घटना समाचार

टिपरको ठक्करबाट युवतीको मृत्यु, छिन्चु बजार तनावग्रस्त

बिज्ञापन

सुर्खेत । टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि सुर्खेतको छिन्चु बजार तनावग्रस्त बनेको छ । मृतकका आफन्तले राहतसहित दोषीलाई कारबाहीको माग गर्दै सोमबार दिउँसोदेखि छिन्चु बजार र यातायात बन्द गरेका छन् ।

बिज्ञापन

बजारसँगै सुर्खेत–नेपालगञ्ज सडक खण्डसमेत बन्द छ । लेकवेशी नगरपालिका–५ नेटाकी १७ वर्षीया लक्ष्मी पुलामी मगरको टिपरको ठक्करबाट वीरेन्द्रनगरमा मृत्यु भएको छ ।

वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गर्दा वीरेन्द्रनगर–११ धुलियाबीट नजिक उनी सवार भे ७ प १७९९ नम्बरको मोटरसाइकललाई भे १ ख ३१०२ नम्बरको टिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

मोटरसाइकलमा सवार सोही नगरपालिका–५ नेटाकै १७ वर्षीया सन्दीपा पुलामीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा तीन जना सवार थिए । मोटरसाइकल चालक लेकबेशी नगरपालिका–८ सुर्खेतका २२ वर्षीय मिलन विकसँगै टिपर र चालक बर्दियाको बाँसगढी नगरपालिका–५ का ३१ वर्षीय राजु थापा मगरलाई प्रहरीले पक्रेको छ ।

बिज्ञापन