राजनीति

कांग्रेससँग भिजन छैन, भाडाको बुद्धिजीविले घोषणापत्र लेख्दैछन् – ओली

बिज्ञापन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेससँग कुनै भिजन नभएको टिप्पणी गरेका छन् ।

झापा १ मा आयोजित राप्रपासँगको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले २३/२४ वर्ष सरकारको नेतृत्व गर्दासमेत कांग्रेसले कुनै काम गर्न नसकेको आरोप लगाए ।

उनले भने, ‘देश विकास गर्ने एमाले एकातिर र अर्कोतिर देश बिगार्न साठगाँठ गर्ने गठबन्धनसँग मंसिर ४ गते हुने निर्वाचनका महासंग्राममा छौँ । हामी जनता र देशका लागि के छौँ र भोलि के गर्नेछौँ भनेर बताइरहेका छौँ । गठबन्धनको भ्रमबाट मुक्त गराइरहेका छौँ ।’

कांग्रेसले चुनावी घोषणापत्रमा लेख्ने कुनै एजेण्डा नपाएको समेत बताए ।

बिज्ञापन

उनले भने, ‘कांग्रेसले काम केही गरेको छैन । उहाँहरूले सधैँ झैं घोषणापत्र त ल्याउनुहोला । भाडाको बुद्धिजीविले लेखिदिएको घोषणापत्र यहाँहरूले जनताको बीचमा छर्नुहुनेछ । त्यो कुनै कांग्रेसको हुनेछैन । पटक-पटक सरकारको नेतृत्व गर्दा कुन एउटा राम्रो काम गर्‍यो देखाउनुस् । २३/२४ वर्ष सरकारको नेतृत्व गरेको छ । होइन भने हामीसँग सोधे हुन्छ । हामी सयौँ कुरा भन्नेछौँ ।’

जनतालाई गठबन्धनको दबाबबाट मुक्त गराउन लाग्न नेता-कार्यकर्तालाई ओलीले निर्देशनसमेत दिए । उनले राप्रपा आफैँ चलेको पार्टी भएकाले चुनावी तालमेल गरेको बताए ।

उनले भने, ‘राप्रपालाई त कसैले चलाएको त छैन नि । गठबन्धनवालाहरू त क-कसले चलाउँछ भन्ने थाहा छैन । यिनीहरू त कुसुलेले नचाउने कठपुतलीजस्ता हुन् । त्यसैले कठपुतलीको शासन हुनुभन्दा राप्रपाले देशको माया त गर्छ ।’

बिज्ञापन
बिज्ञापन