अर्थ

बजारबाट नेपाली रुपैयाँ हराउनु सामान्य कुरा होइनः एमाले महासचिव

बिज्ञापन

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बजारबाट नेपाली रुपैयाँ हराउनु सामान्य कुरा न भएको बताएका छन् । विदेश जाने नेपाली श्रमिकको संख्यामा उल्लेख्य वृद्धि भएर पनि रेमिटेन्समा कमी आउनु र विदेशी मुद्राको प्रयोग बढ्दा पनि बजारबाट नेपाली रुपैयाँ हराउनु सामान्य कुरा नभएको उनको भनाइ छ ।

बिज्ञापन

यस सम्बन्धमा उनले सामाजिक सञ्जालमार्फत आफ्ना ७ बुँदे धारणा समेत सार्वजनिक गरेका छन् । बैंकिङ च्यानलबाट आउनुपर्ने रेमिटेन्स हुण्डी कारोबारी मार्फत विदेशमा नै रोकिने गरेको बताउँदै उनले सामान आयात गर्नेले एलसी खोलेको भन्दा बढी मूल्यका सामान किनेर ल्याउँदा उक्त रकम त्यसमा प्रयोग भएको हुनसक्ने आशंका गरेका छन् ।
विदेशी मुद्रा अपचलन गरेर विदेशमा लैजानेले पनि त्यति नै बराबरको नेपाली रकम हुण्डी कारोवारीलाई उपलव्ध गराएर विदेशी मुद्रा विदेशमै पाउने व्यवस्था मिलाएको हुनसक्ने पनि उनले बताएका छन् ।
यस विचमा आयातमा वृद्धि हुनुमा राजश्व वृद्धिका नाममा भन्सार दररेटमा गरिएको सेटिङको परिणाम हो भन्दै उनले भन्सारमा जति सामान आयात भएको रेकर्ड छ त्यो भन्दा बढी सामान आयात भएको अनुमान गरिएको उल्लेख गरेका छन् ।
बजेट भाषणमा श्रोत नखोज्ने सरकारको नीतिले पनि विदेशमा रहेको कालोधन वस्तु आयातमा प्रयोग भएको र नेपाली रुपैयाँ उनीहरुको नियन्त्रणमा पुगेको हुनुपर्ने उनको आशंका छ ।

यसबाहेक गलत उद्देश्यवाट अर्थमन्त्रालयले गरिरहेको नीतिगत सेटिङका कारणले पनि अर्थतन्त्रमा संकट आएको उनको भनाइ छ ।
आजको आर्थिक संकट उत्पन्न हुनुमा सरकारको गलत नीति तथा कार्यक्रमको पनि भूमिका रहेको पनि उनको आरोप छ । ‘आर्थिक संकटका संकेतहरु देखिन थाल्दा तदनुरुपको मौद्रिक नीति अघि सार्नुपर्नेमा राष्ट्र बैंक नेतृत्वलाई आवान्छित कार्यमा प्रयोग गर्न खोज्नु र त्यसो गर्न तयार नभए वापत गभर्नरलाई नै निलम्बन गरी हतोत्साहित गर्नुले संकट गठबन्धन सरकारको नियोजित चाल त होइन भन्ने आशंका समेत जन्माएको छ’ उनको आरोप छ ।
विदेशी मुद्रा अभाव आयातमा भएको वृद्धि भन्न सकिएपनि बैंकमा र बजारमा समेत नेपाली रुपैयाँको अभाव हुनुको कारण त्यसको सही जवाफ नेपाली जनताले पाउनुपर्ने उनको धारणा छ ।

बिज्ञापन