राजनीति

आफ्नै खुट्टामा उभिएर चुनाव जित्नुपर्छ : प्रचण्ड

बिज्ञापन

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताएका छन् ।

आज सिन्धुलीमाढीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटनपछि सम्बोधन गर्दै देश, जनता, संविधान र लोकतन्त्रको रक्षाका निम्ति आफूहरूले निर्वाचनमा विजयी हुनुपर्ने बताए । यदि, आफूहरूले हारे नेपाली जनता, नेपाल राष्ट्र र माओवादी केन्द्रलाई हानि हुने भएकाले जसरी पनि जित्नुपर्ने उनको तर्क छ ।
उनले भने, “खतरा अझै टरेको छैन, हामीले अझै जितेका छैनौँ । प्रतिगमनकारीहरू माओवादी केन्द्रलाई सखाप पार्ने षड्यन्त्रमा रहेकाले घर–घरमा गएर जनतामाझ जोडिन आग्रह गर्दछु ।” जनयुद्ध र जनआन्दोलनमा गाँस काटेर आफूहरूलाई पाल्ने जनतामा जोड्ने गरी अभियान थाल्न निर्देशन दिए ।

उनले भने, “साथीहरू, यो निर्वाचनलाई सानो नठान्नुहोला । हामीले हा¥यौँ भने संविधन र गणतन्त्र नै हार्नेछ । जनयुद्ध र शान्ति प्रक्रियाले नै हार्ने भएकाले यो निर्वाचन जसरी पनि हामीले जित्नैपर्छ ।”

नेकपा (एमाले)ले संसद् चल्न नदिएको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले अझै पनि ‘रिल्याक्स’ गर्ने अवस्था नआएको बताए । मुलुकमा गणतन्त्रविरोधीहरू अझै सक्रिय भएको भन्दै सचेततापूर्वक अघि बढ्न आग्रह गरे ।

बिज्ञापन

अध्यक्ष प्रचण्डले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हजारौँ नेपाली जनताका छोराछोरीले रगत बगाएको स्मरण गराए ।

नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको शान्ति सम्झौतापछि मुलुकमा संघीयताको ढोका खुलेको उनले बताए । “मुलक संकटमा परे त्यो शान्ति सम्झौतामा हस्ताक्षर गरेको नाताले देश र संविधानको रक्षा मैले गर्नुपर्छ,” उनले भने । रासस

बिज्ञापन
बिज्ञापन