही लेखिएको देखिँदैन, या त छैन । शोध, खोज र अनुसन्धान गर्नुपर्ने यो क्षेत्रमा धेरै राम्रोसँग बहस, बृहत अध्ययन र अनुसन्धानको आवश्यकता रहेको छ भन्ने लाग्छ ।

संस्थागत उपस्थिति
हाम्रो प्रवासी नेपाली संघलगायत अन्य संगठनहरूले यो विषयमाथि कहिलेकाहिँ आफ्ना सम्मेलन र अधिवेशनहरूमा उल्लेख गरिएको पाइए पनि त्यो पूर्ण भने छैन । सांस्कृतिक महत्त्वका विषयमा लेख्ने र दस्तावेजीकरण गर्ने काम थालनी भएको पाइँदैन ।
कला, साहित्य र संस्कृतिको क्षेत्र व्यापक हुँदाहुँदै पनि हामीहरूले यस क्षेत्रमा योगदान गर्ने हाम्रा तमाम सांस्कृतिक समुहहरूलाई पेशेवर, आत्मनिर्भर र सम्मानित तुल्याउन सकेका छैनौं । जीविकोपार्जनको हकमा उभ्याउन सकेको छैनौं । आवश्यक स्रोतसाधन जुटाउने, संस्थागत गर्ने र सांस्कृतिक अभियानलाई बलियो बनाउने प्रयासलाई सार्थक बनाउन सकेका छैनौं । राजनीतिक लडाइँमा उनिएका र दृढ मनका साथ उभिएका हाम्रासामु यो हाम्रो कमजोरीहरू थियो । राजनीतिक लडाइँ जितेको वर्तमानमा सक्रिय हाम्रा लागि यसतर्फ काम गर्न अहिले अनुकूल समय हो । यसबारे गृहकार्य आरम्भ विलम्ब भइसकेको छ । साधनस्रात पहिचान र परिचालनको अभावमा क्रियाशील हामीले हाम्रा गौरवपूर्ण विगतप्रति राज्यको ध्यानाकर्षण गराउन सक्नुपर्छ । हामीसित रहेको अत्यन्त होनहार, लगनशील, नैतिकवान, अनुशासित, गुणस्तरीय कला र सिर्जनाले भरिएको योग्यता–क्षमता सम्पन्न पंक्तिलाई संरक्षण र समयानुकूल परिचालन गर्न सक्नुपर्छ । हिजो हामीसँग यी कलाकारहरू थिए, र त हामी सक्रिय थियौँ, हाम्रोतर्फ मानिसको ध्यान खिचिँएको थियो भन्ने हेक्का हामीलाई हुनु जरूरी छ । बिर्सनु हुँदैन– जसरी हिजो कला र साहित्यिक संस्कृतिको प्रभावले जनताको आकर्षणता आफूतिर खिच्न र आन्दोलनमा यो शक्तिसञ्चय गर्न सकेको थियौँ, आज पनि कला र संस्कृतिको अनिवार्य परिचालनमार्फत जनघनत्व जुटाउने काम गर्नु आवश्यक छ । कला र संस्कृतिले पूर्ण पंक्तिलाई मात्र हाम्रो प्रशिक्षणात्मक भाषणहरू सुनाउने र संगठनको संरचना निर्माण तथा विकास सँगसँगै सबैलाई जोड्ने काम गर्न सकिन्छ ।
संगठन निर्माण र परिचालनका दौरान प्राप्त अनुभवले कलाकार भाइबहिनीहरूको त्याग, समर्पण, लगनशील र अथाह योगदानलाई थोरै विमर्श सहित चर्चा बटुल्नु मनासिव हुन्छ । जनस्वीकार्य कला, साहित्य, संस्कृतिको विविध पक्ष र विराट रूपहरूमाथि जताबाट जति चर्चा गरेपनि अपुरो अधुरो रहन्छन भन्ने मान्यतामा म दृढ छु । एउटा सचेत पाठकका रूपमा तपाईको विवेचना र दृष्टिकोण यो आलेखमाथि पर्दा यो सामग्री अझ खदिँलो बन्ने विश्वास समेत लिएको छु ।

बिज्ञापन

प्रारम्भिक दिनहरू
इतिहासका प्रारम्भिक दिनहरूलाई खोतल्दा भारत प्रवासमा नेपालीहरूको आगमन सँगसँगै आफ्नो ठाउँमा आफ्नो साझा संस्कृति जस्तै सत्यनारायण कथा आयोजन गर्ने, स्वस्थानी व्रतकथा सुन्ने सुनाउने, बडादशैं तिहार तिज पर्वहरू साझा महत्त्वका साथ मान्ने मनाउने, देउसी–भैलो खेलेर रमाइलो गर्ने, भजन, कीर्तन, झ्याउरे नाच, मारूनी नाच, वाद्ययन्त्रहरू जस्तै मादल, मुरली, हारमोनियम, खैंजडी आदि बजाउँदै श्लोकमा स्वरहाल्दै रामायण र महाभारतका कथाहरू संगीतमय लय र तालमा रमाउने गरेका थिए । सस्याना समुहमा जहाँ जस्तो अवस्थामा रहेका भए पनि आफ्नो समृद्ध नेपाली सांस्कृतिक विरासतको जगेर्ना गरेर बसेका थिए नेपालीहरू । यसले उभ्याएको र टिकाएको जग दह्रो र बलियो पनि थियो, सांस्कृतिक सहचारीयुक्त थियो ।
भारतको ऐतिहासिक सांस्कृतिक धरोहरका रूपमा प्रख्यात पौराणिक शहर काशी विश्वनाथ मन्दिर रहेको बनारसमा नेपालबाट अध्ययन गर्न आउने विद्यार्थीहरूको बाक्लो उपस्थिति, तत्कालीन अवस्थामा नेपाली राष्ट्रिय राजनीतिक दलका नेतृत्व तथा दलहरूको समेत केन्द्र भागमा रहेको थियो बनारस । त्यसैले कमरेड पुष्पलाल श्रेष्ठ, मोदनाथ प्रश्रित, मनमोहन अधिकारी, तुल्सीलाल आमत्य, कवि युद्धप्रसाद मिश्रलगायतका दर्जनौं नेताहरूको सानिध्य र सामिप्यता नेपाली विद्यार्थीहरूमा परेको थियो । यहाँ अध्ययन गर्ने विद्यार्थीहरूबाट राजनीतिक कामको महत्त्वका साथसाथै कला, साहित्य र संस्कृतिको क्षेत्रमा पनि क्रियाशील रहेको पुष्टि हुन्छ । यसले आन्दोलन निर्माणको क्षेत्रमा पनि बिचार र सिर्जना दुबै हिसावले योगदान गरेको देखिन्छ ।
नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको राजनीतिक यात्रा पनि सांस्कृतिक अभियानसँगै बनारसमा आयोजना गरिएको साहित्यिक कार्यक्रममार्फत अघि बढेको बुझिन्छ । बृहत्त साहित्यिक संगोष्टिमा कविता बाचनबाट शुरू भएको उहाँको जल्दोबल्दो प्रतिभाप्रति मोहित भएको कुरा स्वयं मोदनाथ प्रश्रितलबाट हामीले पटकपटक सुनेका छौँ । प्रश्रित कमरेडकै भाषामा कमरेड मदन भण्डारीको त्यो बिलक्षण प्रतिभा एउटा ओज र क्रेजले भरिएको व्यक्तित्वको उपस्थितिका रूपमा थियो । काव्यमा शब्दको प्रयोग, प्रयुक्त शब्द चयन र कलात्मक रचनावाचनबाट समकालीन राजनीतिक अग्रजहरू र प्रगतिशील स्रष्टा, लेखक साहित्यकारहरू प्रभावित भएको कमरेड प्रश्रित अहिले पनि बताउनुहुन्छ ।
यसरी हेर्दा– गरिखान भारतस्थित बाँचेका नेपालीको माधुर्य कला, साहित्य र संस्कृतिको मनमोहक गतिविधिले नेपालको राजनीतिक आन्दोलनमा सहभागिता सहितको महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रष्ट हुन्छ ।
भारतमा पहिलो सामुदायिक सामाजिक संगठन प्रवासी नेपाली कल्याणकारी संघ ५ मई १९६६ मा एकदेव आलेको नेतृत्वमा स्थापित भएको थियो । त्यो समयमा केही कलाकारहरू, साहित्य र संस्कृतिप्रेमीहरू सामाजिक संस्थाको ब्यानरमुनि रहेर संगठित रूपमा एकताबद्ध हुँदै कला, साहित्य र संस्कृतिको क्षेत्रमा काम गर्ने गरेको पाइएको थियो । खासगरी भारतको पूर्वोत्तर क्षेत्रमा आसाम, कलकत्ता, बनारस, सिलोङ, मेघालय आदि भूगोलमा सांगठनिक गतिविधिको साथसाथै कला, साहित्य र संस्कृतिको जगेर्नामा धेरै रूचि गतिविधिहरू भएको थियो । तत्कालीन नेकपा निर्माणकाल र पछिल्लो समयमा विभाजित बामपन्थी समुहको विभिन्न धाराहरू तथा नेपाली काँग्रेससित सम्बन्धित संघसंस्थाहरूले पनि कला, साहित्य र संस्कृतिको जगेर्ना गर्न भारत प्रवासमा योगदान गर्न सफल भएका थिए र छन् ।
सामाजिक जीवनमा तरंग ल्याउने यो गतिविधि अहिले कहाँ पुग्यो ? कहाँ छ ? एकातिर यसलाई खोज्नुपर्छ भने अर्कोतिर यसलाई भारत प्रवासको साहित्यिक, सांस्कृतिक र सांगीतिक पूंजीको रूपमा सम्पन्न गतिविधि र सबैखाले यात्राहरूलाई सूत्रबद्द संग्रह सहित दस्तावेजीकरण गर्न सकिन्छ र गर्नुपर्छ ।
भारत प्रवासमा नेपाली समुदायको सेवा, सहयोग, सुरक्षा, सुःख, शान्ति र समृद्धिको निमित्त काम गरिरहनुको शक्तिले समाजमा मनोरञ्जन प्रदान गर्ने र नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा सहभागिता सुनिश्चित गर्ने गराउने विषयलाई कम आँक्नु हुँदैन । राजनीतिक र गैरराजनीतिक संगठनको विकास गर्न गराउँन कलाकार साथीहरूले खेल्नुभएको भूमिका र पारस्पारिक सम्बन्ध सुदृढको पक्षमा देखाइरहनुभएको सद्भाव एवम् सहिष्णुवत् मनोविज्ञानमा आधारित सांस्कृतिक कार्यक्रम, साहित्यिक कार्यक्रम, नृत्य, कला, गायन आदिको क्षेत्रलाई नामेट गर्नु हुँदैन बरू आलेखीकरण गर्नुपर्छ, लिपीबद्ध गर्नुपर्छ । अहिले बेलाछँदै यसो गर्न सकियो भने समयक्रम सँगसँगै जाग्दो र विकासवान् नयाँ पुस्तामाझ राजनीतिक लडाइँमा सर्वस्व खर्चिएको सिनियर पुस्ताले गर्विलो विरासतको रूपमा छाडेको मानवविकासको परिस्कृत सांस्कृतिक–सभ्यतायुक्त यो सम्पत्तिलाई उपहारस्परूप नवीन सोच र चेतनाका धनी नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ ।
विभिन्न शीर्षक र विधाअन्तर्गत क्रियाशील कला, साहित्य र सिर्जनाले भरिएको संगीतकारहरूको भूमिका महत्त्वपूर्ण र अतुलनीय रहेको थियो र अहिलेसम्म पनि जारी छ ।
संलग्न राजनीतिक संगठनको निर्देशअनुरूप प्रत्येक वर्ष तिहारमा देउसीभैलो आयोजना गर्ने, आ–आफ्नो निर्धारित भौगोलिक कार्यक्षेत्रभित्र बसोबासरत प्रवासी नेपालीहरूको घर, आँगन र डेरामा पुगेर देशभक्ति जगाउने, प्रगतिशील गीतहरू गाएर प्रवासमा जागरणको पराकम्पन सिर्जना गर्ने, कतिपय बेलामा अकल्पनीय घटनामा परेर दुःखकष्ट पाइरहेका बिषयहरूमाथि भट्याउने गरिएको थियो । यसले पनि परस्पर दुःखसुख बाँडचुड गर्ने आधार तयार गरेको थियो । एकातिर यसबाट नेपाली संस्कार संस्कृतिमाथि अन्तरघुलन बढ्थ्यो भने अर्कोतिर संगठनको संगनात्मक कामका आधारमा यसको व्यापक स्तरमा प्रचारप्रसार हुने गर्दथियो । मुख्य रूपमा संगठनको कोष दह्रो र बलियो बनाउन देउसीभैलो प्रभावकारी हुन्थ्यो ।
सम्झना तरोताजा छ– प्रवासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले यो खुसीलाई स्वागत र सम्मान गर्न आतुर मनका आफ्नो घर–घरमा बोलाउने र ठाउँ–ठाउँसम्म लैजाने गरिन्थ्यो । आज त्यो समयमा परिवर्तन आएको छ, व्यापक फेरबदल आएको छ । आजको अवस्थामा जस्तोसुकै सूचना पनि डिजिटल सञ्जालको माध्यममार्फत क्षणभरमै तरंगित हुने गरेको छ । यु–ट्युबलगायत मोबाइल उपकरणहरूमा देखिन र भेटिन थालेको छ । त्यो बेला रेडियोमा समेत पहुँच नपुगेको नेपालीका लागि अहिले यो विरानो हुँदै गयो, त्यो बेला स्टेशन टिप्दैन थियो । धेरैसित रेडियो पनि थिएन । क्यासेटको जमानामा पनि टेपरिकार्डर हामीहरूसित उपलब्ध थिएन । निम्नस्तरको जागिर पेशा र पारिवारिक जिम्मेवारीको चुलिएको दायित्वबोध सहित प्रवासी नेपाली संघ भारतको काममा अग्रसर भएका हामीहरू मौलिकतामा आधारित कार्यक्रम लिएर देशभक्ति जगाइरहँदाको सुखद अनुभूति भएको थियो ।

परिवर्तन र व्यवस्थापन
आज परिवर्तनले गति लिँदै गएको छ । परिवर्तनको औसत दरको तुलनामा व्यवस्थापन हुन सकेको छैन । डिजिटल दुनियाँको प्रवेश सँगसँगै आजको अवस्थामा म्युजिक भिडियोमा अभिनय सिस्टमको कारण आधुनिक रूपमा देउसीभैलो पनि सहज रूपमा खेलिने गरिन्छ । साधनहरू श्रोतको अभाव छैन । तर सिर्जनात्मक क्षमता र मौलिकतामा आधारित कार्यक्रममार्फत पस्कने गीत र संगीतमा समय कामिरहेको छ । फेरी पनि हाम्रो सांगठनिक संरचनामा सम्बद्ध प्रवासी नेपाली कलाकार र कार्यकर्ताहरूले आफ्नो मेहनत, परिश्रम र लगनशीलताले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् । समाजको सेवा र समुन्नत दर निर्माणको सहयोगमा ठूलो मात्रामा भागिदार भएको छन् । हाम्रो संगठनका विभिन्न तहको समितिहरूमा सम्मेलन र भेलाहरूमा कलाकार भाइबहिनीहरूले मेहनत र परिश्रम गरेर रातीराती रिहर्सल गर्ने र कार्यक्रमहरू प्रस्तुत गर्ने गरेका थिए । समय र परिस्थिति तथा आर्थिक अभावकाका कारण हामीहरूसित कुनै रिकार्ड भिडियो छैन । आजको अवस्थामा त कसै–कसैले रिकार्ड भिडियो सोसल मिडियामा वा फेसबुकमा राखिएको देखिएको छ । तर यसलाई अझै समृद्ध र व्यवस्थित गराउन पहल गर्न जरूरी देखिएको छ ।
त्यो समयमा माया र प्रेम गीतहरू गाउन कलाकारहरूलाई अनुमति थिएन । उनीहरूलाई देशभक्ति गराउने र जगाउने प्रगतिशील गीतहरू गाएर रमाइलो गर्दै नृत्य अभिनय गर्नुभएको थियो र गर्न अनिवार्य थियो । मलाई एउटा सन्दर्भको सम्झना आयो । मेरो कार्य क्षेत्र दक्षिण दिल्लीमा एउटा सम्मेलनमा कलाकार लक्ष्मण राईले माया प्रेमको गीत गाए भनेर स्पष्टिकरण सोधिएको थियो । उनी नयाँ–नयाँ संगठनमा संगठित भएर काम गरिरहेका थिए ।
सांस्कृतिक कार्यक्रममार्फत प्रस्तुत गरिएको अवस्थामा प्रवासी नेपालीहरूको जमघट रमाइलो र राम्रो हुने गर्दथियो । हामीहरूले सानो पर्चाहरू, पम्प्लेटहरू छपाएर प्रचारप्रसार गर्ने गरेको थियौ । अबको वस्तुस्थितिमा फेरबदल आएको छ, परिस्थितिअनुरूप चल्नुपर्छ । परिस्थितिमा आएको फेरबदलसँगै त्यो शैलीमा त्यो पुरानो शैली भएको छ । मोबाइलमार्फत नै उपलब्ध हुन सक्ने सजिलो पात्रो जस्तो कि फेसबुक, ट्वीटर, ह्वाट्सएप आयो । नेपालीहरूको विशाल उपस्थितिमा हामीहरूले भाषण र बिचारको माध्यमबाट आफ्नो धारणा र आवश्यक बिचारका सन्दर्भहरू सम्प्रेषण गरेका थियौँ । प्रवासी नेपालीहरूको आन्दोलन, सामाजिक र सामुदायिक रूपमा संगठित हुन आह्वान सहित नेपालको राजनीतिक परिवर्तनमा हामीहरू सबैको भूमिका तथा शासन प्रणालीको विषयहरूमाथि विचार, विश्लेषण र विमर्श सहित चर्चा गरिरहेका हुनथियौँ । यसबेलाका कतिपय सन्दर्भहरू झलझल्ती स्मरणमा आइरहेका छन् ।
हाम्रो अभिभावक संगठन– प्रवासी नेपाली संघ भारतको स्थापना कालदेखि फरिदाबादमा रहनुहुने दिदी मंगला गुरूङ र उहाँको योगदानको बारेमा कहिल्यै बिर्सन नसकिने गुण उहाँले लगाउनुभएको छ । दिदी मंगला गुरूङको स्वर अत्यन्तै लोकप्रिय र लय एकदमै मिठो–मसिनो थियो । हामीहरूले कहिलेकाहिँ उहाँलाई हाम्रो लतामंगेशकर भनेर सम्बोधन गर्ने गरेका थियौँ । अत्यन्तै भद्र, शालिन र सुशील महिला उहाँ । धेरै कलाकार साथीहरूले आफ्ना सम्मेलन कक्षहरूमा कार्यक्रम प्रस्तुत गरेपछि कलाकारहरूलाई राम्रो ढंगले खाना खाने व्यव्स्था भएन, गाडी भाडा थोरै भयो, अथवा माइक म्युजिक सिस्टम राम्रो भएन भन्ने र आयोजकको जिम्मेवारलाई सत्तोश्राप गरिरहेका हुन्थे । तर दिदी मंगला गुरूङबाट कहिल्यै पनि यस्तो सुनिएन, हर्दम उत्साहबाहेक निरूत्साहनको आवाज कहिल्यै गुञ्जमान भएन । अत्यन्तै अनुशासित रूपमा उभिएको सतिसाल झैँ संगठनको निम्ति उहाँ दृढ हुनुहुन्थ्यो । जहाँ र जस्तोसुकै अवस्थामा पनि आयोजित कार्यक्रमहरूमा सहभागी हुनुभएको थियो । आफ्नो पृथक लाग्ने मौलिक कला र स्वरको धनी व्यक्तित्वको रूपमा सेवा दिइरहनुभएको थियो । बहुदल आएपछि २०४८ सालको पहिलो आमनिर्वाचनमा दिल्लीको सिर्जना जनसांस्कृतिक परिवारको तर्फबाट अहिले संगठनमा निवर्तमान अध्यक्ष लोकनाथ भण्डारीको नेतृत्वमा सांस्कृतिक परिवार नेपालको लुम्बिनी प्रदेशको पाल्पा जिल्ला, अर्घाखाँची जिल्ला र गुल्मी जिल्लामा सांस्कृतिक कार्यक्रम लिएर प्रस्तुति सहित पुग्यो ।

प्रवासको संलग्नता
राजधानी दिल्लीबाट फर्शुराम पाण्डे, मंगला गुरूङ दिदी, शिवबहादुर रावल, सरस्वती देवकोटा, चुडामणि सापकोटा सहित चुनाव प्रचारप्रसार तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । उहाँले गाउनुभएको गीतहरू सैलुंगे वनमा अँधेरी रातमालगायतका कालजयी थिए । यी गीतहरूमा रेनु थापा, अनिता थापा, सरस्वती देबकोटाहरूको मनमोहन नृत्य प्रस्तुति र अभिनय रहेको थियो । यसलाई ठाउँठाउँमा मानिसले सर्वोत्तम ठहराएका थिए ।
समयक्रम सँगसँगै बढ्दो जिम्मेवारीबोध, विकसित शारीरिक आवश्यकता र घरगृहस्थ बन्धनअन्तर्गत मंगला दिदीले एकजना गढवाल मूल निवासी पात्रसँग विवाह गर्नुभएको थियो । संगठनले उहाँलाई कारबाहीको विषय बनाएको थियो । अहिले मनमा अनुत्तरित प्रश्नले घर गरेको छ– हामी संगठनमा हिडने र महिला अधिकारको निम्ति भाषणहरू सुनाउनेले यो कारबाहीको कदम चाल्नु कति उचित र कति अनुचित थियो होला ! समय निकै घर्किए पनि यसखाले विषयोपर समिक्षा गर्न जरूरी देखिन्छ ।
केही समय बितेपछि उहाँ दिल्लीमा आउनुभयो । उहाँ आफ्नो आमासित पटेल नगरमा एउटा सानो झुप्रोमा बस्नुहुन्थ्यो । दिल्लीस्थित उहाँको झुप्रोमा मैले एकपटक भेट्न गएको छु, प्रशस्तै भलाकुसारी भएको छ । दिदीले दिल्ली आइसकेपछि पनि हाम्रो संगठनको दर्जजौं कार्यक्रम र सम्मेलनहरूमा सम्मोहित तुल्याउन सक्ने कला र गलाले भरिएको कार्यक्रम दिनुभएको छ, मनोरञ्जन दिनुभएको छ, जागरण पैदा गर्ने विषयमा योगदान गर्नुभएको छ । समय बित्दै जाँदा उहाँ पेशेवार गायिका बन्नुभयो । उहाँले गढवाल र कुमाउ भाषा र भाखामा दर्जनौं गीतहरू गाउनुभएको छ, क्यासेटका रूपमा बजारमा आएको थियो ।
विडम्बना ! कारबाही गर्न सक्ने हामीले उहाँको स्वर, साधना, कला र गलाको सम्मान गर्न सकेनौँ, पूजीकृत गरेर अडियो भिडियोमा उहाँलाई संरक्षित गर्न सकेनौँ । हामी कति अग्रगामी सोचका रहेछौँ !
देशभित्र राजनीति आन्दोलन राजनीतिकसत्ता प्राप्तिमा धेरै केन्द्रीय हुनथाल्यो । फलामे अनुशासन कायम गर्नेभन्दा पनि रचनात्मक कार्यसम्पादन, विचारहरूको व्यवस्थापनमा ध्यान खिचिन थाल्यो । तथापि, हामीले प्रवासको यो बहुमूल्य रत्नयुक्त सम्पदालाई जगेर्ना गर्न , प्रतिभालाई फलाउन र फुलाउन सकेनौँ । यद्यपि, विगतको अनुभवबाट शिक्षा लिन सकिरहेका छैनौं । मंगला गुरूङ दिदी अहिले कहाँ कुन अवस्थामा हुनुहुन्छ ? सम्पर्क भएको छैन । उहाँको बुबा हुनुहुन्थेन । आमाको देहावसान भएको खबर अलिकपछि सहयोद्धा शिवबहादुर रावलबाट थाहा पाएपछि भेट्न गएको थिएँ । अहिले त हाम्रो स्रष्टा साथी रावलजी नै हामीमाझ हुनुहुन्न । उहाँ क्रियाशील रहनुभएको बेला खबर आदानप्रदान भइरहन्थ्यो । कञ्चीभर थाहा छैन– अब कहाँ र कुन अवस्थामा हुनुहुन्छ ? उमेर पनि धेरै भएको छ । उहाँको छोरा छोरी पनि थिएनन् । म उहाँलाई खोज्दै छु । भेट्न सकेको छैन ।
जनसांस्कृतिक अभियानको थालनीका दिनलाई सम्झँदा दक्षिण दिल्ली नगर समितिको व्यवस्थापनमा बजाज हाउस, नेहरू प्लेस रामसिंहजीको कोठामा भएको पहिलो भेलाको खुबै चाखलाग्दो सन्दर्भ स्मरण हुन्छ । यहाँबाट दिल्लीभित्र सांस्कृतिक परिवार बनाउन पहल गर्ने निर्णय गरेको थियौं । रामप्रसाद पराजुली, जीवनारायण कोइराला, रामसिंह भट्टराई, पिताम्वर पोखरेल सहित कलाकारहरू फर्शुराम पाण्डे मंगला रावत, लक्ष्मण राई, शिवबहालदुर रावल, फुलसिंह नेपाली, भिमसेन थापा, चुरामणि सापकोटा, चन्द्र भुसाल, रिता पन्थको समुहलाई संयोजन गरेर राज्य स्तरीय सृजना जनसांस्कृतिक परिवार गठन गरिएको थियो ।
प्रवासी नेपाली आन्दोलनको धरोहरका रूपमा उभिँदै सन् १९८२ देखि संगठनमा आबद्ध मित्र शिवबहादुर रावल राज्यको इन्द्र पुरीस्थित शिव मन्दिर नजिकै रहेर हाम्रो प्रवासी नेपाली संघ भारतको मञ्चबाट ऐतिहासिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । विगतमा नेपालमा राजनीतिक दलहरू प्रतिबन्धित रहेको अवस्थामा उहाँको डेरामा नेकपा एमालेसित सम्बन्धित नेता कार्यकर्ताहरूलाई आश्रय अर्थात् सेल्टर दिने काम हुन्थ्यो, यसको केन्द्र उहाँको निवासस्थल कोठा थियो । उहाँ सधैँभरि मृदुल, मीठो बोली र मुस्कान सहितको शालीन व्यवहारले पनि सर्वाधिक लोकप्रिय कलाकार र एकजना सुझबुझपूर्ण नेता हुनुहुन्थ्यो । मादल बजाउने विशेषज्ञ झैँ जान्ने, नृत्यमा गर्न वा सिकाउन पारंगत हुनुहुन्थ्यो । जुनि बित्यो मेरो फर्कुला घर भन्दैमा, परे मत फन्दैमा लाहुरे बन्दैमा जस्ता कालजयी गीतसंगीत र बेजोड प्रस्तुतिले तत्कालीन परिवेशलाई रौनक बनाएको थियो ।
पाल्पाली ओर्जिन भए पनि चौतर्फी लोकलयमा गाउन, बजाउन र नृत्य गर्न सिपालु उहाँ पूर्वको लयमा आधारित चरण बिग्रो घुंगारू काँडाले गाउँ बिग्रो गाउँमारा साँढेले त्यो समयको उत्कृष्ट प्रस्तुति थियो । गलामा देखिएको क्यान्सरका कारण उहाँको दुःखद देहावसान भयो । यो आन्दोलनमा उघ्रिएको एउटा जनप्रेमी कलाकार र महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको एकजना सहयात्रीलाई गुमाएका छौं ।

कला र प्रस्तुति
फर्शुराम पाण्डे गुल्मी जिल्लामा घर भएर पनि भारत प्रवासमा रहेर राजनीतिक तथा सांस्कृतिक गतिविधिहरूको लागि हमेशा क्रियाशील साथी हुनुहुन्छ । अभानेस्ववियुको व्यानरमुनि उभिएर विद्यार्थी आन्दोलनमा सक्रिय रहँदै गर्दा यसको केन्द्रीय कोषाध्यक्षको भूमिकामा रहनुभयो । राजनीतिक नेतृत्व र केही नेताहरूको पूर्वाग्रहपूर्ण व्यवहारका कारण उहाँलाई सास्ती दिने काम भयो । एक समयको पीडित उहाँ विलक्षण प्रतिभाको धनी व्यक्तित्व हुनुहुन्थ्यो । एकदमै अध्ययनशील रहेकै कारण निर्णय लिन सक्ने पात्रको रूपमा उदित उहाँलाई प्रवासी नेपाली आन्दोलनको अगुवाइ गर्नुहुने केहीले सहन सक्नुभएन, स्वीकार गर्नुभएन ।
जवाहर नेहरू विश्वविद्यालयमा अध्ययनरत प्रमोद हमाल, फर्सुराम पाण्डे, शिव रावल, चुरामणी सापकोटा, लोकनाथ भण्डारी, खडानन्द पौडेल, चन्द्र भुसाल, जीवनारायण कोइराला, फर्शुराम घिमिरे, बलराम घिमिरे, गिरीराज भण्डारी, यमबहादुर रानामगर, धनबहादुर पल्लीलगायतका साथीहरूमाझ पूननिर्मित टीमले दिन रात नभनी काम गर्दै जाँदा संगठन तथा सांस्कृतिक आन्दोलनको फैलाव गरेको थियो । यसक्रममा कलाकारहरू फुलसिंह नेपाली, भिमसेन थापा, लक्ष्मण राई, सबिता थापा, डीबी थापा, शिव राना, रूपा डिसी, गणेश दुःखी, टेकबहादुर गुरूङ, बलबहादुर थापा, बेलचन्द्र थापा, रन्जिता थापा, हुमा थापालगायत कलाकार साथीहरूले यो आन्दोलन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।
आजकल नेपालबाट कलाकारहरू बोलाएर ठूलो मात्रामा आर्थिक लगानी गर्ने र कार्यक्रमहरू सम्पन्न गर्ने काम गरिरहेका बेला हामीले बिचार गरौं त– यो भूमि त कलाकार उत्पादन गर्ने भूमि हो । हामी हाम्रै कलाकारलाई संस्थागत रूपमा प्रोत्साहन गर्न र परिचालन गर्न सक्दैनौं ?
प्रवासी नेपाली संघ भारत निर्माणको असजिलो बेलामा विभिन्न किसिमका कार्यक्रममार्फत योगदान गर्नुहुने सांस्कृतिक कलाकर्मीलाई जिवन्त सम्पर्कमा ल्याउन जरूरी छ । हामीले हेक्का राख्न जरूरी छ– हिजोको विषम र प्रतिकूल अवस्थामा अभावका रात दिन भोकै पेट नांगो खुट्टामा सांस्कृतिक गतिविधिहरूको माध्यमबाट संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकालाई तिनको मेहनत परिश्रमको उचित सम्मान, पुरस्कार, प्रशंसा सहित पुस्तान्तरण गर्न किन सकिरहेका छैनौँ । पुस्तान्तरण टड्कारो खाँचो बनेको छ ।

मूलतः मैले दिल्ली केन्द्रीत प्रवासी नेपाली आन्दोलनको प्रारम्भिककालको सन्दर्भ स्मरण गर्न चाहेको छु र चर्चा बटुलेको छु । यद्यपि, समग्र आन्दोलन निर्माण, फैलाव र विकासमा पनि भाषागत जागरण, कला–गला र साहित्यको भूमिका अतुल्य छ, सर्वथा अग्रणी छ । हाम्रो आन्दोलनको संस्थापक नेता आदरणीय लक्ष्मण रायमाझी, टी. कार्कीलगायतको पंक्ति नै कला र साहित्यको क्षेत्रमा रुचि लिने मात्र होइन, रणकौशल योग्यताका साथ निर्माण गर्न सक्ने स्रष्टा व्यक्तित्व हुनुहुन्थ्यो ।  
जिम्मेवार हामी कसैले पनि खोला तर्ने अनि लौरो बिर्सने काम गर्नुहुँदैन । राजनीतिक संगठन निर्माणपूर्व जागरणको अभियान जरूरी थियो । यो जागरणको अभियानअन्तर्गत नेपाली भाषा, कला, साहित्यादिको क्षेत्रबाट आन्दोलनमा योगदान गर्नुहुने कलाकार र स्रष्टाहरूको अथक मेहनत, लगन र विशिष्ट योगदानको पक्षसँगै विकसित त्याग र समर्पणको सम्मान गर्नुपर्छ । अभावमा त्यागको भावनासहित खटिएको, डटिएको त्यो क्षण स्मरण भइरहेको छ ।
सबैप्रति हार्दिक सम्मान अर्पण !

लेखक एवम् चिन्तक पराजुली भारतस्थित प्रवासी नेपाली आन्दोलन निर्माणकालको नेता, प्रवासी नेपाली संघ भारतको केन्द्रीय नेता र सेवानिवृत्त जीवन बिताइरहनुभएका दिल्लीस्थित सामाजिक–राजनीतिक अगुवा व्यक्तित्व हुनुहुन्छ । 

बिज्ञापन
बिज्ञापन