आस्था /आध्यात्म

तिहारलाई सम्झाउँछन् देउसी, भैलो गीतले

बिज्ञापन

कटारी । नेपालीको घरआँगनमै तिहार आइसक्यो । तिहार भन्नेबित्तिकै देउसी भैलोलाई बिर्सिने कुरा नै भएन । त्यसमा पनि नेपाली गीत सङ्गीतलाई देउसी, भैलो गीतले वर्षाैंदखि अजर अमर बनाउँदै आएको छ ।

तर पछिल्ला केही वर्षयता मादल, बाँसुरी, झ्याली बजाएर खेलिने देउसी लोप हुँदै गएको छ । प्रविधिको विकाससँगै डिजेमा देउसी गीत बजाएर देउसी, भैलो खेल्ने चलन बढेको छ । यसरी देउसी, भैलोसँगै बज्ने यी गीतले तिहारमा रौनक थप्ने गरेको छ ।

तिहारै आयो लौ झिलीमिली …

पुरानो चलचित्र स्वर्गमा रहेको यो गीतको पहिलो धुन बजेपछि बल्ल तिहारको रौनक बढ्छ । यो गीतको धुनसँगै हरियो गोबरले लिपेको, लक्ष्मी पुजा गरेको…. सम्म आइपुग्दा माहोल उल्लासमय हुन्छ र हरेक नेपालीले तिहार आएको अनुभूति गर्छन् । यो गीत तिहारका लागि त मुख्य गीत नै हो । त्यसैले यस गीतलाई तिहार, देउसी भैलोमा बज्ने गीतमा सम्झिनै पर्छ ।

बिज्ञापन

लोचन भट्टराई र नूतन प्रधानले गाएको यस गीतमा सङ्गीत यादव खरेलको छ । यसमा चेलीहरुको भैली गीतको सुगन्ध पाइन्छ । यस गीतलाई नेपाली चलचित्रको गीतमा चाडबाड समेटिएको उत्कृष्ट गीतमा पनि लिन सकिन्छ । हरेक देउसी भैलो खेल्ने समूहले यो गीतलाई प्राथमिकतामा बजाउँदै नृत्य गर्ने गरेका छन् ।

सिमल बारुलै …
नवीन खड्का, पुस्तका खड्का र साथीहरुको स्वरमा सजिएको देउसी गीत सिमल बारुलै सम्भवतः एक दशकदेखि नेपालका गाउँ सहर जतातै बढी घन्किने देउसी गीत हो । धेरै देउसी समूहले यसै गीत बजाएर देउसी खेल्ने गरेका छन् ।

करिब १८ मिनेटको यो गीतमा देउसी खेल्न आउनेले घर प्रवेश गरेदेखि बिदा हुनुपूर्वका सबै भाका र शब्दलाई सयपत्रीको माला उनेजस्तै गरी उनिएको छ । एकान्त रातमा देउसी, भैलोको आवाजसँगै कुकुर भुकेपछि घरमा हुने बूढाबूढीको संवादबाट सुरु हुने देउसी रोचक छ । भट्याउने देउसी भन्नेसँगै बीचबीचमा आएका पूर्वेली भाकाले छुनसम्म मन छुन्छ ।

देउसी नृत्यका रुपमा दर्शकमाझ ल्याइएको यो गीतको सङ्कलन लक्ष्मी पराजुलीले गर्नुभएको हो । नेपाली लोक सांस्कृतिक केन्द्रले ल्याएको गो गीत हाम्रो भाका हाम्रो संस्कृत एल्बमको भाग २ मा समावेश छ । यस गीतमा सांस्कृतिक केन्द्रलाई मरुवा माझगाउँ सङ्खुवासभाका स्थानीयवासीले देउसी खेल्न सघाएका छन् ।

यसर्थमा यो पूर्वेली माटोको सुगन्धले भरिएको भाका हो । तर विस्तारै यो भाकाले देशभरका गाउँगाउँ सम्म घन्किने र मन छुने गरेको छ । देउसीको सुरुआतदेखि आशिक दिने र बिदा हुनेसम्मका सवै विषयलाई लय मिलाएर भाका बनाइएकाले पनि यो गीत देउसी खेल्नका लागि पूर्ण गीत हो ।

फूलको थुङ्गा टपक्कै टिपी …
फूलको थुङ्गा टपक्कै टिपी देउराली चढाउँदै
देउसीमा आयौँ भैलेनी आयौँ तिहार मनाउँदै
अरुण उपत्यकाको यो गीतमा पनि नवीन खड्का, पुस्तका खड्का र साथीहरुको स्वर सुन्न सकिन्छ । पूर्वेली लोकसंस्कृति संरक्षणमा अब्बल अरुण उपत्यकाको लोकसुसेली संरक्षणमा लामो समयदेखि कृयाशील खड्काको स्वरमा सजिएको यो गीत पनि नेपाली माटोको सुगन्ध बोकेको देउसी गीत हो ।

यस गीतको अध्ययन सङ्कलन नवीन खड्काले गरेका हुन् । सङ्गीतमा खड्कालाई यस गीतमा शिलाबहादुर मोक्तानले पनि सघाउनुभएको छ । देउसी सुरु, मध्य र आशिक दिंदै देउसी घरबाट बिदा हुने प्रकृयालाई समेटिएको यो गीत पनि देउसीका लागि महत्वपूर्ण गीत हो ।

यपालिको तिहारै रमाइलो …
देउसीसँगै नृत्य गर्ने परम्परा बढ्दो छ । नृन्य बिनाको देउसी समूहको आकर्षण नै घट्न थालेको छ । यसर्थमा सामूहिक रुपमा आयोजना हुने देउसी कार्यक्रममा नृत्य राखिएकै हुन्छ । यस्ता नृत्यमा छुट्दै नछुटेको गीतमा यो गीतलाई पनि लिन सकिन्छ । कोहिनुर चलचित्रको यो गीत चलचित्रसँगै धेरैले मन पराएको गीत हो । प्रमोद खरेल र अन्जु पन्तको स्वरमा रहेको यो गीतमा शम्भूजित बास्कोटाले सङ्गीत भरेका छन् ।

देउसी, भैलो गीत देउसिरे भन साथी हो …
पशुपति शर्माको नयाँ देउसी गीत सार्वजनिक भएको छ । यसले पनि छोटो समयमा दर्शक स्रोताको मन जितिरहेको छ । यो गीतले १० दिनमै करोड ‘भ्युज’ पाइसकेको छ । पशुपति शर्माले मुख्य भूमिका निर्वाह गरेको यो गीतले पनि तिहारमा रमाइलो दिन थालेको छ ।

यी गीतका अलावा तिहार भन्ने बित्तिकै अन्याय चलचित्रको अधरमा आज उनकै छ गीत, आशा भोस्लेको दियो बाली साँझको, विजय पराजय चलचित्रको निधारमा लर्काएर सप्तरङ्गी टीका, राजु लामाको स्वरमा रहेको भाइटिकामा भेट्न आउँला बोलको गीतले पनि देश विदेशमा रहेका नेपालीको मन बिझाँउछ । बेस्सरी तिहार सम्झाउँछ । त्यस्तै टङ्क बुढाथोकीको भन भन भाइ हो, धर्मेन्द्र सेवानको देउसिरे, एक्स व्याण्डको देउसी भैलोलगायतका थुप्रै गीतलाई तिहारमा बज्ने गीतका रुपमा लिन सकिन्छ ।

बिज्ञापन
बिज्ञापन