Sudur Pradesh News

गेटा अस्पतालमा साउनदेखि ओपिडी चलाउने तयारी

बिज्ञापन

धनगढीः गेटामा दुई सय शय्याको अस्पताल चलाउन आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्ने प्रस्तावमा प्रधानमन्त्रीले हस्ताक्षर गरेका छन्। बैशाख ११ गते प्रधानमन्त्री पुष्पकमल दाहालले दरबवन्दी स्वीकृतिको प्रस्तावमा हस्ताक्षर गरेका हुन्।

प्रधानमन्त्रीले प्रस्तावमा हस्ताक्षर गरेसँगै सो प्रस्ताव स्वास्थ्य मन्त्रालयको दरबन्दी स्वीकृति गर्न बनेको समितिमा पुगेको छ। त्यो समितिले सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग समन्वय गरेर दरबन्दीको प्रस्तावले अन्तिम रुप लिने छ। त्यसपछि स्वास्थ्य मन्त्रीले दरबन्दी स्वीकृतिका लागि प्रस्ताव मन्त्रिपरिषद्मा लग्ने छन्। मन्त्रिपरिषद्बाट प्रस्ताव पारित भएपछि गेटामा दुई सय शय्याको अस्पताल चलाउन जनशक्तिको व्यवस्थापन हुने गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बताए।

‘गेटामा अस्पताल सञ्चालन गर्न दक्ष जनशक्तिको आवश्यकता पर्छ। हामीले दरबन्दीको तेरिज बनाएर केही महिना अगाडि मन्त्रालयमा बुझाएका थियौँ,’ उनले भने, ‘प्रधानमन्त्रीले प्रस्तावमा बैशाख ११ गते हस्ताक्षर गर्नु भएको छ।’

गेटामा अस्पताल सञ्चालन गर्न आवश्यक भौतिक निर्माणको काम सकिएको छ। जनशक्ति र उपकरण प्राप्त हुनासाथ अस्पताल सञ्चालन हुनेछ। तर, दरबन्दी स्वीकृतिको बाँकी काम पूरा गर्न कति समय लाग्ने त्यसको भने टुङ्गो छैन। यस्तै, भर्खरै उपकरण खरिद गर्न निकालिएको ११ करोडको टेण्डर रद्द भएसँगै उपकरण व्यवस्थापन हुने नहुने विषयमा अन्यौल कायमै छ। तर, आधारभूत उपकरणको व्यस्थापन गरेर भए पनि अस्पताल सञ्चालनमा ल्याउने निर्देशक जोशीले बताए।

बिज्ञापन

‘गेटा अस्पतालमा दरबन्दी स्वीकृत र उपकरणको व्यवस्थापन यो आर्थिक वर्षमा हुने विश्वास छ। सामान्य उपकरण प्राप्त हुनासाथ अस्पतालको सेवा सञ्चालन हुने छ’ उनले भने, ‘साउनमा कुनै पनि हालतमा ओपिडी सेवा चलाउने तयारीमा लागेका छौँ।’

मुलुकमा आर्थिक संकट देखा परेकाले गेटामा अस्पताल सञ्चालन गर्ने विषय पनि प्रभावित हुने पो हो कि भन्ने आशंका गरिएको छ। पूर्वाधार निर्माणका काम अन्तिम चरणमा पुगे पनि अस्पतालको सेवा सञ्चालन र मेडिकल विधाको पढाई भने अझै भविष्यको गर्भमै छ। 

बिज्ञापन
बिज्ञापन