Sudur Pradesh News

मन्त्री रणबहादुर रावलद्वारा कार्यकालको प्रगति विवरण सार्वजनिक

बिज्ञापन

धनगढी, पुस २५ गते । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले करिब नौ महिनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले जिम्मेवारी सम्हालेको अवधिको कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो । 

बिज्ञापन

झन्डै नौ महिनाको अवधिमा मन्त्रीको हैसियतले आफूले १० मा तीन अङ्क पाउनेगरी काम गरेको मन्त्री रावलले बताउनुभयो । ‘छोटो अवधिमा मैले जेजति काम गरेँ, त्यसको समग्रमा भन्ने हो भने १० मा तीन अङ्क पाउँछु’ उहाँले भन्नुभयो । पदभार ग्रहण गरेलगत्तै निर्वाचन आचारसंहिता लाग्नुका साथै कर्मचारी खटनपटनको कार्य भएपछि धेरै काम गर्न नसकिएको मन्त्रीको स्वीकारोक्ति थियो । 

सुदूरपश्चिम प्रदेश सभामा चार वर्षभन्दा बढी समय प्रतिपक्षको भूमिका निर्वाह गर्नुभएका रावलले स्थानीय तहको मुखमै चैत २५ गते मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो । नौ महिनाको अवधिमा केही राम्रो कामको आधार तयार पार्ने कार्य भएको रावलको भनाइ छ । ‘हामीले केही कामका लागि धेरै सहज बनाइ दिएका छौं’ उहाँले भन्नुभयो, ‘अब आउने नयाँ सरकार र मन्त्रीलाई अझ राम्रो काम गर्न सहज हुनेछ ।’

आफूले जिम्मेवारी सम्हालेपछि धेरै समयदेखि प्रदेश सभामा अड्केको प्रदेश प्रहरी ऐन पनि बनाउने कार्य भएको मन्त्री रावलको भनाइ थियो । सरकारले बनाएको सो ऐन कार्यान्वयन भने हुन सकेको छैन । प्रदेशमा प्रहरी समायोजन नभएसम्म यो ऐन कार्यान्वयन नहुने मन्त्रालयका सचिव कमलराज ढकालले बताउनुभयो । ‘प्रदेशमा प्रहरी समायोजन भइसकेपछि मात्रै यो ऐन कार्यान्वयन हुन्छ’ उहाँले भन्नुभयो । 

नौ महिनामा मन्त्रालयले चार वटा कानून निर्माण, दुई वटा कानूनको मस्यौदा तयार पार्ने, पाँच वटा नियमावली बनाउने र ११ वटा ऐन संशोधन गर्ने काम गरेको छ । यसैगरी नौ महिनाको अवधिमा ४५ वटा विषयवस्तु राजपत्रमा प्रकाशन गरिएको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रालयले शान्ति सुव्यवस्था कायम, विपद् व्यवस्थापन र सञ्चारतर्फको जिम्मेवारी सम्हाल्दै आएको छ । शान्ति सुव्यवस्थातर्फ प्रदेश प्रहरीको भवन निर्माण, मन्त्रालयमा सीसी क्यामेरा जडान, दुई वटा प्रहरी भवन मर्मत र ११ वटा प्रहरी भवन मर्मत कार्यका लागि प्रक्रिया अगाडि बढाउने कार्य भएको जनाइएको छ । यस्तै, अत्तरिया, धनगढी, लम्की, महेन्द्रनगर चौराहामा ट्राफिकलाइट जडान, चिसापानी, गड्डाचौकी र खक्रौलामा सवारी ‘स्क्यानिङ सिस्टम’ जडान र सूचकाङ्कमा आधारित बाढी बीमा लगायतको कार्य भएको मन्त्रालयले जानकारी दिएको छ । 

यसैगरी, विपद व्यवस्थापनतर्फ मनसुन प्रतिकार्य योजना २०७९ तयार पार्ने कार्य भएको जनाएको छ । प्रादेशिक विपद् प्रतिकार्य ढाँचाको मस्यौदा तयार पारिएको र बाढी पूर्व सूचना खरिद तथा जडानका लागि बजेट विनियोजन गरेको जनाएको छ । यस्तै, ड्रोनबाट प्रकोप अनुगमनको व्यवस्था गर्ने कार्य भएको मन्त्रालयले जनाएको छ । सञ्चारतर्फ पत्रकारका लागि १५ लाखको सुरक्षा कोष स्थापना, मिडिया सेन्टर निर्माण लगायतका कार्य भएको मन्त्री रावलले बताउनुभयो ।  

बिज्ञापन