Climate

यस्तो रहेछ देशभर गर्मी बढ्नुको कारण, १–२ दिनमै वर्षा हुन्छ : मौसमविद्

बिज्ञापन

काठमाडाैं | मौसमविद्हरूले मनसुन निष्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् ।केही दिनयता मनसुन निष्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताइएको छ ।

मंगलवार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूती पोखरेलले हाल देशका विभिन्न भागहरूमा तापक्रम बढ्दा अत्याधिक गर्मी हुनु स्वाभाविक रहेको बताइन् । मनसुन निष्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको उनको भनाइ छ ।

उनले मनसुन न्यून चापीय रेखा १–२ दिनभित्रै माथि आउने र वर्षा हुन शुरू हुनासाथ गर्मी हटेर जाने बताइन् ।

उनले भनिन्, ‘देशका विभिन्न भागमा तापक्रम बढेको, अत्याधिक गर्मीको जुन अनुभव गरिएको छ, यो मनसुनमा अलिकति ब्रेक हुने बित्तिकै, वर्षा नहुने बित्तिकै अलि गर्मीको अनुभव हुन्छ । यो २ वटा लगभग रिलेटेड जस्तै भन्नुपर्छ । वर्षा हुने बित्तिकै शितल हुने, पानी नपर्ने लामै जस्तो भएको भएर पनि गर्मी बढेकै भयो । तापक्रम बढको महसूस भइराखेको छ । वर्षाको क्रमसँगै बिस्तारै शितल अनुभव गर्न सक्छौं । अहिले ब्रेककै स्थिति छ । बिस्तारै यो १–२ दिनमै मनसुन ट्रफमाथि सिफ्ट हुँदै जाँदाखेरी हाम्रोतिर मनसुन ट्रफ आउँछ । मनसुन न्यून चापीय रेखा यो माथि आउने बित्तिकै हाम्रोमा पनि वर्षा देखिन्छ ।’

बिज्ञापन

उनले केही दिनभित्रमै मनसुन सक्रिय भएर वर्षा हुने बताइन् । हाल मनसुन सामान्य स्थितिमा रहेकाले वर्षा नभएको मौसमविद्हरूले बताइन् । हाल मनसुन सामान्य अवस्थामा दक्षिणतर्फ रहेकाले नेपालमा धेरैजसो वर्षा हुन नसकेको उनले बताइन् । उनले १–२ दिनभित्रै मनसुन ट्रफ बिस्तारै माथि सर्ने सम्भावना रहेको र त्यसपछि देशको धेरैजसो स्थानमा वर्षा हुने बताइन् ।

उनले भनिन्, ‘देशभर मनसुनको अवस्थाको कुरा गर्दाखेरी तत्काललाई मनसुन ट्रफ नर्मल पोजिसनमा छ । दक्षिणतिर नै रहेको थियो । त्यसले गर्दाखेरी अलिकति नेपालमा ब्रेकको जस्तो स्थिति देखिएको थियो । अब यो १–२ दिनमै मनसुन ट्रफ बिस्तारै माथि सर्ने सम्भावना धेरै छ । त्यो सम्भावना सँगसँगै देशभर वर्षाको अहिले जुन रोकिएको क्रम छ, वर्षा फेरि देशभर नै धेरैजसो स्थानहरूमा पर्ने सम्भावना रहन्छ र अहिलेको कुरा गर्दा नेपालमा लगभग ब्रेककै स्थिति हो मनसुनको । मनसुन भन्ने बित्तिकै फेरि सबै दिनमै वर्षा हुन्छ भन्ने हुँदैन । एक्टिभ फेज हुन्छ अनि ब्रेक फेज हुन्छ । यो ब्रेकफेजमा के भयो भन्दाखेरी धेरै वर्षा हुने बेलामा नै वर्षा नभएको फेरि धान रोपिरहेको स्थिति हुँदाखेरी धाँजाहरू धेरै ठाउँमा फाटेको स्थिति पनि आएको छ । विशेषगरी तराईतिर यो देखिएको तस्वीरहरू देख्न पाइएको छ ।’

मौसमविद् पोखरेलले प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको बताइन् । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सरदरभन्दा कम वर्षा भइरहेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘मधेश प्रदेश, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सरदरभन्दा बढी नै वर्षा देखिएको छ । लुम्बिनी प्रदेशको बर्दिया र सँगसँगै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सरदरभन्दा कम नै वर्षा देखिएको छ अहिलेसम्मको स्थितिमा ।’

उनले मनसुनको समयमा बाढी, पहिरोका कारण धनजनको क्षति हुनसक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले दिने गरेको सूचनाहरूलाई ध्यान दिन आग्रह गरिन् ।

बिज्ञापन
बिज्ञापन