अर्थ

डिजेल र हवाई इन्धनको मूल्यमा अत्यधिक बृद्धि

बिज्ञापन

अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेपछि इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । आइतबार इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल र हवाई इन्धनको मूल्य अत्यधिक बढेर आएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार पेट्रोलमा रु१.७४ प्रति लिटर, डिजेलमा रु १५.६० प्रति लिटर र हवाई इन्धनमा रु १०.२५ प्रति लिटरले बढेर आएको छ । 


नयाँ मूल्यले डिजेलमा रु ६.३४ प्रति लिटर घाटा  र एलपी ग्यासमा रु ३२५.४४ प्रति सिलिन्डर घाटा हुने भएपनि पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब रु ३९ करोड नाफा हुने प्रक्षेपण गरिएको छ ।

यद्यपि निगमले इण्डियन आयल कर्पोरेशन , नेपाल सरकार र राष्ट्रिय वाणिज्य बैंकलाई करिब रु ३३ अर्ब ६० करोड रकम तिर्न बाँकी रहेको अवस्था छ । निगमले पेट्रोलियम पदार्थ खरिदका लागि नेपाल सरकारसँग रु ७ अर्व र राष्ट्रिय वाणिज्य बैंकसँग रु ३ अर्व ऋण लिई पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण प्रणालीलाई केही महिनादेखि व्यवस्थित गर्दै आईरहेको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्ने क्रममा रहेको तथा अमेरिकी डलरसँग नेपाली मुद्राको विनियम दर कमजोर हुँदै गएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र इण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं आन्तरिक ऋणको व्यवस्थापन गर्न अझैपनि चुनौतिपूर्ण अवस्था रहेको निगमको भनाइ छ । निगमको यस विषम परिस्थिति एवं बाध्यात्मक अवस्थाका कारण  हाललाई पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमको भनाइ छ। 

बिज्ञापन

बिज्ञापन
बिज्ञापन