राजनीति

मोरङमा एमाले गठबन्धन भाँडियो,जसपा क्रुद्ध

बिज्ञापन

मोरङमा एमाले, जसपा र राप्रपा तालमेलको औचित्य सकिएको छ । तीन वटै पार्टीले जनाएको चुनावी तालमेलको लिखित सहमतिको मसी नसुक्दै एमालेले उम्मेदवार उठाएपछि विपक्षी गठबन्धन धरापमा परेको छ ।

सहमतिमा मोरङको निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा उम्मेदवारसहित प्रदेश सभा ‘ख’ र ४ र ६ नम्बर क्षेत्रको ‘ख’ जसपालाई दिने भनिएको थियो । जसपाले ५ को ‘क’ मा आफ्नो उम्मेदवार उठाएन । तर एमालेले आइतबार दिउँसो अन्तिम समयमा सहमतिविपरित निर्वाचन क्षेत्र नम्बर ४ र ६ को प्रदेश ‘ख’ मा उम्मेदवार उठाएपछि जसपाले धोकाको आरोप लगाएको हो । एमालेले त्यतिले नपुगेर निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधि सभा उम्मेदवारमा जीवन विकास समाज लघुवित्तका सञ्चालक योगेन्द्र मण्डललाई जसपाको उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराइदिएको अन्य दलको भनाइ छ ।

मोरङ ५ बाट प्रतिनिधि सभा निर्वाचनमा जसपाका राजकुमार यादव उम्मेदवार बनेका छन् । तर राजकुमारले एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डलको मुख्य चुनौती सामना गर्नुपर्ने भएको छ । उक्त क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डल उठेका छन् ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ मा एमालेले जसपासँगको सहमति तोड्दै पूर्व प्रदेशमन्त्री जीवन घिमिरेलाई उठाएको छ । एमालेले धोका दिएको भन्दै जसपाका सञ्जय सिंहले पनि त्यहाँ आफनो उम्मेदवारी कायम राखेका छन् । निर्वाचन क्षेत्र नम्बर ६ ‘ख’ मा एमाले उम्मेदवार कृष्ण उर्फ पर्शुराम बस्नेत हुन् । त्यहाँ पनि धोकाको बदला लिन जसपाले राजेन्द्रप्रसाद गुप्ताको उम्मेदवारीलाई कायम राखेको छ ।

बिज्ञापन

चुनावी तालमेलको सहमति गरेर पनि धोखा दिएको भन्दै मोरङमा जसपाका नेता कार्यकर्ताहरु एमालेसँग क्रुद्ध बनेका छन् । उनीहरुले एमाले विश्वास गर्न लायक पार्टी नभएकाले तालमेल गरेर आफूहरुले गल्ती गरेको बताएका हुन् । अहिले तालमेल मिलाउन खोजिए पनि जसपा समर्थकहरुले नागरिकता विधेयकको सन्दर्भ निकालेकाले एमालेलाई मत नहाल्ने सम्भावना बढेको छ ।

एमालेको धोकाका कारण मोरङमा अब एमाले र जसपाको तालमेल लगभग भाँडिएको अवस्थामा पुगेको छ । यसको प्रत्यक्ष असर आफ्नो प्रभाव क्षेत्र मानिएको मोरङ ५ मा जसपाले भोग्नुपर्ने अवस्था उत्पन्न भएको छ । जहाँ एमालेका बागी योगेन्द्र मण्डलले जसपाको भोट तान्ने सम्भावना प्रवल छ । यसको असर प्रदेश सभामा उम्मेदवार बनेका जसपाका जयराम यादवले पनि भोग्नुपर्ने स्पष्ट छ ।

अर्कोतर्फ जयरामलाई सत्ता गठबन्धनबाट काँग्रेसका प्रभावशाली केन्द्रीय नेता अमृत अर्यालले प्रदेश सभाको निर्वाचनमा चुनौती दिने पक्का छ । प्रतिनिधि सभाको उम्मेदवार बन्न चाहेका अर्याललाई सभापति देउवाले प्रदेश १ को मुख्यमन्त्री बनाउने वाचा दिएर प्रदेशसभामा उम्मेदवार बनाई ‘म्यानेज’ को वचन दिनुभएको काँग्रेसीबीच चर्चा छ । अर्याल मोरङको निर्वाचन क्षेत्र नम्बर ५ को सट्टा ४ नम्बरबाट भए पनि प्रतिनिधि सभामा उम्मेदवार बन्ने मनस्थितिमा थिए ।

मोरङमा एमाले राप्रपाको तालमेल पनि कार्यान्वयन भएको छैन । जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेका भानुभक्त ढकाललाई राप्रपाकी अभिनेत्री रेखा थापाले प्रतिनिधि सभामा चुनौती दिने बताइन्छ । उनी आक्रामक रुपले घरदैलोमा व्यस्त देखिएकी छन् । मोरङका सबै क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको छ ।

बिज्ञापन
बिज्ञापन