November 27, 2022

मालिका समाचार

देशकाे ऐना

दसैंलाई रोमाञ्चित बनाउने सन्थाल जातिको ‘दासाई’ नाच, पूर्वीतराईका युवा परम्परा धान्दै

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

झापा । दसैँको रमझमले यतिखेर जताततै धपक्क छ । मीठो खाने र राम्रो लगाउने पर्वको रूपमा लिइने दसैँमा नेपालमा विभिन्न जातिको आ-आफ्नै विशेषता र विविधता पाइन्छ ।

पूर्वी तराई झापा र मोरङमा बाहूल्य रहेको सन्थाल जातिहरूले दसैँलाई पृथक ढंगले मनाउँछन् । सप्तमीदेखिनै परम्परागत नृत्य दासाई (दसैँ नाच) मा रम्छन् उनीहरू । प्रकृतिपूजक आदिवासीका रूपमा रहेका सन्थाल जातिहरूले आफ्नो रीतिरिवाज कायम राख्न दासाई नृत्य प्रस्तुत गर्छन् । यस किसिमको परम्पराले समाजमा फरकपन अनुभूति हुने एवम् चाडपर्वमा रौनकता थपिने स्थानीय बताउँछन् । दसैँतिहारमा लाग्ने विभिन्न मेला, हाटबजारमा दसाईले रमाइलो पनि बनाएको छ ।

विज्ञापन
विज्ञापन

अल्पसंख्यक जाति मानिने सन्थाल दासाई नृत्य केही समयअघि लोपोन्मुख रहेकोमा पछिल्लो समय झन् परिस्कृत, सुसज्जित एवम् सशक्त देखिन थालेको झापा हल्दिबारी गाउँपालिक- १ का पूर्वअध्यक्ष त्रिलोचन सापकोटा बताउँछन् ।

‘सन्थाल जातिले संस्कृति बचाउनका लागि गरिरहेको प्रयासमा स्थानीय, प्रदेश र संघ सरकार साथै स्वयं समुदायले सहयोग गर्नुपर्छ’, उनले नेपाल प्रेससँग भने, ‘यो समुदायमा कतिपय परिवार आर्थिक विपन्नताबाट गुज्रेको छ । त्यसैले बाजागाजा, नृत्यका लागि चाहिने पहिरन, सजावटका सामान खरिदमा सहयोग गर्न आवश्यक छ ।’

बगैँचामा फूलहरूको विविधताजस्तै विभिन्न अल्पसंख्यक तथा आदिवासी जातजातिको रीरिरिवाजले समाजमा समावेशी र भाइचाराको सुन्दरता थपिएको स्थानीय वुद्धिजीवि नरेश बराल बताउँछन् । यस किसिमका मौलिक परम्परालाई विश्वव्यापी बनाउन सरोकारवाला पक्ष लाग्नुपर्नेमा उनको जोड छ ।

यद्यपि, राज्यले आफूहरूको कला, संस्कृति संरक्षण तथा सम्वर्द्धनमा चासो नदेखाएको सन्थाल समुदायको आरोप छ । आर्थिक कारणले नै आफ्नो संस्कृति लोप हुनसक्ने भन्दै उनीहरू चिन्तित देखिन्छन् । झापाको बाह्रदशी गाउँपालिकाको सन्थाल जातिको नृत्य देखाउने एक क्लबका व्यवस्थापक सुफल टुडु आफूहरूले निकै अभाव र संघर्षका बीच नृत्यलाई जोगाइरहेको सुनाउँछन् ।

बाजागाजा, पहिरन, साजसजावट एवम् नृत्य सिकाउनलगायतमा गरेको खर्चले दासाई प्रदर्शनमा खर्च नउठ्ने र सरकारबाट पनि सहायता नपाएको उनको गुनासो छ ।

‘पहिलैदेखि चलेको रीतिरिवाज भएकाले हामी त देखाउँछौं’, टुडुले भने, अहिलेसम्म यसरी नै नाचिरहेका छौं । लागत उठाउनकै लागि भएपनि दिउँसो सकिएन भने राति पनि नाच्छौं ।’

सरकारी सहयोगबारेको जिज्ञासामा उनी भन्छन्, ‘बाजागाजा नाचमा कहिलेकाँही बजेट त दिइन्छ । तर सानो सामानमा पनि भ्याट बिल खोज्छन् । कागज पुगेन भनेर रोकिदिन्छन् । हाम्रो कुरो कसले सुन्ने ? त्यसैले समूहले एकचोटि किनेपछि जति सामान छ व्यक्तिगत गर्छौं । गाडी खर्चहरू पनि दिनरात नाचेर जुटाउँछौं ।’

उनले नाच हेरेबापत दर्शकले खुसीसाथ दान गरेको सय-पचासबाट खर्च धान्ने बताए ।