राष्ट्रिय समाचार

एयर इण्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्ध

बिज्ञापन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इण्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्ध लगाएको छ ।

बिज्ञापन

एयर इण्डियाको जहाज र नेपाल एयरलाइन्सको जहाज झण्डै ठोक्किन पुगेको घटनालाई लिएर प्राधिरणले एयर इण्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्ध लगाएको हो ।

गत शुक्रबार बिहान नयाँ दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि बिनाअनुमति १९ हजार फिटमाथि उडान भरिरहेको एयर इण्डियाको जहाज अचानक १५ हजार फिटमा झरेको थियो ।

सोही समयमा मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो । लगत्तै नेपाल एयरलाइन्सको जहाजले उचाइ लिएपछि सम्भावित दुर्घटना टरेको थियो ।

उक्त घटनाबारे छानबिन गर्न दुई सदस्यीय समिति गठन गरेर एयर इण्डियाका चालक दललाई तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध लगाइएको प्राधिकरणले जनाएको छ । साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टावरमा कार्यरत तीन एयर ट्राफिक कन्ट्रोलर (एटीसी) पनि कारबाहीमा परेका छन् ।

एउटै उचाइमा दुई जहाजलाई एकै पटक उडान अनुमति दिइएको विषयमा अनुसन्धान गर्न विमानस्थल टावरमा कार्यरत तीन जना एटीसीलाई समेत कारबाही गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । निरौलाका अनुसार छानबिन समितिको अध्ययन प्रतिवेदन नआउँदासम्म तीन जना एटीसीले काम गर्न पाउने छैनन् ।

दुई जहाज एकै ठाउँमा होल्ड गर्दा कम्तीमा हजार मिटर उचाइको दूरी हुनुपर्ने प्रावधान छ । कम दूरीमा दुई जहाज होल्ड भएपछि हवाई क्षेत्रको सेफ्टी र सेक्युरिटीप्रति सचेत हुँदै प्राधिकरणले उडान सुरक्षा उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याइरहेको उनले बताए । उक्त समय दुईवटै जहाजमा गरी ३५० यात्रु सवार थिए ।

बिज्ञापन