Climate

यस वर्ष सरदर भन्दा बढी वर्षा हुने

बिज्ञापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन गरेको छ ।

शुक्रवार काठमाडौंमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन गरिएको जनाएको हो ।

विभागको आँकलन अनुसार आगामी जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको छ ।

प्रदेश १ का तराईका भूभाग, बागमती प्रदेशका उत्तर पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर पश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना देखिएको हो ।

बिज्ञापन

यो सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईँले सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्य भूभाग, गण्डकी प्रदेशका मध्य पश्चिमी भूभाग र प्रदेश १ को मध्य भूभागहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको बताए ।

मौसमविद् हुमागाईँले गत वर्षमा मनसुन अवधिभर ६ वटा स्टेशनहरुमा वर्षाको रेकर्ड तोडिएको बताए। उनका अनुसार चरिकोट, खैरहनीटार, बाजुरा, दमौली, खाटमार्फा र जोमसोम स्टेशनहरुमा पहिलाको रेकर्डलाई ब्रेक गरेर धेरै वर्षा मनसुन अवधिमा भएको हो ।

उक्त मनसुन वर्षाले ७९ जनाको निधन भएको थियो, जसमा बाढीको कारण ४३, चट्याङको कारण २७ जना र भारी वर्षाको कारणले १६ जनाको मानवीय क्षति भएको बताए ।

त्यस्तै जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक डा.अर्चना श्रेष्ठले यो वर्ष पनि सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेकोले बेलैमा सचेत रहन आग्रह गरिन् । उनले मौसम तथा बाढी पूर्वानुमानको सूचना दिने आ–आफ्नो क्षेत्रको कार्ययोजना बनाउन पनि सम्बन्धित निकायसँग आग्रह गरिन् ।

श्रेष्ठले पूर्वानुमान गतिको समय जति नजिक हुन्छ त्यति नै पूर्वानुमानको विश्वसनीयता धेरै हुने गरेको र एक हप्ता भन्दा लामो समयको मौसमको पूर्वानुमानमा विश्वसनीयता कम हुँदै जाने गरेको बताए ।

त्यस्तै वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले नेपालमा मौसम पूर्वानुमान गर्ने छुट्टै अनुसन्धान केन्द्र नहुँदा समस्या भइरहेको गुनासो गरिन् । उनले विभागमा अनुसन्धानका लागि स्किल्ड ह्यूमन रिसोर्सको आवश्यक रहेको बताइन् ।

बिज्ञापन
बिज्ञापन