राजनीति

ओलीको प्रतिवाद गर्दा पार्टीबाट निकालिएँ: घनश्याम भुसाल

बिज्ञापन

रुपन्देही-३ का स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान च्यात्न खोजेको र त्यसको प्रतिवाद गर्दा आफूलाई पार्टीबाट निकालिएको बताउनुभएको छ । चुनावी घरदैलाे अभियानका क्रममा उहाँले आज यस्ताे बताउनुभएको हो ।

बिज्ञापन

प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमको विरोधमा तत्कालीन समयमा सडक संघर्ष गर्नुभएका भुसालले यहि कारण आफूमाथि प्रतिशोध साँधेर टिकट नदिईएको बताउने गर्नुभएको छ । बौद्धिक नेताको परिचय बनाउनुभएका भुसाल वाम आन्दोलनका पुराना र अनुभवी नेता हुँदाहुँदै पनि अध्यक्ष ओलीले टिकट नदिएपछि एमाले छोडेर स्वतन्त्र उठ्नुभएको हो ।

त्रिभुज चिन्ह लिएर चुनावी मैदानमा उत्रिनुभएका उहाँलाई सत्ता गठबन्धनले समर्थन गरेको छ । संविधान रक्षाकै लागि गठबन्धनको समर्थनमा आफू उम्मेदवार बनेको उहाँ बताउनुहुन्छ । गठबन्धनका उम्मेदवारसँगै भोट माग्न व्यस्त रहनुभएका भुसालले संविधानको पक्षमा उभिएकै कारण ओलीले प्रतिशोध साँधेको जिकिर गर्नुभयो ।

उहाँ अहिले प्रदेशसभा सदस्य पदका उम्मेदवारद्वय अब्दुल रज्जाक र विश्वनाथ यादवलाई साथ लिएर रोहिणी,ओमसतिया गाउँपालिका तथा तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा घरदैलो अभियान गरिरहनु भएको छ । रोहिणीका वडा नम्बर ४, ५ र ६ ओमसतियाको ६, तिलोत्तमाको ८ र १२ तथा देवदह नगरपालिका-१० मा सम्पर्क कार्यालय उद्घाटन उहाँले नै गर्नुभएको हो ।

स्थानीय तहमा शिक्षा, स्वास्थ्य,बाटोघाटो तथा भौतिक निर्माणका कामलाई तीव्रता दिने, सुकुम्बासी समस्याको समाधानका लागि पहल गर्ने भुसालका प्रतिवद्धता छन् ।

यस क्षेत्रमा एमालेले छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ । भुसाल र विश्वकर्मा लामो समय एमालेमा संगै काम गरेका सहकर्मी हुन् । त्यसैले यहाँको प्रतिष्पर्धालाई देशैभरबाट महत्वका साथ हेरिएको छ ।

बिज्ञापन