खेलकुद

विश्वकीर्तिमानी रकममा साउदी क्लब जाँदै मेस्सी !

बिज्ञापन

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार फुटबर लियोनल मेस्सी विश्वकीर्तिमानी रकममा साउदी अरबको टिममा आवद्ध हुन लागेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साउदी क्लव ‘अल हिलाल’ सँग उनको मौखिक सहमति भइसकेको छ ।

हालै आफ्नो देशलाई विश्वविजेता बनाएका ३५ वर्षीय लिजेन्डले फ्रेन्च क्लव पेरिस सेन्ट-जर्मेन (पीएसजी) छोडेर साउदी क्लब रोज्न लागेका हुन् । उनलाई भित्र्याउन अल हिलालले ५२२ मिलियन पाउन्ड (करिब ६५ करोड ८८ लाख डलर) खर्चिन लागेको एएफपीले जनाएको छ । समाचार अनुसार मेस्सीले सम्झौतामा हस्ताक्षर भने गरिसकेका छैनन् ।

मेस्सीले पाउन लागेको रकम अहिलेसम्म कुनै पनि खेलाडीका लागि सबैभन्दा ठूलो हो । यसअघि पोर्चुगलका सुपरस्टार रोनाल्डोलाई साउदी क्लव अल-नासरले वार्षिक २१ करोड ५० लाख डलरमा किनेको थियो । मेस्सीले पाउन लागेको रकम रोनाल्डोको भन्दा निकै बढी हो । अल नासर र अल हिलाल साउदीका प्रतिस्पर्धी क्लवका रुपमा चिनिन्छन् ।

मेस्सीको साउदी आगमनले फुटबल मैदानमा दुई हस्तिहरुको टकराव प्रतिस्पर्धा फेरि पुनर्जिवित हुने भएको छ । बढ्दो उमेरका बाबजुद दुवै खेलाडी उच्च फर्ममा छन् ।

बिज्ञापन

पीएसजीसँग मेस्सीको सम्झौता यही समरको ३० जुनसम्म छ । मेस्सीको सम्भावित ट्रान्सफरलाई लिएर पीएसजीले कुनै प्रतिक्रिया दिएको छैन ।

समाचारहरुमा आए अनुसार मेस्सीकी पत्नी एन्टोनेला रोकुजो भने क्लव परिवर्तनको पक्षमा थिइनन् ।

मंगलबारमात्र उनले ‘आफ्नो परिवार साउदी जाने कुरा कल्पनै गर्न नसक्ने’ बताएकी थिइन् । श्रीमान् र ३ छोरासहित यूरोपमै बस्ने उनको चाहना थियो ।

तर, करिअरको उत्तरार्द्धमा रहेका मेस्सीले अब रेकर्ड राख्न बाँकी खासै केही बाँकी नभएकाले पैसालाई प्राथमिकता दिएका छन् । एएफपीले स्रोतलाई उद्धृत गर्दै मेस्सीले साउदीमा अर्को सिजनबाट फुटबल खेल्ने उल्लेख गरेको छ ।

बिज्ञापन
बिज्ञापन