खेलकुद

अचानक आएको आईसीसी प्रतिनिधि टोलीले पनि गर्‍यो फिक्सिङको आशंका

बिज्ञापन

काठमाडौं । नेपाल टी-२० क्रिकेट लिगमा फिक्सिङको आशंकापछि नेपाल आइपुगेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) को प्रतिनिधि टोली फर्किएको छ ।

एन्टिकरप्सन युनिटको दुई सदस्यीय टोली बिहीबार दुबईबाट काठमाडौं ओर्लिएका थिए । उनीहरूले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग समेत भेट गरेका थिए । सीआईबी प्रमुख उत्तम सुवेदीले भेट गरेको स्वीकार गर्दै बुझ्ने काम गरेको बताए ।

‘उहाँहरूले अनुसन्धान के भइरहेको छ भनेर बुझ्नुभयो । हामीले पनि छानबिन गरिरहेका छौं । प्रतियोगिता सकिएपछि फेरि बस्नुपर्छ भनेर उहाँ जानुभयो’, एआईजी सुवेदीले भने ।

स्रोतका अनुसार आईसीसीबाट आएको टोलीले पनि प्रतियोगितामा फिक्सिङको आशंका गरेको छ ।

बिज्ञापन

नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले आईसीसीबाट आएको टोलीलाई जारी प्रतियोगितामा एन्टीकरप्सन हेरिरहेको वीर सिंह नेतृत्वको टोलीले रिपोर्ट गरेको बताए ।

‘एन्टिकरप्सन टीमले नै आईसीसीको टोलीलाई बोलाएको बुझिएको छ । उहाँहरू विभिन्न पक्षसँग कुराकानी गरेर आज फर्कनुभयो’, नेपाल टी-२० को गभर्निङ काउन्सिलका अध्यक्षसमेत रहेको मल्लले भने ।

वीर सिंह नेतृत्वको एन्टीकरप्सन युनिटले पनि फिक्सिङको आशंका गर्दै केही खेलाडी र व्यक्तिबारे क्यानलाई रिपोर्ट गरिसकेको छ । टीमकै म्यानेजर र खेलाडीको भूमिका फिक्सिङमा आशंका गरिएको छ ।

सीआईबी प्रमुख सुवेदीले घटनाबारे बुझ्ने काम भइरहेको बताए । प्रतियोगिता आयोजना जिम्मा लिएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सका मुख्य व्यक्तिहरू स्वदेश फर्किसकेका छन् । स्पट फिक्सिङको चर्चा चलेपछि सेभेन थ्री स्पोर्ट्सले प्रतियोगिता स्थगित गर्न क्यानसँग माग गरेको थियो ।

तर, क्यानले शंकाकै भरमा प्रतियोगिता स्थगित गर्न नहुने अडान लिएको थियो । क्यानले सेभेनथ्री स्पोर्ट्सलाई एकलौटीरूपमा ८ वर्षका लागि नेपाल टी-२० आयोजनाको जिम्मा दिएको थियो । स्पट फिक्सिङमार्फत बेटिङ गराउन गिरोह नै संलग्न रहेको आशंका सीआईबीले पनि गरेको छ ।

क्यान कार्यवाहक सचिव मल्लले पनि केही खेलाडीको भूमिका शंकास्पद देखिएको बताए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका एक खेलाडीलाई फिक्सिङका लागि अप्रोच भएको सार्वजनिक गरिसकेका छन् ।

सीआईबीले पनि नेपाली खेलाडी नै भारतमा बसेर फिक्सिङका लागि अन्य खेलाडीलाई अप्रोच गरिरहेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

बिज्ञापन
बिज्ञापन