राष्ट्रिय समाचार

नयाँ सरकार गठनको प्रयासमा सत्ता गठबन्धन, भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाइवा नेपाल आउने

बिज्ञापन

काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरु नयाँ सरकार बनाउने प्रयास स्वरुप छलफलमा जुटेका छन् ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको नतिजा सार्वजनिक अन्तिम चरणमा पुगेसँगै गठबन्धनका शीर्ष नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल नयाँ सरकार निमार्णका लागि छलफलमा जुटेका हुन् ।

निकट स्रोतका अनुसार प्रतिनिधिसभामा एकल बहुमत नआएको अवस्थामा कसरी अघि बढने भन्ने बारेमा सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा, प्रचण्ड र अध्यक्ष नेपालले छलफल गरेका हुन् ।

समानुपातिकतर्फको निर्वाचनको परिणामपछि मात्रै सरकार बनाउनका लागि पुग्ने सांसद संख्याका बारेमा निक्र्योल हुने भएपछि सत्ता गठबन्धनले आवश्यक संख्याका लागि अन्य दलसँग सहकार्य गर्न सक्ने जनाइएको छ ।

बिज्ञापन

यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हालको सत्ता गठबन्धन फुटाउने रणनीतिमा लागेका छन् । निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने संकेत पाइसकेका ओलीले केहि दिनअघि प्रचण्डलाई फोन गरेर पुनः एकपटक मिलेर जान प्रस्ताव राखेका थिए ।

ओलीले विगतको तिक्तता बिर्सेर नयाँ सिराबाट राजनीतिक कोर्ष अघि बढाउनुपर्ने प्रचण्डसामू प्रस्ताव राखेका थिए । तर, प्रचण्ड अझै ओलीसँग सशंकित रहेको बुझिएको छ ।

आगामी सरकार निर्माणबारे प्रत्यक्ष–अप्रत्यक्ष रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आइरहेको भारतले समेत चासो देखाएको छ । नेपालको आन्तरिक मामिलाका विषयमा भारतले सबैभन्दा बढी चासो राख्दै आइरहेको छ ।

नयाँ सरकार गठनबारे चासो बढिरहेका बेला भारतीय राजदूत नवीन श्रीवास्तवले केहि दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

भेटमा राजदूत श्रीवास्तवले समसामयिक राजनीतिक विषयमा चासो राखेको बताइएको छ । यसैबीच भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाइवा नेपाल आउने तयारीमा छन् । तर उनी आउने मिती भने तय भएको छैन ।

बिज्ञापन
बिज्ञापन