खेलकुद

सन्दीपको कप्तानीमा उपाधि जित्ने अवसर

बिज्ञापन

काठमाडौं । घरेलु मैदान कीर्तिपुरमा जारी त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले सोमबार उपाधिका लागि पपुवा न्युगिनी (पीएनजी) विरुद्ध खेल्दै छ ।

फाइनलमा पीएनजीलाई पराजित गरे नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो अन्तर्राष्ट्रिय शृंखला जित्नेछ । सन्दीपको कप्तानीमा नेपालले तीन आधिकारिक प्रतियोगिता खेलेको छ । सबैमा नेपालको नतिजा सम्झनलायक छैन ।

क्यान र खेलाडीबीच लामो समय विवादपछि सन्दीपले कप्तानको जिम्मेवारी पाएका थिए । उनको कप्तानीमा नेपालले ओमानमा आईसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपको ग्लोबल छनोट खेलेको थियो । ग्लोबल छनोटको समूह चरणमा नेपालले राम्रो नतिजा निकाले पनि सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग पराजित भएको थियो । उक्त पराजयसँगै नेपालको विश्वकप यात्रामा पूर्णविराम लागेको थियो ।
त्यसलगत्तै नेपालले यूएईमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को एकदिवसीय शृंखला खेलेको थियो । उक्त शृंखलामा नेपालले दुई खेल जिते पनि दुईमा पराजय भोग्नुप¥यो । चारै खेलमा नेपालको ब्याटिङ कमजोर रह्यो ।

ओमान र यूएई दुवै भ्रमणमा नेपाल पराजित हुनुमा टिमभित्रको वैमनश्य प्रमुख कारण रहेको मानिएको छ । नेपालका मुख्य प्रशिक्षक पुबुदु दासानाइकेले पनि पहिलका जस्तो ‘टिम स्पिरिट’ नरहको बताएका थिए ।

बिज्ञापन

यूएईबाट फर्किएपछि नेपालले काठमाडौंमै पीएनजीविरुद्ध दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । दुवै खेलममा नेपाल पराजित भयो । पीएनजीले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला ‘क्लिन स्विप’ ग¥यो ।

एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलालगत्तै भएको त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट जित्ने सम्भावना छ । पीएनजीलाई जितेमा नेपालले सन्दीपको कप्तानीमा पहिलो उपाधि जित्नेछ । भलै, यो त्रिदेशीय किन नहोस् ।

“यो जित हाम्रा लागि महत्त्वपूर्ण छ । हामीले जुन मोमेन्टम हासिल गरेका छौँ, त्यसलाई निरन्तरता दिन आवश्यक छ,” कप्तान सन्दीप लामिछानेले भने, “यसपछि हामी अमेरिका भ्रमण गर्ने तयारीमा छौँ । त्यसका लागि पनि हाम्रो लागि यो जित महत्त्वपूर्ण छ । टिम पनि राम्रो सेपमा छ । सबैले राम्रोसँग जिम्मेवारी बहन गरेका छन् । यद्यपि, केही कमजोरी छन् । त्यसलाई सुधार गर्नेछौँ । यही मोमेन्टमसहित अघि बढ्यौँ भने आगामी दिनमा अझै राम्रो हुनेछ ।”

कीर्तिपुरमा कीर्तिमानको शृंखला
ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाली ब्याट्सम्यानले खुलेर प्रदर्शन गरेका छन् । दीपेन्द्रसिंह ऐरीले एक शतक र एक अर्धशतकसहित सबैभन्दा धेरै २०१ रन बनाइसकेका छन् । योसँगै दीपेन्द्रसिंहले पारस खड्कालाई पछि पार्दै नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् ।

त्यस्तै, उनी ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट एकै इनिङ्स्मा सबैभन्दा धेरै रन बनाउने खेलाडी बन्न सफल भएका छन् । दीपेन्द्रसिंहले मलेसियाविरुद्ध अविजित ११० रन बनाएका थिए । यसअघि, निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले १०७ रन बनाएका थिए ।

ब्याटिङतर्फ नै नेपालका आसिफ शेखले एक अर्धशतकसहित १५६ रन बनाएका छन् । आसिफ धेरै रन बनाउनेमा चौथो स्थानमा छन् । रोहितकुमार पौडेलले पनि एक अर्धशतकसहित १३८ रन बनाएका छन् ।

त्यसअघि, करण केसीले पीएनजीविरुद्धको दोस्रो खेलमा ह्याट्रिकसहित ५ विकेट लिएका थिए । सोही दिन ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका करणले पीएनजीविरुद्ध ३.४ ओभरमा २१ रन दिएर ह्याट्रिकसहित ५ विकेट लिएर उनी नेपालबाट ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।

साथै, उनी ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५ विकेट लिने पहिलो खेलाडी पनि बने । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने यसअघि सन्दीप र सोमपाल कामीले ५÷५ विकेट लिइसकेका छन् । करण ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट लिने सन्दीपपछि दोस्रो खेलाडी हुन् ।

त्यस्तै, कुशल भर्तेलले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो ५०० रन पूरा गर्ने कीर्तिमान बनाए । कुशलले १२ खेलमा ५०० रन पूरा गरेका थिए । यसअघि, भारतका केएल राहुलले १३ खेलमा ५०० रन पूरा गरेका थिए ।

बिज्ञापन
बिज्ञापन