राजनीति

राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ : ईश्वर पोखरेल

बिज्ञापन

काठमाडौं, १२ असोज । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा जसले गरे पनि नेकपा (एमाले)ले समर्थन गर्ने बताएका छन् ।

काठमाडौं वडा नम्बर ३ स्थित रानीदेवी समूहले असाेज १२ गते लाजिम्पाटमा आयोजना गरेको बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा नेकपा (एमाले) उभिने बताए ।

‘राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ । राम्रा कामलाई राम्रो भन्नुपर्छ, नराम्रो कामलाई नराम्रो भन्नुपर्छ । राम्रा काम जोसुकैले गरुन, त्यसलाई हाम्रा काम बनाउनुपर्छ । सबै हाम्रा राम्रा नहुन सक्छन्, हामीले खोजेको राम्रो काम हो,’ पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले भने-‘अहिले विभिन्न साथीहरु विभिन्न रुपले प्रकट हुनुभएको छ । तर, दलीय प्रणालीमा दललाई कमजोर बनाउने कुरा मान्य हुँदैन । एउटा दल खराब भए फेरि अर्को दल आउँछ ।’

एमसीसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्ता गठबन्धनले तमासा गरेको उनले बताए  । ‘प्रधानमन्त्रीले निकालेको किताबमा चुच्चे नक्सा गायब भयो,’ उनले भने– ‘हामीसँग दुई वटा ठूला छिमेकी छन्, एउटा छिमेकीलाई नजिक र एउटालाई टाढा गर्न हामीले जरुरी छैन् । तर, छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्ने सामर्थ्य हाम्रो हुनुपर्छ ।’

बिज्ञापन

जनताको भावना अनुसार काम गर्न र जनतासँगको सम्बन्धलाई बलियो बनाउन उनले जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

आगामी निर्वाचनमा एमालेले विजय हासिल गर्ने उनले बताए । ‘मंसिर ४ गते एमाले आउँछ । सूर्य चिन्ह आउँछ–आउँछ ।’

बिज्ञापन
बिज्ञापन