Sudur Pradesh News

रेशम चौधरीले निर्णय दिन नसक्दा सुदूरपश्चिममा अन्योल

बिज्ञापन

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय अब केही घण्टा मात्र बाँकी छ । तर, अझै नागरिक उन्मुक्ति पार्टीले निर्णय दिन सकेको छैन ।

प्रदेश प्रमुखले साँझ ५ बजेसम्ममा मुख्यमन्त्री दावी पेश गर्न समय दिएको हो । नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा लिएर नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।
तर, मुख्यमन्त्रीमा रावललाई समर्थन गर्ने कि नगर्ने भन्ने नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले निर्णय नदिएका कारण प्रदेशसभा सदस्यहरु मौन छन् ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले प्रदेश सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रीय नेतृत्वको निर्देशनको पर्खाइमा रहेको बताएका छन् ।

सत्ता साझेदार दलहरुबीचमा भएको सहमतिअनुसार सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई उपसभामुख दिने तयारी छ । यदि नागरिक उन्मुक्ति पार्टीले एमालेसहितको गठबन्धनलाई सहयोग गरेमा रावल आजै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।
यता डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता चौधरीले आफूलाई जेलबाट छुटाउनेबारे लिखित सम्झौता गरेर मात्र सरकारमा सहभागी हुने बताएका छन् ।

बिज्ञापन

उनले बुधबार प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लिखित सम्झौताको माग गरेका हुन् । डिल्लीबजार कारागारमा बधुबार केही सांसद र आफूनिकटका नेतासँग रेशमले उक्त कुरा बताएका हुन् ।

लिखित प्रतिबद्धता आएमा अहिलेको गठबन्धन कायम रहन्छ, नभए गठबन्धन अर्को हुने बैठकमा सहभागी एक नेताले बताएका छन् । सुदूरपश्चिममा सरकार गठनका लागि नागरिक उन्मुक्तिका ७ सांसद निर्णायक छन् ।

बिज्ञापन
बिज्ञापन