व्याक्ती बिशेष

श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

बिज्ञापन

काठमाडौं, २५ साउन । ललितपुरको थसिखेलमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । सन्त रुकमिणी पन्थलाई श्रद्धाञ्जली दिने उद्देश्यले गत साउन २५ गते ललितपुरको थसिखेलमा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलको प्रमुख आथित्यतामा श्रद्धाञ्जली सत्संग कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अवसरमा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले भन्नुभयो– ‘भनिएको छ ‘ब्रम्हको प्राप्ति भ्रमको समाप्ति’ जसले जिउँदै ब्रम्हको प्राप्ति गर्छ जसले त्यस अनुसार कर्म गर्छ त्यस्तो आत्मा स्वतः ब्रम्हमय भइहाल्छ । संसारमा यस्तै जीवन बाँचेर रुकमिणी पन्थ जानुभयो, उहाँको आत्मा यस परमात्मामा लिन भइसकेको छ, यसमा कुनै दुई राय छैन ।’ कर्मयोगी महात्मा कृष्ण पन्थ जी लगायत तीन जना छोरा, बुहारी, छोरी लगायत नाति–नातिनी जो देश–विदेशमा छन् ती सबैलाई यस दुःखड घडीमा धैर्यधारण गर्ने शक्ति यस परमपिता परमत्मा निराकार सत्गुरु माता सुदीक्षा जी महाराजले कृपा गरुन भनि बिन्ति गर्नुभयो ।’

आफ्नो २०४१ बाट कृष्ण पन्थसंग भेटभएपछि निरन्तर उहाँसंग सत्संग गर्दै पछि २०४३ मा रुकमिणी जीसंग भेट भएपछि जयबागेश्वरीबाट यस निराकारको सन्देशलाई जन–जनसम्म फैलाउन रुकमिणी जीको ठुलो योगदान रहेकोमा प्रशंसा व्यक्त गर्नुभयो । यस कार्यमा झरोकी लाल जीको पनि ठुलो महत्व रहेको बताउँदै आज यी सबै कर्मयोगी सन्तहरुको कृपाबाट काठमाडौमा यति धेरै सन्त–महापुरुषहरुको संख्या देख्न मिलिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले अगाडि भन्नुभयो कि उहाँप्रति हाम्रो सच्चा श्रद्धाञ्जली तब हुनेछ जब हामीले उहाँले गरेका कर्मलाई आफ्नो जीवनमा ढाल्ने छौ । यो संसारको रचनाहार सबै ईश्वर नै हो । यसले नै सबै प्रकृति, मानव, पशु–पंक्षीको रचना गरयो । रुकमिणी जी ज्ञानी हुनुहुन्थ्यो, जसको फलस्वरुप उहाँ यस परमात्मामा विलिन भइसक्नुभयो । संसारमा जोपनि राजा, रंक, फकिर आए सबैले एक न एक दिन यस संसारबाट जानु नै छ, यहाँ सधै रहने छैनन् । हामी संसारमा रहेर जतिपनि धन–सम्पत्ति जोड्यौं वा छोरा–छोरी जन्मायौं सबै यही छोडेर एक दिन अवश्य जानु छ, यस दिशातिर सबैको ध्यान जानु पर्ने बताउनुभयो । सत्संग रुपी माता हामीसंग भएपछि कोहि पनि परिवार टुहुरो हुँदैन भनेर माता जीद्वारा भनिएको बचनको स्मरण गराउनुभयो ।

बिज्ञापन

खाली हात आयौं, खाली हात जानु छ । माताको पेटबाट हामीले केहि ल्याएका थिएनौं । संसारमा जन्म लिसकेपछि मृत्यु हुनु अवश्य छ । तन, मन, धन सबै ईश्वर परमात्माको हो, हाम्रो होइन । हामी किरायाको घरमा बसेका छौ, मालिकले कोठा खाली गर भनेपछि हामीले खाली नै गर्नु पर्दछ । त्यसैले यो शरीर किरायाको घर हो, जब आदेश आउँछ हामीले जानै पर्छ, उहाँले बताउनुभयो ।

मायासंग जोडिएकाहरु मायासंग नै रमाउने गर्दछन् । संसारमा आएर आफ्नो कर्म अनुसारको फल हरेकले भोग्नै पर्छ । जब–जब धर्मको ग्लानि हुन्छ तब–तब धर्मको रक्षार्थ भगवानले अवतार लिने गर्दछ । ब्रम्हज्ञान लिएर मात्र साध्य हुँदैन, ज्ञान जब कर्ममा ढल्न जान्छ तब जीवन श्रृंगार बन्न जान्छ । ज्ञान लिदैमा, सत्संग गर्दैमा हामी मुक्ति हुँदैनौ, त्यसको लागि कर्म गर्नु जरुरी छ । रावणले मानवताको कर्म नगरेर दानवताको कर्मलाई अपनायो, जसको मृत्यु रामको हातबाट हुनगयो । आज इतिहासलाई पल्टाएर हेर्छौ भने शिवको सबैभन्दा अनन्य भक्त रावण थियो तर पछि उसमा अहंम आयो, घमण्डले भरियो जसको कारण त्यसको मृत्यु हुनगयो । आज सत्गुरुले हामीलाई मनमतबाट माथि उठाएर गुरुमतमा ल्याएको छ, मनमतले सधै मानवलाई पछाडि लिएर जान्छ भने गुरुमतले सधैं मानवलाई प्रगतिको बाटोतिर अग्रसर गर्दछ, भन्नुभयो ।

श्रद्धाञ्जली सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण पन्थ, सचिव अनिल महर्जन, सदस्य देवराज रिमाल, क्षेत्रिय सेवादल संचालक बाबुराजा महर्जन, केन्द्रीय सल्लाहकार श्रीराम काफ्ले, निराकार पन्थ, तेज बोहरा लगायत अनेकौं महापुरुषहरुले आ–आफ्नो भाव प्रकट गरेका थिए भने कार्यक्रमको संचालन केन्द्रीय कोषाध्यक्ष कृष्ण कन्हैया पाठकले गर्नुभएको थियो ।

बिज्ञापन
बिज्ञापन