आस्था /आध्यात्म

मौलिकता गुमाउँदै देउसी र भैलो

बिज्ञापन

 तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो। परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको छ।

अहिले तिहार सुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन्। तर आधुनिक शैली अंगाल्दा मौलिकता भने गुमाउँदै गएको छ।

देउसी र भैलोमा बज्नुपर्ने मादल, खैजडी र बाँसुरीको साटो अचेल रेकर्डेड पप, आधुनिक र्‍याप गीत बज्न थालेका छन्। साथै, सोरठी र मारुनी जस्ता नृत्यको स्थान आधुनिक शैलीको नाचले लिएको छ।

यमपञ्चक सुरु भएपछि बागलुङ बजारका चोकचोकमा देउसी, भैलो खेल्नेको भिड छ। तर उनीहरुले गाउने गीत र नाचमा कुनै मौलिकता देखिन्न। बागलुङ बजारका ७८ वर्षे देवबहादुर श्रेष्ठ परम्परागत देउसी र भैलोलाई आधुनिकताले प्रभावित पारेकोमा चिन्ता व्यक्त गरे।

बिज्ञापन

पश्चिमा संस्कृतिले नेपालको मौलिकता मेटाउन लागेको भन्दै उनले भने, ‘अहिलेको गीतमा मौलिकता कत्ति पनि छैन, मादल, बाँसुरी र खैजडी बजाएर गरिने मारुनी र सोरठीको नाच अब कहाँ हेर्न पाउनु ?’ आधुनिक प्रविधिको विकास र देखासिकीका कारण मौलिकता हराएको उनको बुझाइ छ।

‘प्रविधिको विकाससँगै आफूलाई परिमार्जित गर्नु राम्रो हो, तर आफ्नो मौलिकतालाई भुल्नु भनेको पहिचानलाई सङ्कटमा पार्नु हो, नयाँ पनि सिकौँ, अनुशरण गरौँ र पुरानोलाई पनि संरक्षण गरौँ भन्ने भवना युवापुस्तामा भएन भने भोलि विदेशी र हामीमा केही भिन्नता हुने छैन’, श्रेष्ठले भने,’नेपालीको पहिचान विश्वभर छ, त्यसैले विदेशी जस्तो नभई हाम्रो मौलिकतामा पनि रमाउन सक्नुपर्छ।’

बिज्ञापन
बिज्ञापन