Sudur Pradesh News

महाकाली पारि भारतले विस्फोट गराउँदा वारी नेपालीको मृत्यु

बिज्ञापन

कैलाली । महाकाली पारी भारतीय पक्षले निर्माण गरिरहेको सडकका लागि जिलेटिन विस्फोट गराउँदा महाकाली वारी नेपालीको मृत्यु भएको छ ।

भारतीय पक्षले सडक निर्माणका लागि पहरा फुटाउन जिलेटिन विस्फोट गराएको थियो । त्यहाँबाट उछिट्टिएर आएको ढुङ्गाले लागेर नेपाली भूमिमा रहेका एक बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार व्याँस गाउँपालिका–२ तम्पाकुका १२ वर्षीय पवन महराको भारतीय पक्षको लापरबाहीका कारण मृत्यु भएको हो ।

भारत धार्चुलाको लखिमपुरस्थित सडक निर्माणमा संलग्न गर्ग एन्ड गर्ग कम्पनीले पहरा फुटाउन जिलेटिन विस्फोट गराएको थियो । विना जानकारी विस्फोट गराउँदा नेपाल तर्फ रहेको बालकको ज्यान गएको व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए।

बिज्ञापन

भारतीय पक्षबाट चरम लापरबाही भएको भन्दै यसको क्षतिपूर्ति मागिने समेत उनले बताए । यस अघि पनि यसरी बिना जानकारी भारतीय पक्षबाट विस्फोट गराइने गरेको धामीको भनाइ छ ।

‘यहाँ नेपाल भारत सीमा क्षेत्र नजिकै छ उता विस्फोट गर्दा यहाँ समस्या हुन्छ’ उनले भने ‘हिजो उनीहरुको जानकारी नदिएर विस्फोट गरेर नेपाली बाबुको मृत्यु भएको हो । यसको क्षतिपूर्ति उनीहरुले दिनुपर्छ । ’

क्षतिपूर्तिको लागि जिल्ला प्रशासन कार्यालयबाट आजै दबाब सुरु गरिने धामीले बताए। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी तर्कराज पाण्डेले भने भारतीय पक्ष क्षतिपूर्ति दिन तयार भएको बुझिएको बताए ।

‘हामी राति मात्रै बाकललाई अस्पताल ल्याएका छौँ’ उनले भने ‘भारतीय पक्ष क्षतिपूर्तिको लागि सकारात्मक रहेको बुझिएको छ । थप छलफल हुन बाँकी छ ।’

बिज्ञापन
बिज्ञापन