खेलकुद

अस्ट्रेलियाको खेमामा मेसीको त्रास

बिज्ञापन

दोहा, मङ्सिर १७ गते । अर्जेन्टिना र अस्ट्रेलिया एकअर्काविरुद्ध विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा भिड्दै छन्। यति बेला अस्ट्रेलियाका खेलाडीहरूको मनमस्तिष्कमा अर्जेन्टिनाका हस्ती लियोनेल मेसी मात्र छन्। यस विश्वकपमा चम्केका अस्ट्रेलियाली फरवार्ड म्याथ्यु लिकी भन्नुहुन्छ, “मेसीले फुटबलको मैदानमा गर्ने काम अरूले गर्नै सक्दैन।” अस्ट्रेलियाका डिफेन्डर मिलोस डेगेनले आफूहरू विश्वकपको मैदानमा सम्भवतः विश्वकै महान् फुटबलरविरुद्ध खेल्न गइरहेको भनाइ राख्नुभयो।

बिज्ञापन

तर अस्ट्रेलियाले अर्जेन्टिनाविरुद्ध खेल्दा आफ्नो मनोबल कम पारेको छैन। कतार विश्वकपमा लगातार स्तब्धकारी नतिजा आइरहेको छ। अर्जेन्टिनालाई हराएर अस्ट्रेलिया पुनः अर्को स्तब्धकारी नतिजा निकाल्न चाहन्छ। अझ अर्जेन्टिना सुरुको खेलमा साउदी अरबसँग पराजित भएकाले पनि अस्ट्रेलिया आशावादी छ। साउदी अरबले अर्जेन्टिनालाई हराएको खेल ९२ वर्षको विश्वकप इतिहासकै अप्रत्याशित नतिजा मानिएको छ। यसबाहेक जापानले जर्मनी र स्पेन, मोरक्कोले बेल्जियम, ट्युनिसियाले फ्रान्स र अस्ट्रेलिया आफैँले डेनमार्कलाई स्तब्ध बनाइसकेका छन्। अस्ट्रेलिया यही स्तब्धकारी नतिजाको सूचीमा अर्को एक लाइन थप्न चाहन्छ। “कसैले हाम्रो जितको अपेक्षा गरेको छैन। त्यसैले विश्वलाई फेरि चकित पारौँ,” फरवार्ड लेकी भन्नुहुन्छ।

तर साउदी अरबसँग हारेपछि अर्जेन्टिना फरक टिमका रूपमा प्रस्तुत भइसकेको छ। अझ मेसी यस पटक सम्भवतः आफ्नो अन्तिम सहभागितामा पहिलो पटक विश्वकप जित्न भरमग्दुर प्रयास गर्दै हुनुहुन्छ। मेसीकै लागि पनि अर्जेन्टिना उपाधि जित्न चाहन्छ र अर्जेन्टिना प्रमुख दाबेदार पनि हो। साउदी अरबसँग हारे पनि अर्जेन्टिना बाँकी दुई खेल सजिलै जितेर समूह विजेता बनी अस्ट्रेलियाविरुद्ध खेल्दै छ।

नेदरल्यान्ड्सलाई बुझेका अमेरिकी प्रशिक्षक

कतार विश्वकपको पहिलो प्रिक्वाटरफाइनल नेदरल्यान्ड्स र अमेरिकाबीच हुँदै छ। यस खेलमा अमेरिकी प्रशिक्षक ग्रेग बरहाल्टरको रणनीतिले ठूलो भूमिका खेल्न सक्छ। २८ वर्षअघि बरहाल्टर नेदरल्यान्ड्समै व्यावसायिक बन्नुभएका हो। त्ससैले नेदरल्यान्ड्सको फुटबलबारे बरहाल्टरमा पूरा ज्ञान छ।

नेदरल्यान्ड्सको अनुभव प्रशिक्षक बरहाल्टरसँग मात्र होइन, राइट ब्याक सर्जिनो डेस्टसँग पनि रहेको छ। नेदरल्यान्ड्समा हुर्केका डेस्टका बुवा अमेरिकी हुनुहुन्छ। डेस्टले नेदरल्यान्ड्सका प्रायः सबै खेलाडीलाई नजिकबाट चिन्नुहुन्छ। अमेरिका सन् २००२ पछि पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुग्ने प्रयास गर्दै छ।

नेदरल्यान्ड्स तीन पटक फाइनलमा पुगेर पनि विश्व च्याम्पियन बन्न नसकेको अभागी टिम हो। सन् १९७४ मा पश्चिम जर्मनी, सन् १९७८ मा अर्जेन्टिना र सन् २०१० मा स्पेनसँग फाइनलमा हरोपछि नेदरल्यान्ड्स नजिक पुगेर पनि विश्व विजेता बन्नबाट वञ्चित भएको थियो । सन् २०१४ मा पनि नेदरल्यान्ड्सले तेस्रो स्थान हासिल गरेको थियो। यस पटक नेदरल्यान्ड्सले समूह चरणमा आफ्नो छविअनुरूप प्रदर्शन गर्न सकेन। यद्यपि समूह ‘ए’मा शीर्ष स्थान बनाएर नेदरल्यान्ड्सले समूह चरण पार गरेको छ। अहिले तीन पटकको उपविजेता नेदरल्यान्ड्स क्वाटरफाइनलमा पुग्न शनिबार अमेरिकाविरुद्ध हुने खेलमा केन्द्रित छ।

अमेरिकाले नेदरल्यान्ड्सविरुद्ध पाँच खेल खेलेको छ तर यी सबै अन्तर्राष्ट्रिय मैत्री खेल हुन्; जसमा नेदरल्यान्ड्सले तीन र अमेरिकाले एक खेल जितेका छन्। एपी   

बिज्ञापन