राष्ट्रिय समाचार

काठमाडौंका सडक छेउमा पार्किङ निषेध, भ्यु टावरमा पार्किङ सुरु

बिज्ञापन

काठमाडौँ, जेठ २ गते । काठमाडौं महानगरले आफ्नो क्षेत्रभित्रका सडकलाई पार्किङ निषेधित क्षेत्र बनाएको छ । महानगर प्रमुख बालेन्द्र साहको एक वर्षको प्रयासपछि अहिले महानगर भित्रका सडकमा पार्किङ निषेधित बनेका छन् । 

साह गतवर्ष मेयरमा निर्वाचित भएपछि महानगरभित्रका सडकलाई पार्किङ निषेधित क्षेत्र बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । जथाभाबी फुटपाथ हटाउने र बेसमेन्ट पार्किङलाई व्यवस्थित बनाएपछि महानगरले यसअघि सडक छेउछाउ हुने अव्यवस्थित पार्किङ हटाएको हो । महानगरका सार्वजनिक निजी साझेदारी कार्यक्रम प्रमुख महेश काफ्लेका अनुसार महानगरको एक वर्षको लामो कसरतपछि अव्यवस्थित पार्किङ हटाइएको बताउनुभयो । 

उहाँले भन्नुभयो, महानगरमा मेयरको रूपमा बालेन्द्र साह निर्वाचित भएपछि नै अव्यवस्थित पार्किङलाई हटाउने योजना बनाउनुभएको थियो । सोही अनुसार न काम हुँदै जाँदा एक बर्समै अव्यवस्थित पार्किङ हटाइएको छ । उहाँका अनुसार महानगरको अव्यवस्थित पार्किङ हटाउन र बेसमेन्ट खाली गराउन ठुलो सङ्घर्ष गर्नुपरेको थियो । 

महानगरपालिकाले हालसम्म दुई दर्जन बढी स्थानको सडकबाट पार्किङ हटाइसकेको उहाँ बताउनुहुन्छ  । काफ्लेका अनुसार बागबजार, बानेश्वर, शङ्खमूल, प्रदर्शनीमार्ग, नारायण चोक, चाबहिल बत्तीसपुतली, कालीमाटी,कलङ्की, त्रिपुरेश्वर, माछापोखरी, कुलेश्वर, सोल्टीमोड लगायतका ठाउँमा सडक छेउछाउ हुने पार्किङलाई हटाइएको छ । 

बिज्ञापन

यस्तै महानगर प्रहरी प्रमुख राजु पाण्डेयका अनुसार महानगरभित्रका बेसमेन्टहरुको व्यवस्थापनबाट नै सडकका छेउछाउमा पार्किङ निषेधित गर्न सफल भएको हो । उहाँका अनुसार विगतमा महानगरसँग भूमिगत पार्किङको स्वीकृति लिएर अन्य प्रयोजनमा प्रयोग भएका स्थानलाई समेत पार्किङ स्थानमा परिणत गरिएको हो । 

उहाँले भन्नुभयो, “महानगरसँग भूमिगत पार्किङको स्वीकृति लिएर अन्य प्रयोजनमा धेरै स्थान थिए। त्यसलाई हामीले खोजी खोजी पार्किङ स्थल बनायौँ । त्यस कारण अहिले सडकमा पार्किङ निषेधित गर्न सफल भइएको हो ।” उहाँका अनुसार अहिले  काठमाडौँका अधिकांश व्यापारिक कम्प्लेक्स, बैङ्क, अस्पताल, सरकारी कार्यालय लगायत सबै ठाउँमा पार्किङको व्यवस्था छ । 

भ्यु टावर सञ्चालनमा 

काठमाडौं महानगरले पार्किङ लागि  पुरानो बसपार्कमा बनाएको भ्यु टावर सञ्चालनमा आएको छ । निर्माणाधीन उक्त टावरको बेसमेन्ट पार्किङ लागि खुला गरिएको महानगरका सार्वजनिक निजी साझेदारी कार्यक्रम प्रमुख महेश काफ्लेले बताउनुभयो ।

अहिले दुई तलाको बेसमेन्ट पार्किङमा पार्किङ खुल्ला गरिएको उहाँले बताउनुभयो । उक्त खुल्ला गरिएको पार्किङ स्थलमा दुई हजार बाइक र ५०० कार अट्ने क्षमता रहेको उहाँको भनाइ छ । तत्काल बसको लागि भने पार्किङ  खुल्ला नगरिएको  उहाँको भनाइ छ ।

बिज्ञापन
बिज्ञापन