घटना समाचार

साँझ घर पुगेका थिए प्रेम, बिहान भूकम्पमा ज्यान गुम्यो

बिज्ञापन

मंगलबार साँझमात्रै भारतबाट काम गरी घर फर्किएका डोटीका प्रेम बोहराले बुधबार राति गएको भूकम्पमा ज्यान गुमाएका छन् ।

बिज्ञापन

बुधबार राति डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६।६ म्याग्निच्युडको भूकम्प गएको हो । बुधबार बिहान २ बजेर १२ मिनेटले डोटीको पूर्वीचौकी गाउँपालिकामा २५ बढी घरमा क्षति पुर्याएको छ । त्यसमध्ये एकदर्जन घरहरु ध्वस्त छन् ।

तीनैमध्येको एक घर थियो प्रेम बोहराको । भारतीय रोजगारीबाट अघिल्लो साँझमात्रै घर पुगेका उनको अर्को बिहान भुकम्पमा परि निधन भएको हो । 

‘बेलुकामात्रै पाहाडबाट आउनुभएको थियो । राति त्यस्तो घटना भयो,’ घटनास्थलमा उद्दार कार्यमा खटिएका प्रशान्त खड्काले बताए । 

खड्काअनुसार उनको परिवारका दुई जनाको निधन भएको छ । उनकी छोरी तुलसी बोहराको पनि घरको छत खस्दा ढुंगाले थिचिएर मृत्यु भएको छ ।

‘हामी बिहानै साढे २ बजे उद्दारका लागि पुगेका थियौं,’ खड्काले भने, ‘घरको भग्नाविशेषले च्यापिएर बिहानै मानिसहरुको मृत्यु भईसकेको थियो । हामी आउने बित्तिकै उद्दार कार्यमा खटियौं ।’

खड्काका अनुसार बुधबार बिहानसम्म मानवीय उद्दारको काम सकिएको छ । ६ जनाको मृत्यु हुँदा ५ जना घाइते छन् । 

मृत्यु हुनेमा अर्को एक परिवारका पनि ३ जना परेका छन् । पदम बोहराको घर भत्किदा उनकी श्रीमती भगवतीदेवि बोहरा, छोरा ७ वर्षीय हर्क बोहरा, छोरी १४ वर्षीय सिता बोहराको पनि मृत्यु भएको छ । 

भुकम्पमा परी पाँच जना घाइते भएका छन् । घाइते हुनेमा इनरी देवी बोहरा, धौली बोहरा, विस्नादेवी बोहरा, चनादेवी बोहरा र महाविर बोहरा रहनुभएको छ । 

उहाँहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । उद्धार तथा राहातका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगेका छन््  । 

स्थानीय शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरमा क्षति पुगेको छ । भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रमा समेत ठाउँ ठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिए । 

त्यस अघि पनि राति ९ः७ बजे दिपायलमा केन्द्रविन्दु बनाएर ५।७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि यहाँ पटक पटक झट्का महसुस भएको थियो । भूकम्पको झड्का कैलाली र कञ्चनपुरमा समेत महसुस भएको थियो ।

यता बझाङमा पनि भूकम्पको धक्कापछि यहाँका स्थानीय खुला ठाउँमा जाग्राम बसेका छन् । मध्यराति २ बजे गहिरो निद्रामा रहेका बेला एक्कासी भागाभाग भएको खप्तडछान्ना गाउँपालिका बझाङका स्थानीयले बताए । खप्तडछान्ना– ५ कि लक्ष्मीदेवी जोशीले गाउँभरिका मानिस आगो बालेर बाहिर बसेका बताए ।

बिज्ञापन