अनौठो

विश्वमै कम सुत्न पाउने मुलुकमा दक्षिण कोरिया

बिज्ञापन

क्लोए हाद्जीम्याथेउ, सोल । दक्षिण कोरिया विश्वकै सबैभन्दा कम सुत्न पाउने मुलुकहरूमध्ये एक हो । जसको कारण दक्षिण कोरियाको जनसंख्याले ठुलो मूल्य चुकाउनुपरेको छ ।

आफ्नो कार्यालयको सेवा समय गोलमाल हुँदा जी–एउनको निद्रा निकै खलबलिएको छ । जसले गर्दा उनले आराम पाउन सकेकी छैनन् । औसतमा उनी बिहान सात बजेदेखि राति दस बजेसम्म काममा व्यस्त हुन्छिन् । जनसम्पर्क अधिकारी २९ वर्षिया एउन निकै व्यस्त समयमा भने बिहान ३ बजेसम्म पनि काम गर्छिन् ।

घरमै रहँदा पनि उनका बोसले प्रायः मध्यराति पनि फोन गरेर काम अह्राइरहेका हुन्छन् । उनले अब त आफूले आराम कसरी गर्ने हो भन्ने पनि भुलिसकेको बताएकी छन् ।
राजधानी सोलको गान्गनाम जिल्लास्थित ड्रिम स्लिप क्लिनिकका मनोचिकित्सक तथा निद्रामा विद्धता हासिल गरिरहेका डा. जि–ह्येओन लीले आफ्ना बिरामीहरूले राति २० चक्कीसम्म निद्रा लाग्ने औषधि सेवन गर्ने गरेको देखेको बताउँछिन् ।

डा. ली भन्छिन्, “निद्रा लाग्न प्रायशः समय लाग्ने गर्दछ । तर कोरियालीहरू तुरुन्तै झ्याप्पै निदाउन चाहने भएकाले औषधि सेवन गर्दछन् ।“
स्लिपिङ ट्याब्लेटको दुर्व्यसनी राष्ट्रिय महामारी नै भइसकेको छ । यस्ता दुर्व्यसनीको आधिकारिक तथ्याङ्क त छैन तर यो संख्या एक लाखको हाराहारीमा रहेको अनुमान गरिएको छ । औषधि खाएर पनि निद्रा नलाग्दा उनीहरूले रक्सीसमेत पिउने गरेको पाइएको छ । जुन स्वास्थका लागि निकै हानिकारक सावित हुन सक्छ ।

बिज्ञापन

डा. ली भनिछन्, “निद्रा गोलमाल हुनेहरू निद्रैमा पनि हिँड्न सक्छन् । उनीहरू रेफ्रिजेरेटर खोलेर थाहै नपाई काँचो खानासमेत खान्छन् । यसरी निद्रामा हिँड्ने रोगीका कारण सोलकै मध्यभागमा कार दुर्घटनाहरू भएका उदाहरण समेत छन् । कोही कोही त दसकौँदेखि दिनको दुई चार घन्टाबाहेक ननिदाएको समस्या लिएर पनि आउँछन् । उनीहरू आफ्ना समस्यालाई लिएर रोएको देख्दा दुख लाग्छ ।“

दक्षिण कोरिया विकसित मुलुकहरूमाझ सबैभन्दा बढी आत्महत्यादर भएको मुलुक पनि हो । कडा रक्सी पिउने र एन्टिडिप्रेसेन्ट औषधि खाने पनि धेरै छन् । यसको पछाडि जनता दिनरात काम गरेर राष्ट्रलाई समृद्धशाली बनाउन लागिरहनु पनि हो । केही दसक अघि मात्र दक्षिण कोरियाली विश्वका सबैभन्दा गरिब राष्ट्रहरूकै सूचीमा रहेको थियो । अहिले यसले आफूलाई प्राविधिक रूपमा अग्रपङ्तिमा उभ्याउन सफल भएको छ ।

यो मुलुक साउदी अरेबिया र संयुक्त अरव इमिरेट्सजस्तै प्राकृतिक स्रोत र साधनका कारण धनी भएको होइन बरु जनताले दिनरात नभनी काम गरेर संमृद्धशाली भएको हो ।

अहिले दक्षिण कोरियामा निद्रालाई सहज बनाउने उद्योग नै स्थापित भइसकेको छ । सन् २०१९ मै यस उद्योगको अनुमानित लगानी २ अर्ब ५० करोड अमेरिकी डलर रहेको थियो । फलतः सोलका डिपार्टमेन्ट स्टोरहरू निद्रा लागाउने उत्पादनहरूले भरिएका छन् । आरामसँग निद्रा लागाउन तन्ना र तकियादेखि, जडीबुटी र टनिक जस्ता विभिन्न वस्तु त्यहाँ पाइन्छन् ।
बीबीसीबाट ।

बिज्ञापन
बिज्ञापन