आस्था /आध्यात्म

घोडाघोडीको जरहीमा नव निर्मित सन्त निरंकारी सत्संग भवनको उद्घाटन तथा वृहत सत्संग कार्यक्रम सम्पन्न

बिज्ञापन

घोडाघोडी, ७ बैशाख । घोडाघोडीको जरहीमा नव निर्मित सन्त निरंकारी सत्संग भवनको उद्घाटन तथा वृहत सत्संग कार्यक्रम सम्पन्न भएको छ ।

बैशाख ४ गतेका दिन घोडाघोडी नगरपालिकाको जहरीमा नव निर्मित सत्संग भवनको उद्घाटन पछि आयोजित सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले जसमा श्रद्धाको भाव हुन्छ, त्यसैले ब्रम्हज्ञानको लाभ प्राप्त गर्न सक्ने र त्यसैले नै भक्ति गर्न सक्ने बताउनु भएको छ । उहाँले भक्त बन्न सजिलो छैन । त्यस्तै भक्ति गर्नु पनि त्यति सजिलो छैन, जस्तै साधु बन्न सजिलो छ तर दास बन्न कठिन छ । यदि हामी साधु बन्न सक्यौं भने हामीसंग केहि पनि रहदैन । सबै ईश्वरको नै हुन जान्छ । जस्तै दधिचि ऋषिले आफ्नो हाड दिएर देउताको रक्षा गरे । त्यस्तै राजा शिविले आफ्नो शरीरको मासु दिएर पंक्षीको रक्षा गरे । तर आज यो अवस्था भने सत्गुरुले हामीलाई दिएको छैन । केवल उहाँले हामीलाई तन, मन, धन सत्गुरुको चरणमा अर्पण गरेर उसैको सम्झेर प्रयोग गर्नु भन्नु भएको छ । यो सबै निराकार–परमात्माको देन हो, त्यसैको सम्झेर प्रयोग गर्नु पर्छ र कहिल्यै अभिमान गर्नु हुँदैन । तर आज हामी म र मेरोबाट छुटकारा पाउन सकिरहेका छैनौ, दुःखको कारण पनि यहि नै हो, जुन चीज परमात्माको हो, त्यसलाई हामी आफ्नो भनिरहेका छौ, त्यसै माया जालमा फसेर दुःख पाईरहेका छौ । आशा, तृष्णा, माया–मोहमा हामी जकडिएका छौ जुन दुःखका कारक तत्व हुन । जबसम्म हामी आशा, तृष्णा, माया–मोह, लोभ–लालचबाट माथि उठ्न सक्दैनौ तबसम्म हामी चौरासीको चक्करमा फसेर दुःख पाइरहने छौ । त्यसैले आज सत्गुरुले हामीलाई मानव योनि पाएकोलाई कसरी सार्थक गर्न सकिन्छ भन्ने कुरा सम्झाई राख्नु भएको छ । तन, मन, धन सबै ईश्वरको हो यसमा कहिल्यै अभिमान नगर, यदि सबै चीज ईश्वरलाई समर्पित गरेर संसार जिउछौ भने हामी सुखी हुने छौ र कुनैपनि काम गरेको हाम्रो सफल हुने छ, उहाँले बताउनु भयो ।

उहाँले अगाडि भन्नुभयो कि भक्ति गर्नुभन्दा पहिले हामीले स्वयंलाई चिन्नु पर्ने छ । ईश्वरले हामीलाई मानव योनि किन दिएको हो, मानव योनि पाएर यस संसारमा किन आएका हौ, त्यसको रहस्य जान्नु मानव कर्तव्य हो । यदि यस रहस्यलाई थाह पाएर ईश्वरको भक्तिमा तल्लिन हुन्छौ भने अवश्य पनि हामीले मानव योनि पाएको सार्थक हुने छ, उहाँले उल्लेख गर्नुभयो ।

सत्गुरु बाबा हरदेव सिंह जीको उदगारमाथि प्रकाश पार्दै उहाँले भन्नुभयो कि चेतनाको अर्थ चतुराई नभएर जागृती हो । सत्गुरुबाट प्राप्त ज्ञान मार्गमा हिड्दा हामीबाट कुनै प्रकारको पनि चतुराई नभएर हु–ब–हु सत्गुरुले भनेका शब्दहरुको अक्षरसः पालन गर्दै अगाडि बढ्नु पर्दछ । यदि आफ्नो मनमानि ढंगले सत्गुरुले दिएको ज्ञानलाई उल्टापुल्टा गरेर आफू खुशी वा आफ्ना मनमानी तरीकाबाट त्यसलाई परिचालित गर्छौ भने ज्ञान लिएको कुनै फाईदा हुँदैन, उल्टै त्यसबाट हामीलाई हानि नै हुने छ । त्यसैले सत्गुरुको बचनलाई शिरोधार्य गरेर पाईलामा पाईला मिलाएर अगाडि बढ्छौ भने हाम्रो यो लोक सुखी, परलोक सुहेला हुने छ, उहाँले प्रष्ट पार्नु भयो ।

बिज्ञापन

साधुको संगतमा नै सबै सुखका खजाना लुकेका हुन्छ, यसभन्दा अरु कुनै ठुलो सुख हामी अरु ठाउँमा गएर पाउदैनौ । सत्संगमा आउँदा हामीले मनलाई नियन्त्रणमा राखेर, सम्पूर्ण संसारिक काम–काजलाई ठाँटी राखेर सत्संग अवधिभरि मनलाई गुरुको चरणमा अर्पण गरेर सत्संगमा भनेका सन्तहरुको बाणीलाई ध्यान पूर्वक सुनेर त्यसैमा आफ्नो जीवनलाई अगाडि बढाउँछौ भने हामी सत्संगमा आएको फाईदा हुने छ, नत्रभने सत्संगमा आएर पनि मनलाई संसारिक कुराहरुतिर नै डोलायमान राख्छौ केवल शरीर मात्र हाम्रो सत्संगमा हुन्छ मन चाहि बाहिरै कार्यमा लागि रहेको छ भने यहाँ आएको कुनै महत्व हुँदैन, उहाँले सम्झाउनु भयो ।

सत्संग भनेको नै सुधार केन्द्र हो । गलत कार्यतिर लागेको जीवनलाई सत्गुरुको सन्देश वा सन्तहरुका बाणीबाट हामी सत्संगमा आएर सुधार्न सक्छौ । जीवनलाई सही मार्ग डोरयाउन सक्छौ । हामीले सबै काम छोडेर सत्संग नै गर्नु पर्दछ । सत्संगमा सबै प्रकारका तत्वहरुको जानकारी हुन्छ । त्यसैले हामीले सत्संग निरन्तर गर्नु पर्दछ । सन्त निरंकारी मिशनको सिद्धान्त भनेको नै सम्पूर्ण धर्म शास्त्रको निचोर हो, उहाँले बताउनु भयो ।

उहाँले हरेक कार्यहरु परमात्माबाट संचालन भइरहेका हुन्छन्, त्यसलाई हामीले स्वीकार गर्न सक्नु पर्दछ । त्यसैलाई स्वीकार गरेर जीवनलाई अगाडि बढाउनु नै भक्ति हो । सबै कार्य परमात्माको कृपाबाट नै भएको हो, म वा हामीबाट होइन । यस्तो किसिमको भावनना जब हामीमा आउँछ अथवा कर्ता भाव ईश्वरलाई सम्झेर कुनैपनि कार्य गर्छौभने हाम्रो सबै कार्य सफल हुन जान्छन् ।

सत्संग कार्यक्रममा पूर्व सुदूर पश्चिम प्रदेश सभा सदस्य अमर बहादुर साउँदले पनि आफ्नो धारणा राख्नु भएको थियो भने धरम सिंह, सुनिता साउँद, पार्वती खनाल, सीता, शालीमान, कृतीका, गगन सिंह ऐर, कृष्ण रेग्मी, धनञ्जय एवं साथी, तेज बोहरा, इन्द्र सिंह, नवल सिंह बोहरा, शेर बहादुर कुँवर लगातका सन्त–भक्तहरुले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए । कार्यक्रमको संचालन सन्त निरंकारी मण्डल नेपालका ज्ञान प्रचार विभाग प्रमुख देवराज रिमालले गर्नुभएको थियो ।

बिज्ञापन
बिज्ञापन