अर्थ

बैंकको किस्ता तिर्ने समय २ वर्ष नथपे होटल बन्द गर्छौं : हान

बिज्ञापन

होटल संघ नेपाल (हान)ले बैंकको सावा ब्याजको किस्ता तिर्ने समय २ वर्ष थप नगरे होटलहरू बन्द गर्ने सरकारलाई चेतावनी दिएको छ । होटलहरूको छाता संगठन होटल संघ नेपालले तत्काल बैंकको सावा ब्याज तिर्न नसक्ने घोषणा गरेको हो । 

बिज्ञापन

संघले कोभिडबाट थलिएको होटल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको भन्दै थप दुई वर्षसम्मका लागि बैंकको सावा ब्याज पुनः तालिकीकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संघका उपाध्यक्ष विनायक साहले सरकारले तत्काल थप दुई वर्षसम्मका लागि बैंकको सावा ब्याज पुनः तालिकीकरण गर्नुपर्ने बताए । 

सोमवार उपाध्यक्ष साहले सरकारले कोभिडको समयमा होटलहरूलाई दिएको बैंकको सावाँ, ब्याज तिर्ने समय खारेज गर्दा थप समस्या भएको बताए । उनले सरकारले कोभिडको मारको कारण अतिप्रभावित उद्योगका रूपमा हेरेको अझै पनि अतिप्रभावित नै रहेकाले व्यवसायीहरूको मागलाई सम्बोधन गर्नुपर्ने बताए । 

उपाध्यक्ष साहले विगतको भन्दा होटलहरू सामान्य सुधार भए पनि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको बताए । उनले अहिले पनि होटलहरू दैनिक घाटामा नै सञ्चालनमा रहेका बेलामा पनि बैंकहरूले असोज मसान्तमा तिर्नुपर्ने सावाँब्याज तिर्न दबाब दिइरहेको बताए । 

उपाध्यक्ष साहले पोखरा र भैरहवाका होटल व्यवसायीहरूले असोज मसान्तमा तिर्न सक्दैनौँ भनेर घोषणा गरेको भन्दै देशभरका होटलहरूमा एउटै अवस्था आएकाले सरकारले समय थप नगरे होटलहरू बन्द गर्नुपर्ने चेतावनी दिए । उनले होटलहरूलाई तिर्नुपर्ने सावाँब्याज तिर्दै नतिर्ने व्यवसायीहरूले नभनेको भन्दै बैंकहरूलाई सावाँब्याज तिर्ने तर समय दिनुपर्ने बताए । 

उपाध्यक्ष साहले अहिलेको परिस्थितिमा होटलहरूले लिएको सावाँको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्ने जिम्मेवारी रहेको भए पनि कुनै पनि हालतमा बैंकलाई सावाँब्याज बुझाउन असक्षम रहेको बताए । उनले यो वर्ष ५ लाख पर्यटक पनि ल्याउन नसकेकाले होटल उद्योग ५० प्रतिशत पनि चल्न नसकेको बताए । 

बिज्ञापन