टीकापुर

सुदूरपश्चिम विश्वविद्यालयमा तेस्रो पटक ‘हल्ट प्राइज’ आयोजना हुने

बिज्ञापन

निशान्त काफ्ले
टीकापुर, १३ कार्तिक । विद्यार्थीका लागि नोबेल पुरस्कारका रूपमा चिनिने ‘हल्ट प्राइज’ २०२३ सुरू भएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयमा यो तेस्रो पटक ‘हल्ट प्राइज अन क्याम्पस इभेन्ट’ आयोजना हुने भएको छ ।
यस वर्ष ‘रिडिजाइनिङ फेसन’ शीर्षकमा आधारित रहेर आफ्नो व्यवसायबाट प्रत्यक्ष प्रभाव पार्न सक्ने गरी व्यावसायिक योजना बनाउनुपर्नेछ ।

यस वर्षको कार्यक्रमका लागि क्याम्पस निर्देशक आर्जु श्रेष्ठ रहेकी छन् । यसैगरी उनलाई साथ दिन थप १४ जनाको आयोजक समुह÷टिम गठन भएको छ भने हाल लाई २ जना कलेज रिप्रेजेन्टेटिभ चयन भएको छ ।

‘हल्ट प्राइज’ के हो ?
‘हल्ट प्राइज’ विवेकशील, मेहनती र ऊर्जावान् युवाका लागि एक अवसर हो, जहाँ समाजमा सकारात्मक परिवर्तन ल्याउने व्यावसायिक योजना निर्माण गर्नुपर्छ । हल्ट बिजनेश स्कूल, हल्ट प्राइज संस्था र संयुक्त राष्ट्र संघसँग आबद्ध भएर खोलिएको हो हल्ट प्राइज ।
हल्ट प्राइजले विश्वव्यापी १० लाखभन्दा बढी विद्यार्थीलाई दीगो र लाभदायक व्यावसायिक विचार स्थापना गर्न उचित अवसर दिएको छ १ पुस्ताको नेतृत्व परिवर्तनका लागि । हल्ट पुरस्कार खुला अवसर हो, यसले विद्यार्थीलाई नेटवर्क र उद्यमशीलता अगाडि बढाउने विचार दिन्छ । यसमा समाजमा ठूलो मात्रामा प्रभाव पार्ने सोच र विचारलाई विशेष ध्यान दिइन्छ ।
हालसम्म शिक्षा, बिजुली, खाना,पानी, रोजगार जस्ता विषयमा प्रतिस्पर्धा भइसकेको छ । यसमा हरेक वर्ष विश्वभरबाट १२१ देशका २ हजार ५०० भन्दा बढी विश्वविद्यालयबाट ३ लाखभन्दा धेरै विद्यार्थीले सहभागिता जनाउँदै आएका छन् ।

कस्तो विषय छनोट हुन्छ ?
हरेक वर्ष अमेरिकाका ४२औं राष्ट्रपति बिल क्लिन्टनले चुनौती सार्वजनिक गर्ने गरेका छन् र उनले हरेक वर्ष यस्तै समाजलाई सकारात्मक परिवर्तन ल्याउने खालका विषय रोज्ने गरेका छन् । हरेक वर्ष चुनौतीहरू संयुक्त राष्ट्र संघका दीगो विकासका लक्ष्यहरू रहेर घोषणा गरिन्छ । प्रतिस्पर्धीहरू यिनै चुनौतीमा रहेर आफ्नो व्यावसायिक योजना प्रस्तुत गर्नुपर्नेछ ।
यस वर्ष ‘हल्ट प्राइज’ले “रिडिजाइनिड़् फेसन“ दिगो बिकासको लागी भन्ने चुनौती दिएको छ ।

बिज्ञापन

कुन विद्यार्थी समूह यसमा भाग लिन सक्छन् ?
कार्यक्रममा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत पर्ने केन्द्रीय र सम्बन्धन प्राप्त क्याम्पसका स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले भाग लिन पाउने छन् । यसमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीले ३–४ विद्यार्थीको समूहसँग भाग लिन सक्दछ ।

‘हल्ट प्राइज’ का चरणहरू के–के छन् ?
सबैभन्दा पहिला हुने चरण ‘अन क्याम्पस प्रोग्राम’ हो, जुन सम्बन्धित विश्वविद्यालय अथवा क्याम्पसमा हुन्छ । ‘अन क्याम्पस प्रोग्राम’ को विजेताले ‘रिजनल’का लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धीका लागि विभिन्न ट्रेनिङ, वर्कशप र सेमिनारहरू आयोजना गरिने निर्देशक आर्जु श्रेष्ठले जानकारी दिइन् ।
‘अन क्याम्पस प्रोग्राम’का विजेताले ‘रिजनल’का लागि सिधै प्रतिस्पर्धा गर्न पाउनेछन् । रिजनलका विजेता ‘एसिलेरेटर’मा प्रतिस्पर्धा गर्ने मौका पाउने छन् । ‘एसिलेरेटर’का विजेताले ‘ग्लोबल फाइनान्स’मा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
‘हल्ट प्राइज’को फाइनलमा पुगेको समूहले यूएन हेडक्वार्टरमा गएर आफ्नो ‘बिजनेश आईडिया’ प्रस्तुत गर्ने मौकाका साथ साथै फाइनल जितेमा आफ्नो उद्यम सञ्चालन गर्न १ मिलियन अमेरिकी डलर प्राप्त गर्ने मौका पाउने छन् ।

कार्यक्रमसगँ सम्बन्धित थप जानकारी लिन विश्वविद्यालयका क्याम्पस निर्देशक आर्जु श्रेष्ठसगँ सम्पर्क गर्न सकिनेछ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई विश्वको सबैभन्दा ठूलो प्रतिस्पर्धाका लागि आफ्नो टीम (३–४ जना) र बिजनेश आईडियाको तयारीमा लाग्न हुन श्रेष्ठको आग्रह छ ।

बिज्ञापन
बिज्ञापन