टीकापुर

बल्ल बिरामीले राहत पाए, अब टीकापुर अस्पताल फार्मेसीमा छुट्टाछुट्टै ‘काउन्टर’

बिज्ञापन

टीकापुर, २६ माघ । टीकापुर अस्पतालमा औषधि लिन लामो समय कुर्न बाध्य बिरामीका आफन्तले राहत पाएका छन्। अस्पतालले एक हप्तादेखि तीनवटा ‘काउन्टर’मार्फत सेवा दिन थालेपछि बिरामीका आफन्तले राहत पाएका हुन्। आकस्मिक बिरामीका  लागि औषधि लिने काउन्टर अलग व्यवस्था गरिएको छ भने बीमा तथा सामाजिक सुरक्षाका र नगद खरिद गर्नलाई अलगअलग काउन्टरको व्यवस्था गरिएको छ। 

बिज्ञापन

टीकापुर अस्पतालमा पहिलो पटक क्लिनिकल फार्मेसी अधिकृत आएपछि औषधि वितरणमा नयाँ धारणा विकास गरिएको हो। अस्पतालमा औषधि खरिदका लागि बिरामीले घण्टौँ लाइनमा बस्नुपर्ने भएपछि तीनवटा काउन्टर सञ्चालन गरिएको अस्पतालका क्लिनिकल फार्मेसी अधिकृत जनक शाहीले बताए। “अस्पतालले औषधि व्यवस्थापनका लागि भण्डारण कक्षको व्यवस्थासमेत गरेको छ। यसले औषधि अभाव भएर बिरामीलाई पर्ने समस्या समाधान हुन्छ”, उनले भने, “बिरामीको सहजताका लागि फार्मेसीमा पाइने औषधिको नाम, काम, असर, मात्रा, प्रयोग गर्नुपर्ने  तरिकाबारे जानकारी दिन ब्रोसर तयार गर्छौं।”

टीकापुर अस्पतालमा कार्यरत नौ विशेषज्ञ डाक्टरले सेवा दिन थालेपछि दैनिक पाँच सयदेखि छ सयसम्म बिरामीले सेवा लिन थालेका छन्। सेवाग्राही धेरै भएपछि फार्मेसीमा बढी चाप हुने गरेको थियो। चापका कारण कतिपय निजी औषधि पसलमा जाने गरेका थिए। अस्पतालको औषधि बिक्री कक्ष व्यवस्थित नहुँदा आकस्मिक उपचारका लागि आवश्यक पर्ने औषधिका लागि बिरामीले कष्ट बेहार्नु परेको थियो।  

टीकापुर अस्पतालले सरकारले निःशुल्क वितरण गर्ने औषधिसँगै अन्य औषधि उपलब्ध गराउने गरेको छ। गत वर्ष अस्पतालले रु डेढ करोड बढीको औषधि खरिद गरेको थियो। अस्पतालले खरिद गर्ने आधा औषधि दीर्घरोगीका बिरामीमा खपत हुन्छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारी सेवा विस्तार सहज बनाउने प्रयासमा अस्पताल लागिरहेको बताए। 

बिज्ञापन